सुदिप अधकारी, बर्दिया । ठाकुरबाबा–४ बर्गदा गाउँका कृष्णप्रसाद थारु माघीको दिन एकाविहानै परिवारसँग बस्ती नजिकैको खोलामा नुहाउन गए । नुहाइवरी घर आएर बाबुआमालाई ढोग गरे । बाबुआमाले खरानीको टिका लगाइ दिएर उनलाई आर्शिवाद दिए । कृष्णप्रसादका छोराले पनि आफना बाबुआमालाई ढोग गरे । परिवारमा ढोगभेटको काम सकिएपछि सबै मिलेर माघीका लागि बनाइएको परिकारहरु खए ।
थारु समुदायमा माघीका दिन विहानै सामुहिकरुपमा खोला नदी तथा तालमा गइ नुहाउने र घर फर्केर आफना मान्यजन तथा आफन्त कहाँ गइ ढोकभेट गरी आर्शिवाद लिने प्रचलन छ । ससाना बालबालिकादेखि लिएर बुढापाकासमेत एकअर्काको घर गइ ढोकभेट गर्ने गर्छन् । ढोकभेटको क्रम विहान भर नै चल्ने गर्छ । यसरी माघीका दिन ढोकभेट गर्दा पारिवारिक मेलमिलाप बढने गरेको बर्गदा गाउँका कृष्णप्रसाद थारुले बताए । अरुबेला आफन्त तथा परिवारमा मेलमिलाप नभएपनि माघीको दिनमा भने सबै कुरा बिर्सेर एकअर्काको घरमा गई ढोकभेट गर्ने र मिठा परिकार खाने गरिन्छ ।
गुलरिया नगरपालिकाका मानबहादुर थारु माघी पर्वलाई पारिवारिक मेलमिलाप, उत्सव तथा थारु समुदायको नयाँ बर्षको पर्व भएको बताउँछन् । उनी भन्छन्, ‘यो हाम्रो उत्सव हो । नयाँ वर्ष पनि हो । नयाँ वर्ष भएकाले माघीमै वर्ष भरीको योजना बनाइन्छ । ’ वर्ष भरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् । दसैँ तिहारमा घर नआएका व्यक्तिहरु पनि माघीमा घर आउने गर्छन् । माघीका दिन परिवारका सबै सदस्य एकै ठाउँमा जुट्दा मेलमिलाप बढ्ने गरेको स्थानीय मोहनलाल थारुले सुनाए ।
माघी लागेदेखि नै पश्चिम तराईको थारु समुदायमा रौनक छाएको छ । माघी थारु समुदायको सबै भन्दा महत्वपूर्ण पर्व हो । माघी पर्वका कारण अहिले पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग,कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ ।
माघी पर्वलाई थारु समुदायले मेलमिलापको पर्वका साथै नयाँ वर्षका रुपमासमेत मान्ने गर्छन् । माघ १ गतेदेखि थारु सम्वत् २६४७ सुरु भएको थारु अगुवाहरु बताउँछन् । यो पर्वलाई थारु समुदायले बरका तेउहार (ठूलो पर्व)का रुपमा मनाउँछन् ।
माघीको अवसरमा थारुबस्तीमा युवायुवतीहरु माघीमा मघौटा, सखिया र हुरदंगा नाच नाच्ने गरिन्छ । माघीकै दिन थारु युवाहरु ठूलाठूला ढुंगालाई गोलीका रुपमा प्रयोग गरी गोली खेल खेल्ने गर्छन् ।
माघीकै अवसर पारेर गाउँघरमा थारु संस्कृतीको जर्गेना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् । पछिल्लो समय थारु संस्कृतीमा केही कमी आएको हुँदा यसलाई जर्गोना गर्न माघीमा विभिन्न थारु सास्कृतिक कार्यक्रमहरुमा बढी जोड दिइएको ठाकुरबाबाका स्थानिय काशीराम थारुले बताए ।
माघे सक्रान्तीको अघिल्लो दिन थारु समुदायमा जीता ( सामुहिकरुपमा सुँगुर, बंगुर मारेर खाने) मारेर माघी भित्राएका छन् । थारु समुदायका मानिसहरु माघे संक्रान्तीको अघिल्लो दिन गाउँको चोकचोकमा आगोको धुनी बालेर रातभर जाग्राम बस्ने र डफ( एकप्रकारको बाजा) बजाएर कृतन गर्ने गर्छन् । माघे संक्रान्तीका दिन विहानै नजीकैको खोला नदीमा गइ नुहाउँदा वर्ष भरिको पाप पखालिने जन विश्वास छ ।
थारुहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरु सबै आआफनो काममा लाग्छन् । घर छुट्टीने, खोतबाली लगाउने निर्णय पछि माघीमै गरिन्छ । यो पर्वमा थारुजातीले विशेष परिकारको रुपमा ढिकरी(चामलको पिठोबाट बनाइने परिकार),माछा, घोघी, सँुगर वा वंगुरको मासु र जाँड खाने र खुवाउने चलन छ ।
यसैगरी माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर–मैटहवा(गाउँको अगुवा),चौकिदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा थारु समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतीलो उदाहारण भएको बर्गदा गाउँका बडघर भागीराम थारु बताउँछन् । माघीमा चयन गरिने अगुवाले वर्ष दिन भरी गाउँको विकास निमार्ण, सुरक्षा, सुचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।
माघीकै दिन ठाकुरबाबा नगरपालिका–९ स्थित ठाकुरबाबा मन्दिरमा विशेष पूजाआजा हुने गर्छ । ठाकुरबाबा मन्दिरको दर्शनका लागि बाँके, बर्दिया, सर्खेत, कैलाली र सिमावर्ती भारतीय गाउँबाट पनि दर्शनार्थीहरु आउने गर्छन । माघीको दिन ठाकुरबाबाको दर्शन गरेका मनोकामना पुरा हुने धार्मिक जनविश्वास रहि आएको छ । विशेष गरि निसन्तान दम्पतीले ठाकुरबाबाको दर्शन गरेमा सन्तान लाभ हुने विश्वास गरिन्छ ।
ठाकुरद्वारामा माघी मेला
माघी पर्वको अवसरमा जिल्लाको पर्यटकिय स्थल ठाकुरद्धारामा सोमबारदेखि माघी मेला सुरु भएको छ । ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर परीसरमा माघी मेला लागेको हो । पुस २९ गतेबाट सुरु भएको मेला माघ ४ गतेसम्म लाग्ने छ । परम्परागत माघि मेलाका लागि ठाकुरबाबा मन्दिरलगाएत आसपासका क्षेत्रलाई झकिझकाउ पारिएको छ ।
मेलामा विभिन्न प्रकारका व्यापारिक स्टलहरु राखिएका छन् । माघी मेलामा बर्दियासहित दाङ, बांके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी देश भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ श्रदालु भक्तजनहरु आउने गर्छन ।