– रामकुमार एलन
धरानको किस्सा सुनौँः
हरेक दिन मदिरा धोकेर घर आउने बाबुको काम हुँदोरहेछ साँझ छोरा पिट्ने । एक साँझ बाबुको पिटाइ खाएपछि उसले रुँदै भनेछ, ‘पख्नुस् न म भोलि ब्लास्ट पत्रिकालाई भनिदिन्छु सधैँ पिट्नुहुन्छ भनेर ।’
– चितवनमा पत्रकारिता आरम्भकालमा कसैले परिचय गराउँदा हामीलाई ‘गोरखापत्रकार’ भन्थे । त्यतिखेर पत्रिका भनेको गोरखापत्र हो भन्ने थियो । पारदर्शी साप्ताहिकबाट चितवनमा रिपोर्टिङ गर्न जाँदा हामीलाई भन्थे, ‘यसैगरी पारदर्शीका गोरखापत्रकार …लाई पनि आसनग्रहण गरिदिन आग्रह गर्दछौँ ।’
– धेरैपछि गाउँ गएको थिएँ । यो घटना २०५९ तिरको हो । सधैँ ‘कहिले आइस्’ भनेर सोध्ने, बोल्ने साथी त बोल्दैन । पछि घर गएपछि थाहा भयो, साथीको बाबु मरेको खबर कान्तिपुरमा छापिएको रहेछ । उनीहरुलाई लागेछ, ‘समाचार मैले नै दिएको हुँ, हाम्रो बाउ मरेको समाचार किन दिनु परेको त्यसलाई बाठो भएर ?’
गाउँ छँदा पत्रकारिताका रहरले यो हण्डर र दुःख सहेको दशकौँ भयो भन्दा अहिलेका मास्टर्स पढेर झ्याप्पै चारके, आठके टिभीमा समाचार पढ्ने र भन्ने भाइबहिनीलाई ‘सेन्टी मजाक’ लाग्न सक्छ । अझ एउटा क्यामेरा भिरेर गाउँ डुलिहिँड्ने र उस्तै परे भारतसम्म पुगेर अर्काको ‘स्वास्नी’ र ‘लोग्ने’ पनि खोजेर ल्याउने डिजिटल भ्लगर र युट्युबरलाई त झन छोइसाध्ये छैन । एकदिन मेरै कान्छा मामाले फोन गरेर भन्नु भयो, ‘रामकुमार, दिदीले भिनाजुको खोजखबर गर्न पर्यो भन्नु भएको छ, एउटा युट्युबर खोजेर भेट्टाइदेऊ न दिदीलाई ।’ खासमा पत्रकारिता हरेक दिन सत्रु कमाउने सबैभन्दा सजिलो उद्योग हो । अहिले मिल्ने भए वडादेखि सिंहदरबारसम्मका जनप्रतिनिधि र कर्मचारीले ढोकामा लेख्थे, ‘तपाईं पत्रकार हुनुहुन्छ भने आज प्रवेश निषेध छ, अर्को कुनै दिन समय लिएर मात्र आउनु होला ।’
हो, पत्रकार सबैभन्दा बढी प्रहारमा पर्ने जीवहरुमा पर्छ अचेल । धन्न न्यून पारिश्रमिक आसा गरेर यो देशमा पत्रकार बाँचिरहेका छन् । तिनलाई युट्युबरले ‘भेलुबाजे, पुन्ने गौतम’ बेचेर करोडौँ कमाउँछन् भन्ने लोभ पनि छैन । रवि लामिछानेले जस्तो टिभी खोलेर, पार्टी खोलेर हिँड्ने हतारो पनि छैन । जसोतसो समाचार लेखिरहँदा छिनमै भाइरल हुने रहर पनि छैन । अझ पछिल्लो समय केही भ्लगरहरु आएका छन् । उनीहरुले समाजलाई दिन खोजेको विषयले कति सुधार गरेको होला, आगामी शृंखलामा छलफल गरौँला । तर यिनै भ्लगर, युट्युबरबाट पनि पत्रकार लखेटिए । फेसबुकमा कसले कसलाई के लेखिदिन्छ, रिस चैँ समाज पत्रकारलाई नै गर्न थाल्छ फेरि ।
यिनै भलिभाँतीका विषयमा अचेल पत्रकारिताले बहस गर्न छाडेको छ । किनभने पत्रकारले नै हो, कार्यालयमा भएको कुरा भन्ने एउटा ‘प्रवक्ता’ राख्न बाध्य पारेको भन्ने छ समाजलाई । जबकि यो कानुनले दिएको सूचनाको हकसम्बन्धी ऐनले व्यवस्था गरेको हो । सबैतिर प्रवक्ता राख्न कर्मचारी नै छैन भनेर हाकिमहरु ‘दूध दिने बेला गाईले लात्ताले हानेको मुख’जस्तो पारेर हाकिमहरु तर्कन्थे, जबकि त्यसरी प्रवक्ता राख्दा तिनको बाउको जिउनी बेचेर तलब दिनु पर्थेन, नेपाल सरकारले नै दिने हो । तर गाडी नभएको कार्यालयमा चालक दरबन्दी राख्ने र सहयोगीको दरबन्दीको भातभत्ता पनि आफैँ बुझ्ने हाकिमलाई सूचना दिनु पर्दा थोरै भए पनि लाज लाग्ने भय थियो । बदमासी बाहिर आउने पिरलो थियो ।
चुनावका बेला दलका नेतालाई हामीले केही बिगरा गरेका थिएनौँ । तिनले कहिले विवाह गरे ? हाम्रो चासोको विषय पनि होइन, तर उनकै पार्टीका नेताहरु आएर यसले ‘बहुविवाह’ गरेको छ भनेर सुनाउँथे । एक दशकअघि नै बहुविवाह गरे पनि चुनावका बेला टिकट खोस्न सबैभन्दा सजिलो अस्त्र कम्युनिष्टलाई बहुविवाह अर्थात् ‘सांस्कृतिक’ काण्डको समाचार लेखिदिएपछि पुग्थ्यो । उनीहरुको टिकट खोसिन्थ्यो । टिकट खोसिनुमा पार्टीकै नेताहरुको जालझेल भनेर उनीहरु बुझ्थेनन् । पत्रकारले समाचार लेखेर दुःख पाइयो, बदनाम भइयो, टिकट पाइएन भन्थे । फेरि उनी पनि के कम ? फेरि टिकट पाउनेका अनेक किस्सा पत्रकारलाई सुनाइदिन्थे । अनि फेरि समाचार आउँथ्यो । यसले उम्मेदवारले टिकट पाए पनि जित्ने अवस्था बन्थेन, यो पक्का हो । तर चुनाव हारेपछि त्यो स्वाँठ महोदय पनि पार्टीकै नेताहरुको घातले चुनाव हारेको बुझ्थेन । फेरि पत्रकारले नै समाचार लेखेर इज्जत लिलामीमा हालिदिएकाले चुनाव हारेँ भन्दै पत्रकारलाई नै सराप्थ्यो । यसरी जताबाट पनि सत्रु कमाउन पत्रकारलाई कुनै आइतबार कुर्न पर्थेन । गाउँमा धारा, कुलो, पानी, बाटो, स्कुल, वनका चुनावमा पनि गोलीसम्म हानेर पद हडप्ने सुकुलगुन्डेदेखि सुपरमुन्द्रेसम्मलाई पत्रकारको डर हुन थाल्यो । त्यसैले पत्रकारलाई सकेसम्म लखेट्न सुरु भयो । अरु त अरु पार्टीमै पनि पत्रकारलाई बाहिर राखेर नेताहरु बैठक गर्न थाले । अरुले देख्दा फलाना पत्रकार त फलाना पार्टीको नेता हो भनेर रिस गर्छ, आफ्नै भोट हाल्ने पार्टी कार्यालयमा गयो, नेता आफ्नै घरजस्तै गरी पिँढीबाटै च्याठिन्छ, ‘ए, पत्रकारजी, एकछिन बाहिरै बस्नू है, एउटा गोप्य बैठक छ ।’ यिनका गोप्य बैठक फेरि क्यान्सर लागेर मरेको, गोठालो जाँदा भिरबाट लडेर मरेकालाई सहिद घोषणाको सिफारिस र घर छाउँदा छानाबाट लडेर ढाड खुस्केकालाई जिउँदो सहिद अर्थात् ‘जनयुद्धका घाइते’ करार गर्नुमा सीमित हुन्थ्यो ।
पत्रकारलाई कसरी कमजोर पार्ने भनेर अनेक अभ्यास भइरहेका छन् । अत्यन्तै ऊर्जावान क्रान्तिकारी वर्तमान सरकारले छापा माध्यमलाई लोककल्याणकारी रकम नदिए पनि हुन्छ भन्ने पारेर ऐन संशोधनको तयारी गरेको छ । त्यसमा हामीले खबरदारी गरेका छौँ । वर्षौँ पत्रकारिता गरेकाहरुको जीवन गुजारा कठिन भइरहँदा एउटा अखबार लिखिरलिखिर निकालिरहँदा पनि पत्रकारलाई अरु सडाउन कसरी सकिन्छ भनेर सत्ता गठबन्धन, क्रान्तिकारी सरकारले समेत पत्रिकाले पाउने महिनाको १०–१५ हजार रुपैयाँ पनि रोक्न खोजेपछि गुनासो गर्न कहाँ जाने ? यही पत्रिकाका समाचारले नेता बनेका हुन् । उनीहरुका राम्रा कुरा छापेर ठूला नेता बने, टिकट पाए, सत्तामा पुगे । सत्तामा पुगेपछि उनीहरु कृष्ण भए अनि पत्रिकालाई कनिका पनि मागेर खानुपर्ने सुदामा बनाउनु पर्ने अवस्थामा पुगे । लाखौँ खर्च गरेर वडाध्यक्ष भएकाले करोडौँका डोजर किनेका छन् । तर तिनै वडाध्यक्षलाई जिताउन लाग्नेहरुले महिनाको १५–२० हजार रुपैयाँ, त्यो पनि पत्रिका निकालेर पाउने सुविधा काट्न सरकार नै लागेको छ । स्थानीय सरकारको उस्तै पारा छ । मिडियाका नाममा पालिकाबाट लाखौँ रुपैयाँ जिल्ला बाहिरका पत्रकारले डकुमेन्ट्रीका नाममा लगेका छन् । जिल्लाका पत्रकारलाई ३ हजार रुपैयाँ दिन परे आफ्नै बाउको अंश काटे झैँ यिनका मन किन कटक्क खान्छ ? आखिर अखबारले लेखेकै समाचारले कर्मचारी उत्कृष्ट राष्ट्रसेवकको पुरस्कार पाइरहेका छन् ।
यति कुरा गर्दागर्दै हाम्रा पनि कम छैनन् कमजोरीहरु । हामी एउटा पत्रिकाको समाचार पढिरहेका छौँ, समाचार पढ्दै गयो अर्कै मिडियाको नाम आउन सक्छ । जस्तो तपाईं पाविल साप्ताहिक पढिरहनु भएको छ, त्यहाँमा समाचार पढ्दै जाँदा ‘धादिङवेशी न्युज’लाई बताए भनेर छापिएको हुनसक्छ । पत्रकारिता हतारको साहित्य भनेर पढियो । तर यति हतार हुन्छ कि पत्रकारलाई । टिभीमा जागिर खाँदाखाँदै टिभी खोल्न मन लाग्छ । टिभीमा नेताहरु खराब भनेर कराउँदाकराउँदै नेता बन्न मन लाग्छ । जनता फेरि ‘हो क्यारे–हो क्यारे’ जसरी बोलिदिएपछि यसपटक ‘एक हात’ यसलाई ‘हेरौँ–क्यारे’ भनेर भोट हाल्न दौडिन्छन् । तिनको नागरिकता सक्कली छ कि छैन, बूढी एउटा मात्र हो कि होइन, सोध्न त के सोच्न पनि भ्याउँदैन । छिनमै देवता बनाउने र छिनमै राक्षस बनाउनेमा फेसबुक हेर्ने, टिकटक चलाउने नेपालीलाई कसले सक्ने ? समाचार सत्य हो कि होइन, बुझेर लेख भनेर हतार नगर भनेको । यहाँ त कसको स्वास्नी पोइला गइन्देखि, कुन हाकिम फिल्ड जाने भनेर भान्जीको विवाहमा सेतो प्लेटको स्कुटरमा गयो भन्नेसम्म खबर आइहाल्छ । फेरि पत्रकार स्वस्थानीका महादेव पनि होइनन्, यसो एउटा लट्टा तानेर सोच्दा सबै थाहा पाउने । तपाईंको अफिसको सेतो प्लेटको स्कुटरबारे कहाँ थाहा पाउँछन् पत्रकार ? बूढीको जन्मदिन त बिर्सने जातक हुन् । तपाईंकै अफिसको रिस गर्ने कर्मचारीले दिएको सूचना लेख्ने हो पत्रकारले । फेरि कर्मचारी मित्रलाई अफिसमा आफूलाई रिस गर्ने कर्मचारी पत्ता लगाउनु भन्दा पत्रकारलाई १२ हात लामो गाली फेसबुकमा लेखेर चित्त बुझाउँछन्, त्यो पनि राति भट्टीमा बसेर ।
समाज सुध्रिनु पर्ने हो, अचेल मृत छ । गाउँमा को आयो, को गयो, समाज हिसाब राख्न छाडेको छ । गाउँमा केही खराबी भए समाचार आउथ्यो, अचेल गुण्डाराज छ । क्यामेरा लिएर खोलामा गिटी ठगको समाचार खोज्न गएकाहरु त्यहीँ पुरिन सक्छ । किनभने डोजरको बकेटले हानेर वडाध्यक्ष मारिएका छन् । वडाध्यक्षले कर्मचारी ठटाएका छन् । मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, अध्यक्ष–कार्यकारी जुधेका छन् । अरु बदमास छ हाम्रो समाज । तर यो गलत र सही भन्न सक्दैन, एउटा पक्षको पछि लागेको छ । यसको अर्थ हो समाज लगभग मृत छ । समाज सत्यको पछि होइन, भिडका पछि छ । अनि मिडिया ‘स्वास्नी खोजिदिने’हरुले कब्जा गर्नै लागेका छन् । हामी पत्रकार भन्नेहरु पनि गाउँदेखि काठमाडौँसम्म सुध्रिन पर्छ । टेलिभिजन हेरुँ न त भनेर यसो टिभी च्यानल लगाइयो, समाचार आउँछ, ‘आज एमालेको स्थायी कमिटी बैठक ।’ भिज्युलमा देखाउँछ सुवासचन्द्र नेम्बाङ । हे राम, समाज त मृत हुनै लाग्यो, पत्रकारिता चैँ कुन चोटले यसरी मूच्र्छित भयो ?
आज लेख पढेर मजा आएन, ठिकै छ, महिनामा यस्तै एउटा टर्रो लेखसहित आउने भएको छु ।