प्रकाश पौडेल, गुलरिया । संघीय सांसद शान्ति चौधरीले दश वर्षे युद्धका क्रममा बेपत्ता पारिएको नागरिकको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद भएको बताउनु भयो । उहाँले ११ औ अन्तराष्ट्रिय सत्यको अधिकार दिवसको अवसर गरिएको गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
संसारभर मार्च २४ तारिखका दिनमा मानवअधिकारको उल्लङ्घनसँग सम्बन्धित सत्यको अधिकार तथा पीडितको मर्यादा लागि अन्तराष्ट्रिय सत्यको अधिकार दिवस मनाउने गरिएको छ । २०६७ पौष ६ गते संयुक्त राष्ट्रसंघको सभाले मार्च २४ लाई सत्यको अधिकार दिवसको रुपमा मनाउने भनी पारित गरेको थियो ।
नेपालमा भएको दश वर्षे हिंसात्मक द्वन्द्व बेलामा सबैभन्दा बढी बेपत्ता बर्दियामा पारिएका थिए । नेपालमा भएको विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष हुदाँ समेत बेपत्ता पारिएको अवस्था सार्वजनिक हुन सकेको छैन ।
सांसद चौधरीले बेपत्ता पारिएका व्यक्तिको बारेमा सरकारले परिवारलाई सत्यतथ्य जान्न पाउने आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ मैले पीडितको पक्षमा आफूले निरन्तर रुपमा आवाज उठाउँदै आएको छु । आगामी दिनमा पनि पीडितको पक्षमा उभिएर , पीडित परिवारको लागि काम गर्न तयार रहेको छु । शान्ति सम्झौता भएको पनि १७ वर्ष भयो । बेपत्ता पारिएको व्यक्तिको अवस्था सार्वजनिक गर्न ढिलो भइसकेको छ । त्यसकारण तत्काल बेपत्ता परिवारको अवस्था सार्वजनिक गरी परिवारलाई सत्यतथ्य जानकारी दिनुपर्छ । ’
राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्जको कार्यलय प्रमुख द्वारिका कुमारी अधिकारीले द्वन्द्व क्रममा बेपत्ता पारिएको व्यक्तिको अवस्थाको बारेमा सुनुवाइ नहुनु मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउनु भयो । उहाँले बेपत्ता पारिएको व्यक्तिको अवस्था सार्वजनिक हुन नसक्दा सामाजिक, सांस्कृतिक र कानुनी समस्या देखा परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ श्रीमान् बेपत्ता भएको कयौँ महिलाहरू सामाजिक सुरक्षा भता बाट समेत बञ्चित हुनु परेको छ । त्यसकारण पनि छिटो बेपत्ताको अवस्था सार्वजनिक गरी सत्यको बारेमा पीडितलाई जानकारी दिन जरुरी रहेको छ । पीडितलाई सबैले सहयोग गरेर सत्य थाहा पाउने अधिकारको बारेमा जानकारी पाउनु पीडितको अधिकार पनि हो ।’
इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले ‘पीडितले परिवारले बेपत्ता पारिएको परिवारको सदस्य कहाँ छन ’ भन्दै १५÷२० वर्ष देखि खोजिरहेको भए बेपत्ताहरूको अवस्था सार्वजनिक हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘ बेपत्ता पारिएका व्यक्ति कहाँ छन् भन्ने बारेमा राज्यले जानकारी दिन सकेको छैन् । सत्य थाहा पाउने हाम्रो अधिकार भएकोले पनि आज हामी अन्तराष्ट्रिय सत्यको अधिकार दिवस मनाइ रहेको छौ । नेपालमा भएको विस्तृत शान्ति सम्झौतामा ६० दिनमा बेपत्ताको अवस्था सार्वजनिक गर्ने भएको थियो । तर आजसम्म बेपत्ताको अवस्था सार्वजनिक हुन सकेको छैन् । सरकारले बेपत्ता पारिएको परिवारको अवस्था छिटो भन्दा छिटो सार्वजनिक गर्न गरी पीडित परिवारलाई सत्यको बारेमा जानकारी दिनुपर्छ । ’
बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले बार एसोसियसन मानव अधिकार र न्यायको पक्षमा रहेको बताउनु भयो । उहाँले न्यायको लागि पीडित परिवारलाई कानुनी सहयोग आवश्यक परेमा बारले सहयोग लागि हमेसा तयार रहेको बताउनु भयो ।
बेपत्ता पारिएको व्यक्तिका परिवारलाई कानुनी र सामाजिक रुपमा न्याय दिन अब ढिला नगर्न नहुने अध्यक्ष पाण्डेले बताउनु भयो । उहाँले सत्य थाहा पाउने अधिकार पीडित परिवारले भएकोले सो अधिकारबाट बञ्चित गर्न नहुने धारणा कार्यक्रममा राख्नुभयो ।
थारू महिला उत्थान केन्द्रको निर्देशक प्रिज्मा सिंह थारूले बेपत्ता परिवारले घरमा आर्थिक अभाव,मानसिक तनाव, कतिपय परिवार पीडित परिवार सदस्यहरू लागू औषधको लतमा परेको जस्ता समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो , ‘ पारिवारिक समस्या एकतिर छ भन्ने अर्को तर्फ बेपत्ता पारिएको व्यक्तिको अवस्था सार्वजनिक हुनुपर्ने भन्दै परिवार सत्यको लागि हिँडिरहनु भएको छ । त्यसकारण पनि पीडितले सत्य थाहा पाउने गरी सरकारले बेपत्ताको अवस्थाको बारेमा सार्वजनिक गर्न जरुरी रहेको छ ।
द्वन्द्व पीडित समितिमा कार्यक्रम संयोजक मान बहादुर चौधरीले पीडित परिवारको इतिहासलाई जीवन्त राख्न बेपत्ता पारिएको व्यक्तिका परिवारको बारेमा कथा लेख्न थालिएको बताउनु भयो ।
द्वन्द्व पीडित समितिका, अनौपचारिक सेवा केन्द्र इन्सेक, थारू महिला उत्थान केन्द्र, पत्रकार महासंघ, बर्दिया जिल्ला अदालत बार एसोसियसन, नेपाल रेडक्रस, टिपीओ नेपाल, नागरिक समाज सञ्जालमा आयोजनामा गरिएको थियो । मतङीचोकबाट सुरु भएको र्याली, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय बर्दिया, हुँदै राधाकृष्ण चोकमा गएर कोणसभा गरिएको थियो । भने र्याली लगतै विजया गेस्ट हाउसको हलमा सत्यको अधिकार विषयमा अन्तरक्रिया गरिएको थियो ।