Division forest_Ads
Barista_Training

पानीको अभाव हुदाँ स्थानीयलाई सास्ती , विद्यालयको पठनपाठन प्रभावित

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  बढैयाताल गाउँपालिका –५ मा चापाकलबाट पानी नआउँदा स्थानीयले पानीको समस्या भोग्नु परेको छ । १ हजार २ सय घरधुरी रहेको वडामा करिब ९० प्रतिशत घरमा पानीको अभाव भएको हो ।

१२.२२ वर्ग किलोमिटरमा फैलिएको वडामा १ हजार २ सय घरधुरी रहेको छन् भने ५ हजार ८ जनाको जनसङ्ख्या रहेको छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत माछा जोन रहेको यस वडाका अधिकांश पोखरीहरू भरिभराउ रहे पनि चापाकल ( हेन्ड पम्प ) बाट भने पानी आउँदैन । जसका कारण यहाँका स्थानीयहरूलाई आफ्नो दैनिकी चलाउन समेत समस्या पर्ने गरेको छ ।

बढैयाताल गाउँपालिका –५, जगतपुरकी स्थानीय ६८ वर्षीया तुलसीमाया सुवेदीले धारामा पानी आउन छोडेको दुई महिना भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विगत दुई÷तीन वर्षदेखि चैत्र वैशाख, जेठ र असारमा धारामा पाउन आउन छोडेको छ । जसले गर्दा खाना पकाउने, लुगा धुने, भाँडा माझ्ने पानीको समेत अभाव हुन थालेको छ । छिमेकीको घरमा गएर ल्याउने गर्दथ्यौँ । तर अहिले सबैतिर पानीको अभाव छ । अब कसरी पानीको व्यवस्थापन गर्ने हो, पीर लागिरहन्छ । सरकारले पनि हाम्रो समस्याबाट बेखबर भएको हो की हाम्रो समस्या नसुनेको हो थाहा छैन् ।’

बढैयाताल वरिपरिको क्षेत्रलाई सरकारले माछा जोनको रूपमा विकास गरेको छ । सरकारले माछाको उत्पादन बढाउन समरसेल बोरिङ (जमिनमुनी नै पानी तान्ने मेसिन) राखेर पोखरीमा भूमिगत सिँचाइको व्यवस्थापन गरेको बढैयाताल गाउँपालिका –५ का वडा अध्यक्ष तुलाराम चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ समरसेल बोरिङ नहुँदा बरु पानी सहज रूपमा आउने गर्दथ्यो । तर समरसेल बोरिङ गाडेपछि पानीको मुहान सुक्न थालेको छ । गाउँमा ७२ ओटा माछा पोखरी छन् । जसमध्ये ९० प्रतिशत पोखरीमा समरसेल बोरिङ गाडिएको छ । जसका कारण पनि गाउँमा पानीको अभाव भएको हुनुपर्छ ।’

Basgadhi PSA_final

वडामा रहेका विद्यालयहरू तथा सार्वजनिक स्थलमा समरसेल बोरिङ जडान गर्नुपर्ने माग गरेका वडा अध्यक्ष चौधरी जानकारी दिनुभयो । उहाँले वडामा खानेपानी ट्याङ्की निमार्ण भए पनि पाइपको लाइन विस्तार नहुँदा खानेपानी ट्याङ्कीबाट वितरण हुन नसकेको बताउनु भयो ।

विद्यालयमा पानी नहुँदापठनपाठनमा  प्रभावित

विद्यालयमा पानीको अभाव हुँदा पठनपाठनमा प्रभावित भएको छ । विद्यालयमा रहेका तीन ओटा धारा मध्ये दुई ओटा धारामा पानी आउन छाडेको छ भने एउटा धारामा पनि पहिलाको तुलनामा २५ प्रतिशत मात्र पानी आएको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक दीर्घ नारायण त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ’विद्यालयमा पानीको अभाव हुँदा विद्यार्थीहरू पानीको लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको छ भने शौचालय सरसफाइ गर्नका लागि समेत पानी छैन । पानीको अभावमा शौचालय सफा गर्न सकिएको छैन । शौचालयमा हुने फोहरका कारण महामारी, वातावरण प्रदुषण भएर रोग फैलिने जोखिम समेत रहेको छ । यस बारेमा स्थानीय तह लगायत सरोकारवाला निकायलाई लिखित र मौखिक जानकारी गराएका छौँ ।’

बढैयाताल गाउँपालिका –५ मा दुई ओटा माध्यामिक विद्यालय र दुई ओटा प्राथमिक विद्यालय रहेका छन् । पानीको अभावमा बढैयाताल, जगतपुर, जगतिया, विरेन्द्रनगर, बढैयाताल र फूलबारीका स्थानीयहरूले सास्ती भोग्नु परेको छ  ।

Leave A Reply

Your email address will not be published.