
यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं ७ मा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । देशभरका करिब १२ सय सानाकिसान सहकारीलाई उछिन्दै सर्वोत्कृष्ट बने लगत्तै सानाकिसान सहकारीले विशेष साधारण सभाको आयोजना गरि विभिन्न निर्णयहरू गरेको छ ।
साधारण सभाले सानाकिसानले कृषि उत्पादनमा आधारित उद्योग सञ्चालनका लागि खोल्नका लागि खरिद गरिएको एक विगहा जग्गालाई अनुमोदन गरेको छ भने कुसुम्बाबजारमा थप जग्गा खरिदको लागि अपुग ६० लाख रकम निकासा गर्ने निर्णय गरेको छ ।

२७ औँ वार्षिक साधारण सभाले २ करोड रकम जग्गा खरिदको लागि रकम विनियोजन भएको थियो । जसमध्ये एक करोड ३ लाख ९८ हजारको लगानीमा जग्गा खरिद गरेको छ । बाँकी रहेको ९६ लाख सहित थप बजेट माग गरि कुसुम्बा बजारमा आफ्नो एक कठ्ठा जग्गाको छेउमा रहेको अर्को एक कठ्ठा जग्गा खरिदका लागि थप बजेट आवश्यक रहेको हुनाले विशेष साधारण सभाको आयोजना गरिएको ताराताल सानाकिसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक डम्बर केसीले बताउनु भयो । जग्गा खरिदका लागि करिब ६० लाख रुपियाँ नपुग्ने हुनाले विशेष साधारण सभाले बजेट बिनियोजन गरेको उहाँले बताउनु भयो ।

त्यसैगरी ताराताल सानाकिसान कृषि सहकारी संस्थालाई सर्वोत्कृष्ट बनाउन भूमिका खेल्ने सम्पूर्ण सदस्यहरू, सञ्चालक समिति, सानाकिसान विकास लघुवित्त वित्तय संस्था लगाएत सम्पूर्णलाई हार्दिक धन्यवाद दिने विशेष साधारण सभाले निर्णय गरेको छ ।
विशेष साधारण सभामा बोल्दै प्रमुख अतिथि, संस्थाका संस्थापक अध्यक्ष, लुम्बिनी प्रदेश सभाका पूर्व सभासद् कुल प्रसाद पोखरेलले संस्था स्थापना गर्दा थोरै जग्गामा भएको र त्यतीबेला त्यो नै धेरै जस्तो लाग्थ्यो अहिले साँघुरो भएको बताउनु भयो । उहाँले भन्नु भयो –‘जग्गा थप गर्ने कुरा, उद्योग स्थापना गर्ने कुरा अत्यन्त महत्वपूर्ण र सान्दर्भिक हो , अब सहकारीले ऋण र बचतको कारोबार मात्र नगरेर कृषकहरूलाई उद्यम सँग जोड्नु पर्दछ ।’
ताराताल सानाकिसान कृषि सहकारीका पुर्व अध्यक्ष एवं मधुवन नगरपालिकाका संस्थापक मेयर गणेशबहादुर केसीले सानाकिसानले भोलीका दिनमा कुसुम्बा बजारमा पनि केही गर्नु पर्दछ भनेर जग्गा खरिद गर्नु राम्रो काम भएको बताउँदै जग्गा कृषकको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण हुनपर्ने बताउनु भयो । ताराताल सानाकिसानले कृषकहरुको जिवनस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।
सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक विशाल कुमार तुलाधरले देश भरका करिब १२ सय सानाकिसान सहकारी मध्ये सर्वोत्कृष्ट भएको प्रमाणपत्र सार्वजनिक गर्दै सम्पूर्ण शेयर सदस्यलाई बधाई ज्ञापन गर्नु भयो । उहाँले यो सफलतालाई जोगाई राख्नका लागि सम्पूर्ण शेयर सदस्यले मेहनत गर्नु पर्ने बताउनु भयो ।
जिल्ला सहकारी सङ्घका पूर्व अध्यक्ष गोपालप्रसाद पौडेलले अहिले सम्मको संस्थाको सफलता जोगाउनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले अहिले सम्म सबै एकताबद्ध भएर लागेको कारणले संस्थाको सफलता हात पारेको बताउनु भयो ।
मधुवन नगरपालिका वडा नं ७ का वडाध्यक्ष राजेन्द्र हमालले संस्थाले सबैको योगदानले सफलता हासिल गरेको बताउँदै भविश्यमा अझ प्रगति गर्नका लागि पुँजी बृद्धि गर्ने देखि थप व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

नेपाल मै सर्वोत्कृष्ट भएको ताराताल सानाकिसान कृषि सहकारी संस्थाले साधारण सभामा खुसी साटासाट गरेको छ । सानाकिसानलाई सर्वोत्कृष्ट बनाउनका लागि भूमिका निर्वाह गर्ने सम्पूर्ण शेयर सदस्यहरूलाई धन्यवाद दिँदै सञ्चालक समितिले सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई सम्मान गरेको छ । शेयर सदस्यहरूको भुमिका, सञ्चालक समितिहरूको उत्कृष्ट नीति र कर्मचारीहरूको लगनशिलताको कारणले सहकारी देश मै सर्वोत्कृष्ट भएको ताराताल सानाकिसान कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद तिमिल्सीनाले बताउनु भयो ।
ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेड २०५४ सालमा २९ सय रुपैयाँ सेयर पूँजीबाट सुरु भएको संस्थाले हालसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको सम्पत्ति सञ्चय गरेको छ । संस्थामा ३,८०० घरधुरी सेयर सदस्यका रूपमा आवद्ध छन् । शेयर सदस्यहरू मध्ये ८२ प्रतिशत महिला सदस्य छन् ।


