
प्रकाश पौडेल, गुलरिया । बर्दियामा पछिल्लो समय ई–रिक्सा चलाउने महिलाको संख्या बढ्दै गएको छ। ई–रिक्साबाट राम्रो आम्दानी हुने भएको हुँदा पछिल्लो समय ई–रिक्सा चलाउने महिलाको सङ्ख्या बढ्दै गएको हो ।
घर र खेतबारीको कामकाजमा मात्र सीमित रहँदै आएका महिला पछिल्लो समय ई–रिक्सा चलाएर स्वरोजगार बन्न थालेका छन् । बिहान–साँझको घरको काम सकेर महिलाहरूले दिउँसो र फुर्सदको समयमा ई–रिक्सा चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

पुरुषलाई जस्तो ई–रिक्सा चलाउन सहज नभए तापनि आर्थिक आयआर्जन गर्न र घरखर्च चलाउन ई–रिक्सा चलाएको गेरुवा गाउँपालिका– ६, नौरंगाकी रेनुका चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो , ‘मैले रिक्सा चलाउन थालेको पनि दुई वर्ष हुन थाल्यो । सुरुसुरुमा ई–रिक्सा चलाउँदा गाह्रो थियो । सुरुका दिन हेरेर अहिले धेरै सहज छ ।’
ई–रिक्सा चार्ज गर्दा मासिक तीन हजार बिजुलीको बिल आउने गरेको चौधरी जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यात्रु लिएर राजापुर र गेरुवाको विभिन्न ठाउँमा जाने गरेकी छु । दिनभरि कमाएको पैसाले परिवारको जीविकोपार्जन हुने गरेको छ ।’ ई–रिक्सा पछिल्लो समय यात्रुहरूको रोजाइमा पर्न सफल भएको चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बसलगायत अन्य सवारी साधन मुख्य सडकमा मात्र चल्ने गर्छ । जसले गर्दा भित्री सडकका यात्रा गर्ने यात्रुहरूको भरपर्दो र छिटोछरितो सवारीसाधनको रूपमा ई–रिक्सा पर्न थालेको छ ।’
जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले जिल्लामा ई–रिक्सा चलाउने महिलाको संख्या २० जनाभन्दा बढी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ई–रिक्सा चालक महिलाहरूले पुरुषभन्दा सचेत भएर ई–रिक्सा चलाएको पाइन्छ । जिल्लामा हुने दुर्घटनाको सङ्ख्या हेर्दा पनि महिलाभन्दा बढी पुरुषबाट दुर्घटना हुने गरेको छ । ट्राफिक नियमको पालनामा पुरुषभन्दा महिलाहरू सचेत भएको देखिन्छ ।’


