
दलबहादुर सुनार, बढैयाताल । बर्दियामा बगर खेतीबाट लाखौँको आम्दानी हुने गरेको पाइएको छ । गुलरिया नगरपालिका –८ र ११ को सिमानामा रहेको भादा नदीमा बगर खेतीबाट लाखौँको आम्दानी हुने गरेको पाइएको हो ।
पछिल्लो समयमा बगरखेतीबाट राम्रो आम्दानी हुन थालेपछी बगरखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । बगर खेती गर्नका लागि जग्गा पालिकासँग भाडामा लिएर भारतीय नागरिक समेत आउने गरेका छन् ।

भारत उत्तरप्रदेशका हनिफ खानले १५ बर्षदेखि भादा नदीको उत्तर र दक्षिण किनारमा बगर खेती गदै आउनु भएको छ । उहाँले काक्रो, लौका, फर्सी , तरबुजा, टमाटर लगायतका बेमौसमी तरकारी तथा फलफूल उत्पादन गरी स्थानीय बजारमा बिक्रीवितरण गर्दै आउनु भएको छ । बगरमा उत्पादन भएका तरकारी नेपालमै बिक्री हुने भएको बजारको समस्या नभएको उहाँले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘ बगरखेती गर्नका लागि आवशयक पर्ने जनशक्तिका लागि ४ जनालाई रोजगारी दिएको छु । ज्ञान, सीप मेहनत गरे बगरखेतीबाट राम्रो उत्पादन लिन सकिन्छ ।’
रोजगारीको अवसर नभएको भन्दै विदेश पलायन हुनेको सौख्य दिनहुँ बढ्दै गइरहेको छ । भने अर्को तर्फ नेपालमा केही गर्न सकिन्छ, भन्दै भारतीय नागरिकले आएर बगर खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । खानले गुलरिया नगरपालिकासँग ठेक्का सम्झौता गरेर करिब १५ वर्षदेखि भादा नदीको बगर क्षेत्रमा खेती गर्दै आएको बताउनु भयो ।
खानसँगै बगरखेतीमा काम गर्दैै आउनु भएका गुलरिया नगरपालिका –१२, भैसाही गाउँका रञ्जित कुमार थारूले बगर खेतीको सबै विधि र तरिका मलाई थाहा छ, तर लगानी नहुदाँ बगरखेती गर्न सकेको छैन् । उहाँले भन्नुभयो, ‘ खेती गर्दा सुरुमा लगानी चाहिन्छ । दैनिक मजदुरी गरेर जीवन निवाह गर्नुपर्ने बाध्यता छ । यस्तोमा कहाँबाट लगानी ल्याउने त्यहीँ भएर मजदुरी गर्न बाध्य छु । जब विदेशीले हाम्रो जमिन र श्रम प्रयोग गरेर सम्भावना देख्छन् लाखौँ आम्दानी गर्न सक्छन् । तर हामी नेपाली डलर कमाउन विदेश जान्छौ । अब सरकारले पनि वगरखेतीलाई प्रोत्साहन गरेर युवालाई देशमा काम गर्ने वातावरण सृजना गर्नुपर्छ ।’
सबैभन्दा रोचक विषय के छ भने, खेती गरिने जमिन नेपालको हो, श्रमिक र उपभोक्ता समेत नेपाली हुँदाहुँदै बगरखेतीमा मुनाफा भने भारतीय नागरिकको हातमा पुग्ने गरेको छ । भने स्थानीयहरू मजदुरको रुपमा क्षम बेच्न बाध्य छन् ।


