पूर्ण अशक्त अपाङ्गता व्यक्तिहरू नै स्वास्थ्य बिमाको पहुँच बाहिर
पूर्ण अशक्त अपाङ्गता व्यक्तिहरूको स्वास्थ्य बिमा निःशुल्क

प्रकाश पौडेल, गुलरिया । बर्दियामा ३८.८७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्डले ३८.८७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमा पहुँचभन्दा बाहिर रहेको जनाएको हो ।
पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई सरकारले रातो कार्ड उपलब्ध गराएर विभिन्न सहायता गर्दै आएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बर्दियामा १ हजार ४ सय ९५ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । ६१.१३ प्रतिशत स्वास्थ्य बिमा भएको छ । स्वास्थ्य बिमा बोर्डले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भनेको छ । तर बर्दिया अझै पनि ३८.८७ प्रतिशत जनाको स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेका छन् । जसले सहज र निःशुल्क रूपमा स्वास्थ्य उपचार पाउने अधिकारबाट अपाङ्गता भएका व्यक्तिहरू वञ्चित हुन परेको छ ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक व्यवस्था गरिएको छ । उक्त हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यसैगरी प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्य उपचार सम्बन्धमा जानकारी पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ भने प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने भनिएको छ । स्वास्थ्य बिमा कार्यान्वयन गर्नका लागि राष्ट्रिय स्वास्थ्य बिमा नीति २०७१ र स्वास्थ्य बिमा ऐन २०७४ अनुरूप स्वास्थ्य बिमा बोर्ड स्थापना भएर प्रत्येक वडामा दर्ता सहयोगी समेत राखिए पनि पूर्ण अशक्त अपाङ्गताहरू स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहनु परेको छ ।
स्वास्थ्य बिमा बोर्ड, बर्दियाका कार्यालय प्रमुख डिकेन्द्रबहादुर बिष्टले पूर्ण अशक्त अपाङ्गता व्यक्तिहरूको स्वास्थ्य बिमा सरकारले निःशुल्क गर्ने व्यवस्था गरे पनि बिमा कार्यक्रममा आबद्ध हुन अनिवार्य परिचय पत्र आवश्यक पर्ने बताउनु भयो । उहाँले पूर्ण अशक्त अपाङ्गता ( रातो कार्ड ) भएका अपाङ्गताका परिवारले दर्ता सहयोगीलाई जानकारी गराएर स्वास्थ्य बिमा गर्नसक्ने जानकारी दिनुभयो ।
स्वास्थ्य बिमामा सबैको सहज पहुँच पुर्याउन प्रत्येक वडामा दर्ता सहयोगी राखिएको र तीनै दर्ता सहयोगी मार्फत स्वास्थ्य बिमा गर्न सकिने कार्यालय प्रमुख बिष्टले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बिमा आबद्ध हुन पूर्ण अशक्त अपाङ्गता कोही पनि व्यक्तिहरू छुट्नु भएको वडामा रहेका दर्ता सहयोगीलाई जानकारी गराउन वा स्वास्थ्य बिमा बोर्डको कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभयो । पूर्ण अशक्त अपाङ्गता ( रातो कार्ड ) भएका व्यक्तिको परिवारले पनि शुल्क तिर्न नपर्ने र सहभुक्तानीको रकम तिर्न नपर्ने भएकोले निःशुल्क बिमा हुने उहाँले बताउनु भयो ।
कृष्णसार अनलाइनमा अपाङ्गताहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर शीर्षकमा समाचार प्रकाशन हुँदा बर्दियामा पूर्ण अशक्त अपाङ्गता १ हजार २ सय ९६ जना रहेका थिए । ५८.३३ प्रतिशत स्वास्थ्य बिमा भएको थियो भने ४१.६७ प्रतिशत स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका थिए ।


