
प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिकामा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ। सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या बढी भएपनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको हो ।
पालिकाभित्र रहेका संस्थागत विद्यालयको एसईईको नतिजा राम्रो देखिएको भएयता पनि सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ । पालिकाले शिक्षाको सुधारका लागि आन्तरिक स्रोतबाट पछिल्ला तीन आर्थिक वर्षमा ८ करोड ८९ लाख ५० हजार रुपैयाँ बजेट छुट्टाएको थियो । पालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ३ करोड ४९ लाख ४२ हजार रुपैयाँ, २०८१/०८२ मा २ करोड ६१ लाख ४ हजार रुपैयाँ र २०८०/०८१ मा २ करोड ७९ लाख ४ हजार रुपैयाँ शिक्षाका लागि बजेट विनियोजन गरिएको थियो।

शिक्षामा वर्षेनी करोडौँ रुपैयाँ लगानी भइरहे पनि सामुदायिक विद्यालयको एसईई नतिजामा अपेक्षित सुधार हुन नसकेको देखिन्छ । २०८२ को एसईईमा पालिकाको सामुदायिक विद्यालयबाट ३ सय ४४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ सय ७२ जना उत्तीर्ण भएका थिए । संस्थागत विद्यालयबाट १८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १५ जना उत्तीर्ण भएका थिए । त्यसैगरी २०८१ को एसईईमा सामुदायिक विद्यालयबाट परीक्षा दिएका ४ सय ९४ विद्यार्थीमध्ये ४१ जना उत्तीर्ण भएका थिए । संस्थागत विद्यालयका २५ जना विद्यार्थीमध्ये ९ जना विद्यार्थी उत्तीर्ण भएका थिए । भने २०८० को एसईईमा सामुदायिक विद्यालयबाट ४ सय ७ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ सय ६० जना उत्तीर्ण भएको थिए । संस्थागत विद्यालयबाट ४३ जना विद्यार्थीले परीक्षा दिएकोमा ३९ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले मात्र नभई विभिन्न सङ्घसंस्थाले समेत काम गरेका छन् । तर शिक्षामा भएको लगानी अनुसार शैक्षिक उपलब्धि हासिल भएको देखिदैन । लगानीको प्रभावकारिता, शिक्षकको नियमितता, कक्षाकोठामा हुने पठनपाठन, विद्यार्थीको सिकाइ उपलब्धि, विषयगत नतिजा तथा विद्यालय व्यवस्थापनको अवस्थाले शैक्षिक वातावरण तयार हुन्छ । सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको तुलनामा कमजोर सम्बन्धित निकायको जिम्मेवार बन्नपर्ने देखिन्छ ।


