
कृष्णसार अनलाइन । बर्दियामा मौरीको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका– ४, खैलारका ४३ वर्षीय वीरबहादुर थारूको मृत्यु भएको हो ।
दुई महिना अघिदेखि थारूको घरमा बस्दै आएको मौरीले मंगलबार दिउँसो थारूलाई टोकेको थियो । मौरीले थारूको छातीको भाग भन्दा माथि टोकेपछि थारू बेहोस भएका थिए।बेहोस भएका थारूलाई उपचारका लागि आधारभूत नगर अस्पताल नेउलापुर भुरीगाउँमा लगिएको थियो । उपचारको क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

मौरीको टोकाइबाट मृत्यु भएका थारूको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा गुलरियामा लगिएको छ । मौरीबाट थप क्षति हुन नदिन थारूको घरमा रहेको मौरीका चार घार नष्ट गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।


