
_बिष्णु पादुका
खुला आकाश मुनि

अँध्यारो सन्नाटा मात्र छैन
बादलका लजालु आँसु पनि छन्
तप्किन्छन् हत्केलामा
झुपडीको बलेनी जस्तो
जहाँ छानोको पानी घरभित्रै चुहेर सकिन्छ
रित्तो छैन मन जस्तो आकाश
बादलले लुकाएकै छ
झुल्किने यादका जून ताराहरू
मिसाएर ल्याएको छ बतासले
तिमीले फेरेका सास
अन्दाज गरेर
कहिले पो थाक्छन् र यी आँखा
बादललाई झर्न विवश बनाउने धर्तीको तागत
डरले बरु धोका दिएर
बेलाबेला डराउन दिन छोडेको छ
– पुरै आँखा च्यातेर हेर्दा देखिने यो पूर्ण अँध्यारो पनि
मलाई आधा सत्य मात्र हो भन्ने भ्रमले अझैसम्म छोडेको छैन
कतै कुनै आँखामा मसम्म आउन बाँकी उज्यालो भरिएर बसेको छ ।


