
प्रकाश पौडेल, गुलरिया । मानवीय गतिविधिले गर्दा जैविक विविधतामा ह्रास आउन थालेको छ । जैविक विविधता आएको ह्रासका गर्दा कयौँ जैविक विविधता विनाश भएको छ । जैविक विविधतामा भएको ह्रास र विनाशको प्रत्यक्ष असर जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बुद्धि हो ।
जैविक विविधताको विनाश रोक्न समयमा नै हामीले हाम्रो आनीबानीमा परिवर्तन गर्नु जरुरी छ । हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौ भने मानवीय अस्तित्व समेत सङ्कटमा पर्ने देखिन्छ । प्रकृतिले नै पृथ्वीमा सम्पूर्ण प्राणी, वनस्पति, सुष्मजीव चराचुरुङ्गी जलचर थलचर, वन्यजन्तु, नदीनाला, तालतलैया, हिमाल पहाडको उत्पत्ति र विकास गरेको हो ।

संसारमा प्रकृति भन्दा शक्तिशाली कोही छैन् । प्रकृतिले चाहेमा मानिसले वर्षौ लगाएर निर्माण गरेको संरचनामा केही क्षणमा विनाश हुन सक्छ । प्रकृति आएका प्राकृतिक विपद्ले हेर्दा हेर्दै कयौँ विनाशका घटना भएका छन् । मानवीय विकासले पृथ्वीबाट कयौँ वनस्पति, सुष्मजीव, चराचुरुङ्गी जलचर थलचर, वन्यजन्तु लोप हुँदै गएका गए । भने कयौँले आफ्नो अस्तित्व जोगाउनका लागि सङ्घर्ष गरिरहेका छन् । पृथ्वीबाट कुनै एउटा प्राणी, वनस्पति, सुष्मजीव, चराचुरुङ्गी जलचर थलचर, वन्यजन्तु लोप भएमा त्यसको प्रत्यक्ष असर रुपमा इको स्टिम पर्छ । जसको असर पृथ्वीमा बस्ने हरेकले भोग्नु पर्ने हुन्छ । जब जैविक विविधता सङ्कटमा पर्छ । तब मानवता पनि सङ्कटमा पर्छ ।
जैविक विविधता जीवनको आधार हो । जैविक विविधताले आजसम्म मानवको अस्तित्वको जोगिएको छ । जैविक विविधताले गर्दा पृथ्वी ग्रह बस्न योग्य ग्रह भएको हो । प्रकृतिबाट प्राप्त वस्तु र सेवाहरू प्रयोग गरेर मानव बाँचिरहेको छ । यो जैविक विविधताको उपच हो । पृथ्वीले आजसम्म मानव धेरै थोक दिएको छ । र मानवको अस्तित्व जोगाएको छ ।
नेपाल जैविक विविधताको हिसाबले धनी मानिन्छ । नेपालमा १२ हजार वनस्पतिका प्रजाति सूचीकृत भइसकेका छ । यस्तै, आठ सय ९१ प्रजातिका पक्षी, दुई सय ३० प्रजातिका माछा, दुई सय १८ प्रजातिका स्तनधारी र एक सय १७ प्रजातिका सरीसृप सूचीकृत रहेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल नेपालमा नै छ । हिमाली भेगमा पनि अनेक जैविक विविधताको छ ।
अब चर्चा गरौँ बर्दियाको
जैविक विविधताको हिसाबले बर्दिया धनी मानिन्छ । कुल क्षेत्रफल दुई लाख दुई हजार पाँच सय हेक्टर, मध्ये ९८ हजार हेक्टर क्षेत्रफल बर्दिया राष्ट्रिय निकुञ्ज ओगटेको छ । भने २३ हजार छ सय ७२ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । एक हजार चार सय ९७ । ५० हेक्टर नदी, नाला, जलासय रहेको बर्दियामा नौ सय हेक्टर चरण क्षेत्र रहेको जिल्ला प्रशासन कार्यालय प्रकाशन गरेको बर्दिया जिल्ला वस्तुगत वितरण २०८० मा उल्लेख गरिएको छ ।
संसारबाट लोप हुने अवस्थामा पुगेको पाटेबाघ संरक्षण गरेर चर्चाका आएको बर्दियामा संरक्षणका क्षेत्रमा अनेक चुनौती छन् । बर्दियामा अहिले एक सय २५ पाटेबाघ, एक सय ३० भन्दा बढी हात्ती , ३८ वटा एकसिँगे गैँडा , करिब एक सय बाह्रसिङे पाइन्छ । भने पाँच सय १३ प्रजातिका चरा र करिब एक २० प्रजातिका माछा पाइने बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जका रेन्जर सन्तबहादुर मगरले बताउनु भयो । निकुञ्जभित्र र बाहिर चितुवा सालक, सुनगोहोरो, विभिन्न प्रजातिको सर्प, चितल, ओत डल्फिन, घडियाल, मगर गोही, मृत, रतुवा, कृष्णसार, विभिन्न प्रजातिमा पुतली, किराफट्याङ्ग्रा पाइन्छ ।
त्यसैगरी यहाँ बढैयाताल, कृष्णसारताल , सतखलवाताल भग्रैयाताल अनौहवाताल लक्ष्मणा ताल तारातालताल , जस्ता महत्वपूर्ण ताल रहेका छन् । यी तालहरुले पानीलाई भण्डारण गर्नुका साथै जमिन ओसिलो बनाउँने र जमिनलाई चिसियान बनाइ राख्न तालले योगदान गरेको छ । भने यहाँ कर्णाली नदी गेरुवा नदी, बबई नदी भादा नदी मानखोला महत्वपूर्ण नदी रहेका छन् ।
भने यहाँ सिसौ, खयर, साल, जामुन, कर्मा, साँखु, टिक, सिमल, राजवृक्ष, सिसिर, साज, असना, आँप, बेल, लगायतका प्रजातिका बिरुवा छन् । भने हरोबरो, सर्पगन्धा, विजयसाल, न्वुजरपत्ता, जागबेली, कुरिलो, मेन्था, लेमन ग्रास, बोझो, बकमर्तो, लज्जावती, असुरो, आँक, घिउकुमारी, तुलसी जडिबुटी पाइन्छ । त्यसैगरी अम्रिसो, बाँस, बाबियो, मोलिपात, बिडिपत्ता, झौवा, बेत, नाकट, कमस,कुश, रबर भने बनपैदावार पाइन्छ । तर मानवीय गतिविधिका कारण जानेर वा नजानेर जैविक विविधताको विनाश भइरहेको छ ।
मानिसले गर्दा भइरहेको जैविक विविधताको विनाश रोक्न सम्वर्धन परियोजनाले विद्यालय स्तरबाट जैविक विविधता संरक्षणका लागि विद्यार्थीलाई सुसूचित गर्ने कामको थालनी गरेको छ । सम्वर्धन परियोजनाले जलवायु परिवर्तन, वन र जैविक विविधता, सामुदायिक वन, वन डढेला, मानव वन्यजन्तु द्वन्द्व, हरित विद्यालय र फोहोरमैला व्यवस्थापन र वर्गीकरणका बारेमा विद्यार्थीलाई सचेत गराउने उदेश्यले वन वातावरण र जैविक विविधता क्रियाकलाप पुस्तिका प्रकाशन गरेको परियोजनाका पैरवी अधिकृत जयन जोशीले बताउनु भयो ।
सम्वर्धन परियोजनाले मधुवन नगरपालिका – १ मा सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालय, मधुवन नगरपालिका –२ बगालीपुरमा रहेको मञ्जुश्री बाटिका माध्यामिक विद्यालय, मधुवन नगरपालिका –३ धनौरामा रहेका नेपाल राष्ट्रिय माध्यामिक विद्यालय तथा ठाकुरबाबा नगरपालिका –८ मा मढेलामा रहेको जगदम्बा माध्यामिक विद्यालय र ठाकुरबाबा नगरपालिका –९ मा ठाकुुरद्दारामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका कक्षा ६,७,८, ९ का विद्यार्थीलाई वन वातावरण र जलवायु परिवर्तनका बारेका सिकाउन थालिएको छ ।
त्रिभुवन माध्यमिक विद्यालय सूर्यपटुवाका प्रधानाध्यापक इन्द्रबहादुर सुनारले बर्दिया र बाँकेमा मानिस र वन्यजन्तुहरू नजिकै रहेर जीवन बिताइरहेका बताउनु भयो । उहाँले मानव तथा वन्यजन्तुको द्वन्द्व घटाउने तरिका, जैविक विविधता संरक्षण र सम्बन्धित ज्ञान विद्यालय तहबाटै सिकाउनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरू नै समाजमा सबैभन्दा प्रभावकारी सचेतना फैलाउने माध्यम हुन । त्यसकारण परियोजनाले प्रकाशन गरेको क्रियाकलाप पुस्तिकका अत्यन्त्र महत्वपूर्ण छ । यसले विद्यार्थीको पठनपाठन, सिकाइ समेत सकारत्मक प्रभाव पर्छ । र व्यवहार परिवर्तन गराउन यसले महत्वपूर्ण भूमिका खेल्छ ।’
त्रिभुवन माध्यमिक विद्यालयका वातावरण विज्ञानका शिक्षक यमराज न्यौपानेले वन वातावरण र जैविक विविधता क्रियाकलाप पुस्तिका स्थानीय परिवेशसँग मेल खाने भएको हुँदा यो पुस्तक व्यवहारिक भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पुस्तकमा माटो सुहाउँदो छ । पुस्तकमा भएका चित्रले गर्दा विद्यार्थीलाई बुभ्न सजिलो भएको छ । प्रयोगात्मक शैलिमा रहेको यस पुस्तक विद्यालय पाठ्यपुस्तकसँग मिल्ने खालको छ, जसले गर्दा विद्यार्थीको सिकाईमा अझै प्रभाव पार्ने देखिन्छ ।’विद्यालय तहमै विद्यार्थीलाई प्रकृतिसम्बन्धी थप जानकारी दिने हुँदा भविष्यमा उनीहरूलाई जिम्मेवार नागरिक बन्न सहयोग र्पुयाउने उहाँले धारणा राख्नुभयो ।
परियोजनाका पैरवी अधिकृत जयन जोशीले पछिल्लो समयमा मानिसले भोग्दै आएको प्राकृतिक प्रकोपका घटनाहरु प्रकृतिको बिनाशले गर्दा भएको बताउनु भयो । उहाँले भन्नुयो, ‘ हामीले प्रयोग गर्ने प्रत्येक बस्तु प्रकृतीबाट प्राप्त हुन्छ । हावा, पानी, खाना अक्सिजन, खनिज लवण औषधी सबै स्रोत प्रकृती नै हो । मानवका गतिविधीले गर्दा जलवायु परिवर्तन भएको छ । जैविक विविधताको विनाश भएको छ । विभिन्न प्रजातिहरू लोप प्राकृतिकबाट नै लोप हुने अवस्थामा पुगेका छन् । यसका वैज्ञानिक तथ्यहरु समेत फेला परेका छ । अहिले देखिएका समस्याहरु मानव निमित हुन । यसका लागि हाम्रा क्रियाकलापहरु नै जिम्मेवार छन्, भन्ने कुरामा दुईमत छैन् । जैविक विविधता संरक्षण गर्दैै प्रकृति जोगाउनु हाम्रो दायित्व हो । जैविक विविधताभित्र प्रत्येक प्रजातिको आनुवंशिक भिन्नता रहेको छ । त्यहीँ भएर नेपाल सरकारले पनि जैविक विविधतालाई महत्व दिएको छ ।’
नेपालको संविधान २०७२ ले प्राकृतिक श्रोत र जैविक विविधता संरक्षण सम्बन्धमा केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकार र भूमिकाहरुको संवैधानिक रुपमा नै व्यवस्था गरेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारका एकल तथा साझा अधिकारहरुलाई संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा सुचिकृत गरिएको छ । वन,जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधतालाई संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार भनी सुचिकृत गरिएको छ । यसरी जैविक विविधता संरक्षणलाई संविधानले नै उच्च महत्व दिएको छ ।
जैविक विविधता जोगाउनु भनेको मानवजातिको अस्तित्व रक्षाका साथै भविष्यमा आइपर्ने संकटसँग जुध्न सक्नु पनि हो । तर मानवले भौतिक बिकास र सुखसयलका नाममा प्रकृतीको विनाश गरिरेहेका छन् । विश्वका धनी देशहरुले भौतिक तथा आर्थिक विकासका लागि प्रकृतिको चरम विनाश गरे । त्यसको प्रत्यक्ष असर अहिले हामीले भोगिरहेका छौ । हामीले भोगिरहेका समस्याहरुलाईन्युनिकरण गर्न सकिन्छ । त्यसका लागि एक मात्र विकल्प भनेको जैविक विविधता संरक्षण हो । त्यसका लागि हामीले पहल गर्न जरुरी रहेको छ ।
प्रकृति विनाश कम गर्न र जैविक विविधताको संरक्षण गर्न हामीले व्यवहार परिवर्तन गर्न र विद्यालय स्तरबाट विद्यार्थीलाई सचेत गराउन जरुरी रहेको छ । सम्वर्धन परियोजनाले विद्यालयमा गएर विद्यार्थीका बीचमा गरिरहेको कामले पक्कै पनि जैविक विविधताको संरक्षण तथा प्रकृति जोगाउन थोरै भएपनि योगदान गर्न सक्छ । सम्वर्धन परियोजना बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका साथै बाँकेको कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा समुदायस्तरमा काम रहेको छ ।
परियोजना युरोपियन युनियन र अष्ट्रियन डेभलपमेन्ट कोअपरेसनको आर्थिक सहयोगमा, आड्रा नेपालको नेतृत्वमा, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ( फेकोफन ) र भेरी वातावरणीय विशिष्टता समूह (बी–गुरुप) बाँकेको सहकार्यमा सञ्चालन भइरहेको छ ।


