
_ बिना भट्टराई
प्रिय जेन जि छोराछोरी

तिमीहरूले परिवर्तनका लागि आट गरेउ । आवाज उठायौ । दवाव दिने निर्णय गरेउ । कुनै नेतृत्व विनाको, दलीय राजनीति विनाको ,शान्त र स्वतःस्फूर्त युवाको जमात उठेउ । तर त्यसमा घुसेर सधैँ समाजमा अराजक मच्चाउन खोज्नेका कारण, ठूलो मानवीय क्षति भयो । सरकारी सम्पत्ति क्षति भयो । सयौँ भ्रष्टका प्रमाण छानिछानी जलाइए । त्यतिले पुगेन सयौँलाई रोजगारी दिएका व्यापारिक संस्था, सञ्चार माध्यम र दुःखले आर्जेका व्यक्तिका निजी सम्पत्ति पनि ध्वस्त पारिए ।
हुन त देशमा आन्दोलन पटक पटक भयो । निरङ्कुश व्यवस्था परिवर्तनका लागि राणा शासनका विरुद्ध लडेका । पञ्चायती व्यवस्थासँग लडेका । शसस्त्र द्वन्द्वलाई शान्तिपूर्ण अवतरण गराएका । पुराना नेताहरूको काम गर्ने शैली समय अनुसार र युवा पुस्ताको भावना अनुरूप चल्न सकेन । सबै त्याग ओझेलमा परे । २०६२÷०६३ को आन्दोलन पछि करिव ८ वर्ष लगाएर बनाइएको संविधान अनुरूप संघीय लोकतान्त्रीक गणतन्त्रात्मक देश भयो । तीन तहका सरकारका आ आफ्ना जिम्मेवारी तोकिए । तर पछाडि पारिएका बर्ग र समुदायको प्रतिनिधित्व बाहेक संविधानको मर्म र भावना अनुसार काम नभएकै कारण आजको यो अवस्था सृजना भयो ।
ठूला दलका सबै नेतृत्व पटकपटक प्रधानमन्त्री भए । यो ८ वर्षमा पनि बनाउनु पर्ने धेरै कानुन बनेनन् । जनताले पाउने सेवा सरल र सहज कहिल्यै भएन । अति आवश्यक सेवा लिन पनि जिल्लाका कार्यालयमै धाउनु पर्ने बाध्यता हटेनन् । नागरिकता बनाउन प्रशासन कार्यालयमै जानुपर्ने । कर तिर्न समेत एउटै व्यक्ति धेरै कार्यालय जानुपर्ने । जग्गा पास गर्न बिचौलियाको सहारा नलिइ नहुने । यातायात कार्यालयमा बिचौलियाको सहारा नलिइ नहुने । आफ्नै देशमा हिँड्दा पनि हरेक ५÷७ किमिका फरकमा ट्राफिक चेकजाँचका बहानामा नागरिकले दुख पाइरहे । जे काम गर्नपनि, जहाँ पनि लाइन लाग्नुपर्ने, जहाँ पनि भनसुन नै चल्ने । यो व्यवस्था परिवर्तनको अनुभूति वास्तवमा जनताले गर्नै पाएनन् भन्दा अतिशयोक्ति नहोला ।
तहगत अधिकार प्रत्यायोजन नगर्दा, स्थानीय तहका २२ वटा एकल अधिकार मध्ये २ वटा अधिकार पनि आसिक रूपमा मात्र स्थानीय तहले प्रयोग गरेका छन । संघ र स्थानीय तहका कर्मचारीमै पनि विभेद गरियो । संघिय मानसिकताबाट नत नेता न कर्मचारी माथि उठ्न सके , स्थानीय तहका जनप्रतिनिधि हुनुका नाताले कैयौँ फोरममा हामीले आवाज उठाइरह्यो । केही त होला भन्ने आशामा थियो । केही हुदै नभएको चाहि हैन ,धेरै राम्रा काम पनि हुदै थिए तर सुधार गर्नु पर्ने कुरा धेरै थिए । तर सधैँ नकारात्मक र गलत भाष्य मात्र प्रयोग गरियो । सहि र गलत हैन ,सवै गलत मात्र भनेर प्रचार गरियो । त्यसैले विद्रोहोको आवाज उठ्यो,त्यहिबाट सुधार हुन सक्थ्यो । तर आन्दोलनले फरक मोड लियो । अव आउने पुस्ताले इतिहास पढ्लान र विश्लेषण गर्लान ।
प्रिय जेनजि युवाहरू
हामी एकदलीय व्यवस्था फालेर बहुदलीय व्यवस्थामा आएका थियौ । जसलाई जुन दलका सिद्धान्त मनपरे त्यहि दलमा आवद्ध भए या समर्थन गरे । कोहि नेता भए । कोहि केवल सामान्य कार्यकर्ता मात्र भए । एकदिनमा जुन अप्रत्याशित घटना भयो । सबैलाई भ्रष्टाचारी मात्र देखियो । राजनीतिलाई सेवा भाव सोचेर दिनरात काम गर्नेहरू, आफ्ना भएका सम्पत्ति पनि सकेर पनि सेवामा लाग्नेलाई पनि पदमा भएकै कारण कारवाहिका नाममा छानिछानी तिनका सम्पत्ति जलाइयो । कतिको सम्पत्ति जलाउन भरमग्दुर कोशिस गरियो । तर राजनीतिको आडमा अकुत सम्पत्ति जोडेका त निश्फिक्री बसिरहे ।
प्रिय भाइवैनिहरू
तिमिहरूलाई थाहा छ कि छैन तिमिहरु त काठमाडौं बस्छौ तर तिमिहरू बस्ने त्यही वडाको सदस्य, अध्यक्ष, उप–मेयर,मेयरहरू तिम्रा गाउँका जन्ती र मलामी हुन । तिम्रा बा आमा दिदी–बहिनी विरामि हुँदा एम्बुलेन्स पठाएका छन् । औषधि छैन भन्दा प्रेसर, सुगरका औषधिहरू घरमै र्पुयाएका छन् । बाढी आउँदा होस या पहिरो जाँदा हो , हात्तीले घर भत्काउदा होस या बाघले मान्छे मार्दा होस सवैभन्दा पहिले जनप्रतिनिधि नै पुगेका छन् । तिम्रा बा आमा हिड्न सक्दैनन भनेर सामाजिक सुरक्षा भत्ता घरदैलोमै र्पुयाएका छन् । मेरो छोरोले र बुहारीले मलाई हेला गरे भनेर आउँदा छलफल गराएर, आफ्नो कर्तव्य पुरा गर भनेर खवरदारी गरेका छन् । कोहि पढ्न पाएननकि भनेर खोजिखोजि विद्यालय पुर्याएका छन् । बरू शिक्षक विरोधि बन्न तयार भए तर शिक्षाको गुणस्तर घटाउन पाइदैन है भनेर खवरदारी गरिरहे । गाउँ टोलकै माग र अनुसार श्रोतले भ्याएसम्म सरकार मात्र हैन व्यक्ति , संघसंस्थासंग हातजोडी जोडी, कचौँरा थापिथापि भएपनि श्रोतको खोजि गरेर गाउँठाउकै विकास गर्ने कोशिस गरेका छन् । न्यून श्रोतमा पनि हिजोका हिलाम्मे बाटो ग्राभेल हुदै गए, ग्राभेल बाटो कालोपत्रे बनेका छन् । सुख्खा ठाउमा सिचाईको व्यवस्था, सडक किनार नाला बन्दैछन् । तिमि हामीले टहरोमा पढेका विद्यालय र आधुनिक बन्दै छन । सुचना प्रविधिको पहुँच हरेक विद्धालयमा पुर्याएका छन् । हिजो निर्वाधरूपमा उठाइएका ढुंगा,गिटि बालुवा समेत बेचेर राजश्व उठाएका छन् । कमसल माल विक्रि र कालोबजारी गर्नेलाई खवरदारी गरेकै छन् । काममा ढिलासुस्ती गर्नेलाई ताकेता गरिरहेकै छन् । यति गरेकै कारण धेरैको विरोधि जनप्रतिनिधी भएका छन् । यति मात्र हैन कसैले पैसा छैन भनेर वा केही सहयोग माग्दा व्यक्तिगत रूपमा गोजीबाट झिकेर धेरैले दिएकै छन । वर्षभरिमा हजार रुपैयाँ पनि कर नतिर्नेले हाम्रो करबाट उठेको पैसाले सेवा सुविधा प्रयोग गरेका छन भनेर गरेका गाली खाइरहेकै छन् ।
प्रिय भाइबैनिहरू
तपाईहरूले त देख्नु भएन संघका नेताको त मलाई थाहा छैन तर स्थनीय तहका शायद कुनै जनप्रतिनिधिले धेरैजसो बिहानको खाना कसैले खाए ,खाएपनि बेलैमा त कसैले खाएनन । भोकै बसेर सेवा गरे । कतिले चिया , पानी मात्रै खाएर जनताको काममा धाउदा धेरैले ग्यास्ट्रिक, अल्सर, सुगर र प्रेसर उपहारमा पाए । तर आज विशेष राजनीतिक दललाई मात्र टार्गेट गरी गरी एकै चोटि दोषी देखाईयो । धेरैका बुवा आमा ,सासु ससुराले बनाएका पुख्र्यैोलि घर पनि जलाइए । उनीहरु बेघरबार हुँदा कतिलाई आत्म सन्तुष्टि पनि मिल्यो होला । तर ति रोगी र बृद्ध बुवा आमाको आखाबाट झरेका बलिन्द्र धारा आशुलाई नियालेर हेर्नुस कति पिडा देख्नुहुन्छ । हो यहा समस्या छ, हामीलाई पनि थाहा छ, तर सवैलाई एउटै आँखाले हेर्न मिल्दैन । यहि आन्दोलनका नाममा केही अराजक र समाजसेवालाई अपराध देख्नेले कुनै कार्यकारी अधिकार नभएका उपमेयरहरूलाई पनि कारवाहि गरे । यो समाजका केही उदण्डबाट मलाई पनि निरन्तर धम्की र म्यासेज गरिरहे तर फेरि यहि समाजका केही असल व्यक्ति, शुभचिन्तक, सुझबुझपुर्ण नगरपालिका नेतृत्व र नेपाली सेनाका कारण म र मेरो परिवार सुरक्षित रहन सक्यौ । अव ती अराजकले समाजमा फेरि टाउको उठाउन नसकुन तपाइहरू खवरदारी गरिरहनु ।
म आफु उपप्रमुख भएका कारण उपप्रमुखलाई गरेका कारवाहिले धेरै पिडा बोध हुदा यो लेख्न मन लाग्यो । उपप्रमुख पद ,न कार्यकारी अधिकार छ , न आर्थिक अधिकार छ , बरू एउटा वडा अध्यक्षले वडाको अधिकार प्रयोग गर्छ तर विभिन्न अपजसी र समन्वकारी भूमिका मात्र भएका धेरै उपमेयरलाई राजनीतिक प्रतिशोध साधेर कालोमोसो दल्ने देखि ,व्यक्तिगत सम्पत्ति आगजनी गरियो । यसो भनिरहदा प्रमुख र वडा अध्यक्षहरूको आगजनि गर्नु सहि हो भन्ने नबुझियोस । काम गर्न चाहने प्रमुखहरूका पनि आफ्नै पिडा छन् । नेतृत्वले सवैलाई मिलाएर लैजानुपर्ने ,जस लिन सबै तम्सिने तर अपजस सधैँ नेतृत्वको टाउकोमा राखेर पन्छिने जनता हैन जनप्रतिनिधकै कारण राम्रो नराम्रो जे भएपनि जवाफ दिनु पर्ने ,जिम्मेवारी लिनु पर्ने समस्या छन् । आज जसले राम्रा काम गर्न खोजेका छन् । तिनै प्रमुखलाई झन निशाना बनाइयो ।
हुन त युवाहरूले देश विदेशका विकास देखेर हाम्रो गाउको विकास पनि त्यस्तै हुनुपर्ने भन्ने सोच्यौ , तर एक स्थानीय तहमा कति श्रोत हुन्छ । खर्च गर्ने प्रणाली कस्तो छ । जनप्रतिनिधि र कर्मचारीको जिम्मेवारी के के छ । शायद हामीले बुझाउन सकेनौ । न्यूनतम विडिङ गर्नेलाई योजना दिनु पर्न , योजना लिने तर कामै नगरेर योजना अलपत्र पारिदिनेका कारण कति जनप्रतिनिधिले दिनरात गाली पनि खाइरहे, चरित्र हत्या पनि भैरहे । राजनीतिक पदमा भएकाले मात्र भ्रष्टाचार गर्छन् भन्न्ने भाष्य सृजना गरेर बाहिर या अन्य पदमा रहनेले अर्थात झन बढी भ्रषटाचार गर्नेले, समाजमा सवैभन्दा बढी भ्रष्ट छ । उसैले निरन्तर जनप्रतिनिधिलाई गाली गरिरहे , भ्रम सृजना गरिरहे । अहिलेको व्यवस्था र नेताप्रति जसले बढी नकारात्मकता फैलाउछ समाजमा उनै बढी हावी भैरहे ।
राजनीति पेशा हैन सेवा हो भन्ने भावबाट प्रेरित भई काम गर्नेलाई हतोत्साहि बनाउँदा निश्वार्थ भावले समाजसेवा गर्र्नेको मन कति दुख्यो होला । अनुमान गर्न सक्नुहन्छ । किनकि सामाजिक सेवा गर्नु सानो मन र सोचले हुदैन । त्यो गर्ने र भोगेकोले मात्रै थाहा होला ।
हो हामी सबैले सोचे जस्तो भएको छैन होला, तर अब देशलाई कस्तो बनाउने हो हामीले नै सोचौँ काम गर्न कुनै न कुनै नियम कानुन त चाहिन्छ नै, हामीसंग हामीले बनएको संविधान छ । यसमै टेकेर अगाडि बढैो । यसमा संशोधन गर्नुपर्ने विषयहरूलाई संशोधन गरौँ । व्यवस्था परिवर्तन हैन , नेतृत्व सुधार गर्न लागौ ।अव हरेकद१०÷१० वर्षको आन्दोलन देशले फेरि भोग्नु नपरोस । कसैले बलिदानी दिन नपरोस ।
लेखिका- ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख लेखिका हुनुहुन्छ ।


