
प्रकाश पौडेल, गुलरिया । चैतेधान लगाउँदा खेतबारीमा पानीको अभाव हुन नदिन बर्दियाको गेरुवा गाउँपालिकामा पर्ने कुलोको सरसफाइको काम सुरु गरिएको छ । राजापुर सिँचाइ व्यवस्थापन कार्यालयको सहयोगमा कुलोको सरसफाइको काम सुरु गरिएको हो ।
कार्यालयको सहयोगमा गोला शाखा कुलो जल उपभोक्ता संस्थाले कुलो सरसफाइको काम गरिरहेको छ । प्रत्येक वर्ष कर्णाली नदीको पानीसँगै कुलोमा बालुवा समेत आउने गरेको छ। जसले गर्दा कुलोमा बालुवा थुप्रिने र कुलो साँघुरिँदै जाँदा किसानलाई सिँचाइका लागि पानीको अभाव हुने गरेको थियो ।

राजापुर सिँचाइ आयोजनाअन्तर्गत पर्ने चारवटा प्रणाली सिँचाइ प्रणालीमा थुप्रिएको बालुवा र ढुङ्गा हटाएर नहरमा सहज रूपमा पानी ल्याउन कुलोको सरसफाइ गरिएको कार्यालय जनाएको छ ।
खेतबारीमा पानीको अभाव हुन नदिन हाल गेरुवा गाउँपालिका– ४, राजीपुरदेखि तिनघरुवासम्मको करिब १२ किलोमिटर क्षेत्रको नहरमा सरसफाइ काम अगाडि बढाइएको छ। कुलोमा जमेको माटो तथा अन्य अवरोध हटाएर पानीको बहाव सहज बनाउने उद्देश्यले सरसफाइको गरिएको राजापुर सिँचाइ आयोजनाका कार्यालय प्रमुख प्रदीप बान्तवाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष कुलो सरसफाइको काम हुँदै आएको छ । पहिलो चरणमा गोला शाखा कुलो जल उपभोक्ता संस्थाअन्तर्गत कुलो सफाइ काम भइरहेको छ भने बाँकी कुलोहरूको क्रमशः सरसफाइ गरिनेछ ।’
गोला शाखा कुलो जलउपभोक्ता संस्थाका अध्यक्ष धनबहादुर शाहीले कुलो सरसफाइ भएपछि किसानले भोग्दै आएको सिँचाइ समस्या समाधान गर्न र कर्णाली नदीको पानी खेतबारीसम्म सहज रूपमा पुर्याउन सरसफाइको काम थालिएको बताउनु भयो । उहाँले भन्नुभयो , ‘कुलोमा सरसफाइ सम्पन्न भएपछि पानीको बहाव सहज हुने र किसानलाई खेतबारीमा सिँचाइ सुविधा पुर्याउने गरी काम थालेका छौँ ।’
कुलोको सरसफाइपछि कुलोबाट पानी सहज रूपमा खेतबारी आउने हुँदा चैतमा धान खेती गर्ने किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ।


