
प्रकाश पौडेल, गुलरिया । कहिलेकाहीँ सानो सहयोग पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ। दुःख र अभावमा गुज्रिरहेको परिवारका लागि त्यही सहयोग जीवनको कठिन यात्रा सहज बनाउने आधार बन्छ । बर्दियाका समाजसेवी एवम् नेपाली काँग्रेसका नेता कमलप्रसाद रेग्मीले विपन्न अभिभावक गुमाएका परिवारका बालबालिकाको शिक्षामा पहुँच पुर्याउन गर्दै आएको सहयोग एक उदाहरण हो ।
बाढीमा श्रीमान् गुमाएकी गेरुवा गाउँपालिका –४ गोलाकी रेवन्ती रोकायका चार छोरीको शिक्षाका लागि २०७६ सालबाट उहाँले हरेक वर्ष २० हजार रुपैयाँ सहयोग गर्दै आउनु भएको छ । यस वर्षदेखि गोहीको आक्रमणमा परेर बेपत्ता भएका गेरुवा गाउँपालिका ,४ राजीपुरका विवश थारूकी छोरीलाई पढ्न सहयोग गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बाढीले श्रीमान् गुमाएपछि रोकायको जीवनमा दुःखसँगै आर्थिक संकट पनि थपियो। श्रीमानको मृत्युपछि चार छोरीको पालनपोषण र शिक्षादीक्षा कसरी गर्ने भन्ने चिन्ताले उहाँलाई सताइ रह्यो। परिवारको आर्थिक अवस्था कमजोर हुँदा छोरीहरूको पढाइलाई निरन्तरता दिन समेत समस्या थियो । यही कठिन परिस्थितिमा पाएको सहयोग उहाँका लागि ठूलो सहारा बन्यो।
रोकायलाई समाजसेवी एवम् नेपाली काँग्रेसका नेता कमलप्रसाद रेग्मीले २०७६ सालदेखि हरेक वर्ष आफ्नो जन्मदिनको अवसर पारेर छोरीहरूको शिक्षाका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आउनु भएको छ । नेता रेग्मीले दिएको रकमबाट छोरीहरूलाई आवश्यक पर्ने कापी, कलम तथा विद्यालय पोशाक खरिद गर्न सहज भएको रोकायले जानकारी दिनुभयो ।
‘बाढीमा परेर मेरो श्रीमानको मृत्यु भएपछि हाम्रो परिवारले पीडासँगै आर्थिक अभाव पनि भोग्नुपर्यो। त्यस्तो दुःखको घडीमा रहेको बेलादेखि हालसम्म पनि कमल बाबुले छोरीहरूको शिक्षाका लागि वार्षिक २० हजार रुपैयाँ सहयोग गर्दै आउनुभएको छ,’ रेवन्तीले भन्नुभयो, ‘उहाँको सहयोगले मेरी माइली छोरी अहिले १२ कक्षामा पढ्दै छिन्। साइँली छोरी १० कक्षामा र कान्छी छोरी पाँच कक्षामा अध्ययनरत छिन्।’
श्रीमानको मृत्युपछि छोरीहरूको भविष्यप्रति चिन्तित बन्नु भएकी रेवन्तीका लागि नेता रेग्मीको सहयोग छोरीहरूको पढाइलाई निरन्तरता दिने आधार बन्यो। ‘हुन त आज पनि हामीलाई दुःख नै छ। तर श्रीमानको मृत्यु भएपछि छोरीहरूको पालनपोषण र शिक्षादीक्षा कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको थियो। त्यस्तो अवस्थामा कमल बाबुले गर्नुभएको सहयोग मेरो परिवारका लागि अमूल्य छ,’ उनले भनिन्।
रेग्मीले गरेको सहयोगले रेवन्तीका चार छोरीहरूको पढाइलाई निरन्तरता दिन सहज भएको छ । यसपटकबाट नेता रेग्मीले गेरुवा नदीमा गएको भैँसीलाई फकाउन जाँदा ६ असोज २०८२ मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका गेरुवा गाउँपालिका ,४ राजीपुरका २२ वर्षीय विवश थारूको छोरीलाई माध्यामिक तहसम्म पढाउनको लागि आफूले आर्थिक सहयोग गर्ने भन्दै पीडामा रहेको विवशको परिवारलाई सहयोग गर्न पुग्नुभयो ।
विवश थारूको परिवार यतिबेला दोहोरो पीडामा छ। एकातिर परिवारको सहारा बनेका छोरा बेपत्ता भएको पीडा छ भने अर्कोतिर दैनिक गुजारा चलाउने आर्थिक संकट। गोहीले आक्रमण गरेर विवशलाई बेपत्ता बनाएको घटना भएको लामो समय बितिसक्दा पनि विवशको शव फेला परेको छैन। शव नभेटिएकै कारण परिवारले हालसम्म पनि राहत पाएको छैन् । २०८२ असोज ६ गते विवश गेरुवा नदी किनारमा भैँसी चराउन गएका थिए। चर्दै जाने क्रममा भैंसी गेरुवा नदीमा गएको थियो । नदीमा गएको भैँसीलाई फकाउन खोज्दा गोहीले आक्रमण गरी विवशलाई बेपत्ता बनाएको थियो।

विवश बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था झनै कमजोर बन्यो । विवश गोहीको आक्रमणबाट बेपत्ता भएपछि परिवारले झनै ठूलो संकटको भोग्नु परेको विवशको आमा जलावती थारूले बताउनु भयो । उहाँले भन्नुभयो , ‘आफूसँग भएको जग्गाजमिनमा खेतीपाती गरेर पनि वर्षभरि खान पुग्दैन। दैनिक गुजारा चलाउन कठिन भइरहेको छ । छोरालाई गोहीले आक्रमण गरि बेपत्ता बनायो । मेरो छोरा शब नभेटिएकोले बर्दिया राष्ट्रिय निकुञ्जले राहत दिन मिल्दैन भन्छ । ’
सरकारले सहयोग नगरेको अवस्थामा मेरो नातिनीको शिक्षादिक्षाका लागि नेता रेग्मीले वार्षिक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसै पटक सहयोग गरेको १० हजार रुपैयाँ आफ्नो लागि करोडौं रुपैयाँ भन्दापनी मूल्यवान भएको जलावतीले बताउनु हुन्छ ।
समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता कमलप्रसाद रेग्मीले जन्मदिनमा केक काटेर र अन्य तरिकारले खर्च गर्नुभन्दा पनि दुःख र पीडामा रहेको परिवारलाई सहयोग गर्ने उदेश्यले जन्मदिनको पारेर आफूले सहयोग गदै आएको बताए । उनले भने, ‘ मैले विगत ८ वर्षदेखि बुवा नभएको र परिवारमा अन्य कोही पनि कमाउन व्यक्ति नभएको परिवारको बालबािलकालाई माध्यामिक तहसम्म सहयोग पुग्ने गरी आर्थिक सहयोग गर्दै आएको छु । जसले गर्दा संरक्षक नभएका विपन्न परिवारलाई शिक्षाको पहुँचसम्म जोड्न मतद मिल्छ ।’


