प्रकाश पौडेल/गुलरिया (बर्दिया) । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाई बर्दियाको लगानीमा सञ्चालित आयोजनाहरुको अनुगमन सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नं. १२ का दिलिप कुमार थारुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा दिलिप लघु कृषि तथा पशु फर्मले तरकारी खेती सञ्चालन गर्नुभएको छ । थारुले तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरको बताउनु भयो । थारुले फर्ममा पाँच जनालाई नियमित र अन्यलाई दैनिक रुपमा रोजगारी दिएको बताउनु भयो । थारुले आफूले उत्पादन गरेको तरकारी गुलरिया, मधुवन , बढैयाताल, नेपालगञ्ज, कोहलपुरसम्म जाने गरेको बताउनु भयो ।
गुलरिया नगरपालिका वडा नं. ४ का हरिकला वलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजनाको आर्थिक सहयोगमा सुसन कृषि तथा पशुपंक्षी फर्मले केराको नर्सरीबाट केही समयपछि केराको विरुवा उत्पादनको चरणमा रहेको छ । वलीले केराको विरुवा भारतीय बजारबाट ल्याउँदा कमसल खालको विरुवा आउने भएकोले पनि अब नर्सरीबाट उत्पादन गर्ने साँेचले नर्सरी बनाएको बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय अन्तगर्त केरा जोन समन्वयका अध्यक्ष टंकनाथ योगीले गुलरिया, मधुवन र बाँसगढी नगरपालिका गरी एक सय ६८ हेक्टरमा केरा खेती भइरहेको बताउनु भयो । अध्यक्ष वलीले हावाहुरीले गर्दा धेरै किसानहरुको केराको बोट ढलेर नोक्सान भएको बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन प्रमुख कृष्ण धितालले केरा जोन क्षेत्रको विकास र चक्लाबन्दी प्रोत्साहन गर्न किसानलाई कृषि यन्त्र, सिचाँइ, बेर्ना र प्राविधिक सहयोग कार्यालयले गर्दै आएको बताउनु भयो । प्रमुख धितालले उत्पादनमा बृद्धि गरेर केरामा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको भयो ।
एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालयका प्रमुख बिनोद घिमिरेले बर्दिया जिल्लामा रहेका किसानहरुको ज्ञान र सीप वृद्धि र विकास गर्न कृषक पुस्तकालय तथा ज्ञान केन्द्रको स्थापना गरिएको बताउनु भयो । प्रमुख घिमिरेले ज्ञान केन्द्रमा गएर कृषि सम्बन्धी पुस्तक अध्ययन गर्न सकिने साथै त्यहाँबाट निशुल्क फोन गरेर विज्ञसँग किसानले आफ्नो समस्याको बारेमा सेवा लिन सक्ने व्यवस्था गरिएको बताउनुु भएको छ ।