bardiyahospital

गर्मी बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयकाे निर्देशन

Bidhut Notice

काठमाडाैं । गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा परिपत्र गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न  निर्देशन दिनु भएकाे हाे ।

गर्मीयाम बढेसँगै तराई क्षेत्रलगायत मध्यपहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरोजस्ता रोग एवं विपद्जन्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पुर्‍याउनुपर्ने भएकाले अस्पताललाई आवश्यकताअनुसारको उपचार (औषधि, स्वास्थ्य उपकरण, वातावरणअनुकूल सहितका उपचार कक्ष) तयारी अवस्थामा राख्नसमेत परिपत्रमा भनिएको छ ।

मन्त्रालयले अस्पताललाई रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्वसतर्कता अपनाउन स्थानीय रेडियो, एफएम पत्रपत्रिकामार्फत सूचना सम्प्रेषण गर्नसमेत सुझाएको छ ।

पत्रमा भनिएको छ,  “केही दिनअघि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानी तथा उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएकाले शल्यक्रियापश्चात् तथा अन्य ठूला चोटपटक भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्नाका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई व्यवस्थित गर्नुहुन अनुरोध गरिन्छ ।”
Leave A Reply

Your email address will not be published.