Division forest_Ads
Barista_Training

बर्दियाका आठ पालिका मध्ये गुलरियामा सबैभन्दा बढी घरमै हुन्छन् सुत्केरी

गुलरियामा एक वर्षमा तीन जना आमा र २५ नवजात शिशुकाे मृत्यु

Geruwa GIF

प्रकाश पाैडेल,  गुलरिया । गुलरिया नगरपालिका–१० कालाबन्जरकी २१ बर्षीया शर्मावती तेली शोकमा हुनुहुन्छ । जन्मेको ५ घण्टामा पहिलो सन्तानको मृत्यु भएपछि शोकमा पुग्नु भएकी शर्मावति अझै शोकबाट बाहिर आउन सक्नु भएको छैन ।

गत असार १३ गते साँझ ९ बजे शर्मावतिको एक्कासी पेट दुखेपछि परिवारले उहाँलाई बर्दिया अस्पताल लिएर गएको थियो । अस्पतालमा पुगेर चेकजाँच गरेपछि चिकित्सकले यहाँ उपचार गर्न नसकिने भन्दै उहाँलाई तुरुन्तै नेपालगञ्ज लैजानु पर्ने जानकारी दिएको थियो । शर्मावती भन्नुहुन्छ, ‘साथमा पैसा नभएकाले सोही दिन ११ बजे राती घर फिर्ता आयौ । अर्को दिन घरपरिवारले पैसा खोज्दै हुनुहुन्थ्यो । मेरो पेट दुखाइ झन बढ्यो घरपरिवार, आफन्त र छिमेकी महिलाहरुले मलाई घरमा सुत्केरी गराए । म सुत्केरी भएको ५ घण्टामा छोराको मुत्यु भयो ।’

उहाँलाई सन्तानको मुख पनि राम्रोसँग देख्न पीडा हुने गरेको छ । उहाँ भन्नुहुन्छ, ‘श्रीमान कमाउन भारत जानु भएको छ । सासुले शारिरीक रुपमा कमजोर छौ भन्दै काम गर्न दिनु हुन्न । दिनभर घरमा एक्लै हुन्छु, मनमा अनेक थरि सोचाई आउने गर्छ ।’

शर्मावती झैं अर्को प्रतिनिधि पात्र हुनुहुन्छ  गुलरिया नगरपालिका वडा नं. १० राधाकृष्ण टोलकी २२ बर्षीया करुदिन खान । चैत्र १८ गते व्यथा लाग्यो त्यसपछि गुलरिया ९ मधुरामा रहेको बर्थिङ सेन्टर लिएर करुदिनका श्रीमान सलिम उहाँलाई लिएर जानु भएको थियो ।
सलिम भन्नुहुन्छ, ‘त्यस दिन बर्थिङ सेन्टर बन्द थियोे । घर फिर्ता आएर अस्पताल लैजान पैसा लगायत लताकपडा व्यवस्थापन गर्न लागेको थिए । तर केही समयमा घरमा बच्चा जन्मियो ।’ घरमा बच्चा जन्मिए पनि कुनै अप्रिय घट्ना भएन । आमा र बच्चा सुरक्षित छन् । बच्चा ७ महिनाको भयो । स्वास्थ्य संस्थाबाट नियमित खोप लगाउन लैजाने गरेको सलिम भन्नुहुन्छ ।

स्वास्थ्य कार्यालय बर्दिया पछिल्लो ३ बर्षको तथ्यांक हेर्दा जिल्लामा ४ सय २५ जना घरमा सुत्केरी भएको छन् । जसमध्ये गुलरिया नगरपालिका ३ सय ३० जना (७७.६४%) घरमा सुत्केरी भएको छन् ।

Basgadhi PSA_final

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ चिकित्सक डाक्टर सुभाष पाण्डेले अस्पतालमा हाइरिक्स भएका सुत्केरीको लागि आइसीयु चाहिन्छ तर अस्पतालमा आइसीयु सेवा नहुदाँ जटिल खालका सुत्केरीलाई सुविधा सम्पन्न अस्पतलमा पठाउने गरेको जानकारी दिनु भयो । त्यसैगरी रगतको मात्रा एकदम कम भएका, मुटुमा समस्या भएका, मृगौलामा समस्या भएका सुत्केरी र कहिलेकाँही बेड खाली नभएमा रिफर गर्ने गरेको डाक्टर पाण्डेले जानकारी दिनु भयो । उहाँले चिकित्सक भएपनि अन्य उपकरण नहुदाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

गत आर्थिक बर्ष २०७९÷०८० मा ८४ जना घरमा सुत्केरी भएका मध्ये गुलरिया नगरपालिकामा ७५ जना, आर्थिक २०७८÷०७९मा १ सय २५ जना मध्ये गुलरिया नगरपालिकामा ९२ र आर्थिक २०७७÷०७८ मा २ सय १६ मध्ये गुलरिया नगरपालिकामा १ सय ६३ जना घरमा सुत्केरी भएको स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी कृष्णगोपाल चौधरीले जानकारी दिनु भयो ।

स्त्री तथा प्रसृती रोग विशेषज्ञ डाक्टर राम विश्वास रायले घरमा सुत्केरी हुदाँ रक्तशाव हुने, रक्तअल्पता हुुने, प्रसव  वेदना लामो समय हुने, पाठेघर बाहिर निस्किने, सालनाल अड्किन सक्ने जस्ता समस्या देखिने भएको स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिनु पर्ने बताउनु हुन्छ । त्यसैगरी बच्चा खेल्ने पानीको फोका फुट्ने, बच्चा पेटमा मर्ने, सालनाल काट्दा सक्रमण हुने, जन्मनेपछि बच्चा ढिलो रुने र अक्सिजनको कर्मीले दीर्घकालीन रुपमा शारिरीक र मानसिक रुपमा असर पर्न सक्ने भएकोले घरमा सुत्केरी गराउन नहुने डाक्टर रायकाे भनाइ छ । समयमा स्वास्थ्य संस्थामा ल्याएर सुरक्षित रुपमा सुत्केरी गराउदाँ आमा र बच्चा दुबै सुरक्षित रहने भएकोेले स्वास्थ्य संस्थामा सुत्केरी गराउन पर्ने डाक्टर रायको सुझाव छ ।

स्वास्थ्य कार्यालय सूचना अधिकारी कृष्णगोपाल चौधरीले स्वास्थ्य संस्थामा सुत्केरी गराउदाँ कुनै शुल्क लाग्दैन् , यो बारेका जानकारी नहुदाँ, परिवारको लापवाहीले गर्दा, सुत्केरी हुने मिती थाहा नपाउदाँ, गरिवी, जनचेतनाको अभावले गर्दा घरका सुत्केरी हुने गरेको बताउनु हुन्छ ।

एक वर्षका तीन जना आमा र २५ नवजात शिशुकाे मृत्यु
गुलरिया नगपालिकामा एक वर्षमा ३ आमा र २५ जना बच्चाको मृत्यु भएको छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखाले तीन जना आमा र २५ जना नवजात शिशुको मृत्यु भएको जनाएको छ ।
गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत सुनिल कुमार पाण्डेले गुलरिया नगरपालिकाका वडा नं. ८,९,र १० मा घरमा सुत्केरीमा संख्या बढी रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘अघिल्लो बर्ष ३ वटा वडामा पहुँच पुग्ने गरी २०७९ जेष्ठमा बर्थिङ सेन्टर निर्माण गरेपछि बर्थिङ सेन्टरमा १ सय ५० जना सुत्केरी हुनु भएको छ । घरमा सुत्केरी हुनेको क्रमशः संख्या घट्दै गएको छ ।’ त्यसैगरी सुत्केरीलाई बर्थिङ सेन्टर ल्याउन र समुदायमा जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी, स्वास्थ्यकर्मीको विभिन्न संघसस्थाको सहयोग जनचेतना मूलक कार्यक्रम गरिरहेको जानकारी दिनु भयो ।

जनस्वास्थ्य अधिकृत पाण्डेले स्वास्थ्य संस्थामा सुत्केरी हुदाँ पैसा नलाग्ने भएकोले स्वास्थ्य संस्थाबाट सुत्केरी गराउन आग्रह गर्नु भयो । उहाँले आर्थिक अभाव भएका विपन्न परिवारलाई प्रसृती सेवा (सुत्केरी) सेवा लिन जान पालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.