कृष्णसार अनलाइन, गुलरिया । राजापुर नगरपालिकाले बेपत्ता परिवारका महिलालाई मासिक जीवन निर्वाह भत्ता दिदै आएको छ । द्वन्द्वका समयमा श्रीमान् गुमाएका महिलालाई जीवन निर्वाह भत्ता दिदै आएको हो
द्वन्द्व क्रममा राज्य र विद्रोही पक्षबाट विभिन्न व्यक्तिहरूलाई बेपत्ता पारिएका छन् । बेपत्ता पारिएको व्यक्तिहरूको अवस्था सार्वजनिक नहुदाँ परिवार अझै पीडा भोग्नु परेको छ । भने कतिपय परिवारले बेपत्ता पारिएका आफ्नो परिवारको सदस्य आउने आशमा रहेको छन् ।
द्वन्द्वको समयमा राजापुर नगरपालिकाको विभिन्न वडाबाट ३४ जना बेपत्ता भएका त्यसमध्ये श्रीमान् बेपत्ता भएर र अर्को विवाह नगरेका १६ जना महिलालाई पालीकाले मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले पालिकाले शहीद तथा बेपत्ता परिवारको जीविकोपार्जन गर्नका लागि गर्त आर्थिक वर्षमा २०७९÷०८० मा ३५ लाख रुपैयाँ रकमबाट २० जनालाई दुई दुई वटाको दरले पाडी र १५ जनालाई पाँच वटा बाख्रा र प्रतिपरिवार एक गोठ उपलब्ध गराएको जानकारी दिनुभयो । यस वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा बिमा सात लाख , शहीद तथा बेपत्ता परिवारको ३५ लाख र बेपत्ता परिवारको मासिक जिविकोपार्जन भत्ताको लागि १० लाख रुपैयाँ बजेट छुट्टाइएको बताउनु भयो ।
नगरपालिकाकी उपप्रमुख मनकला चौधरीले श्रीमान् बेपत्ता भएका महिलाहरूले विधवा भत्ता नपाउने भएकोले पालिकाले ‘जीवन निर्वाह भत्ता कार्यविधि २०७९’ निमार्ण गरेर भत्ता दिन थालिएको बताउनु भयो । उहाँले गत वर्ष पनि सहिद तथा बेपत्ता जीविकोपार्जन सम्बन्धी कार्यक्रम गरिएको थियो, त्यसलाई यस वर्ष निरन्तरता दिएको बताउनु भयो ।
राजापुर नगरपालिकामा शहीद तथा बेपत्ता परिवारको गरी एक सय सात जना रहेका छन् ।जसमा शहीद ७३ जना र बेपत्ता ३४ जना रहेका छन् ।