हामीले वृक्षारोपण, वनसंरक्षण गर्नुका साथसाथै विश्व समुदायसँग नेपाल जस्तो मुलुकहरूले माग दाबीका आवाजहरू बुलन्द गर्नुपर्छ । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आफ्ना अधिकार दाबी गर्नसक्ने हिम्मत हाम्रा नेतृत्वले राख्न सक्नुपर्छ यसमा आम जनताले साथ दिनुपर्छ । वनजंगल, वातावरण, पर्यावरणको संरक्षण साथसाथै अन्याय विरुद्धको आवाज पनि उठाउँदै जानुपर्छ ।
जीतराम चौधरी
मधुवन न.पा. ९, धर्मबस्ती बर्दिया
तापक्रम बढेसँगै अहिले मानव जगत मात्र नभइ सबै प्राणीहरू अत्यधिक गर्मीका कारण तड्पिरहेको सर्वविदितै छ । नचिताएको गर्मीका कारण अहिले हाय गर्मी, तापक्रम यति पुग्यो, यस्तो हालत छ यस्तै यस्तै मौन चित्कारहरू सामाजिक सञ्जालमा चित्रात्मक, लेखात्मक रुपमा सर्वत्र पोखिदैछन् । यसको मुख्य कारण विश्वव्यापी वाष्पीकरण नै हो सबैलाई थाहा छ । मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यास र ओजोन तहको विनाश गर्ने क्लोरोफ्लोरो कार्बनका कारण पृथ्वीको तापक्रम वर्षेनी बढिरहेको छ ।
हरितगृह ग्यासको प्रमुख कारण वनजङ्गलकाे विनाश, कोइला/खानीजन्य इन्धनको अत्यधिक प्रयोग र औद्योगीकरण नै हो । प्राकृतिक श्रोतको चरम दोहनका परिणाम वर्तमान अवस्थामा भोग्नु परेको छ र भविष्यमा यसले विकराल परिस्थिति सिर्जना हुन्छ भन्ने कुरा निश्चित छ भन्दा पनि फरक नपर्ला । प्राकृतिक श्रोतको अत्यधिक प्रयोग गर्ने विकसित कहलिएका औद्योगिक राष्ट्रहरूले प्राकृतिक श्रोतको चरम दोहन गरेको कारण आज नेपाल जस्ता कम विकसित र अल्पविकसित देशले पनि यसबाट उत्पन्न भएको समस्यालाई भोग्नु परिरहेको छ जब कि हरितगृह ग्यास कुल उत्सर्जनमा नेपालको हिस्सा नगन्य मात्रा ( ०.०२५ प्रतिशत ) छ अनि नेपालले कुल क्षेत्रफलको झण्डै आधा भूभागमा वनजंगल संरक्षण गरेर वातावरण संरक्षणमा ठुलो योगदान गरिरहेको छ ।
यति गर्दापनि वर्तमान समयमा हामी नेपालीहरू विशेष गरेर गरिबीमा रहेका सीमान्त मानिसहरूको दैनिकी नराम्रोसँग प्रभावित भइरहेको छ । अत्याधिक गर्मी र अनुकुलित संरचनाको अभाव कारण विद्यालयमा पठनपाठन हुन सकिरहेको छैन, खडेरीका कारण कृषकहरूले खेती लगाउन पाएका छैनन् खेतीयोग्य जमिन मरुभूमि जस्तो हुँदैछ । निकै संघर्ष गरी लगाएका बालीनाली सुकेर उत्पादन घट्ने र खाद्य संकट हुन सक्ने समस्या, कतिपय स्थानमा पानीका मुहान, धाराहरूमा पानी नआउने अवस्थामा छन्, मजदुरहरू टन्टलापुर घाममा काम बाध्यछन् । हरेक वर्ष अस्वभाविक विपत्ति ( सुक्खा पहिरो, भारी वर्षा असिना–पानी, बाढी पहिरो, आँधीहुरी) जस्ता विपदबाट क्षति व्यहोर्न परिरहेको छ । यस वर्ष पनि १८ लाख भन्दा बढी मानिस वर्षामा प्रभावित हुने अनुमान गरिएको छ । त्यसैगरी प्रदुषणका कारण किसिमका स्वास्थ्य समस्या … यस्तै यस्तै भुमरीमा रुमल्लिरहनु परेको छ । विभिन्न किसिमका प्रकोपबाट गरीब, सीमान्त मानिसहरू अझ बालबालिका, ज्येष्ठ नागरिकहरू बढी प्रभावित भइरहेका छन् । किनभने बढ्दो प्राकृतिक प्रकोप (विपत्ति) थेग्ने, त्यसको प्रभाव कम गर्ने संरचना छैन, हामीमा उत्पादनशीलता छैन । उता औद्योगिक राष्ट्रहरूले प्राकृतिक श्रोतको चरम दोहन गर्दै वातावरणको नास गर्दैछन् उनीहरु वातावरणको प्रदुषणको प्रभाव थेग्न सक्षम छन्, भौतिक संरचना, प्रयाप्त मात्रामा छन् ।
विकसित र अविकसित राष्ट्रको अवस्थालाई तुलना गरौँ । प्राकृतिक वातावरणमा खलल पुर्याउने ग्यास उत्सर्जन गर्ने राष्ट्रमा त्यति प्रभावित छैन जति प्राकृतिक वातावरणको संरक्षण गर्ने नेपाल जस्तो राष्ट्र प्रभावित भएको छ । फलस्वरुप औद्योगिक राष्ट्रहरूलाई अझ फलिफाप हुदै र कमजोर राष्ट्रको अवस्था दिनानुदिन नाजुक हुँदैछ । अर्थात् अल्प/अविकसित राष्ट्र (हामी) अवश्य पनि अन्यायमा छौं । हामी माथि अन्याय हुँदैछ, हामीलाई न्याय चाहियो । हामीले बेहोर्नु परिरहेको असर, नोक्सान/क्षतिको पूर्ति अब विकसित औद्योगिक राष्ट्रहरूले दिनुपर्छ । हामीले वृक्षारोपण, वनसंरक्षण गर्नुका साथसाथै विश्व समुदायसँग नेपाल जस्तो मुलुकहरूले माग दाबीका आवाजहरू बुलन्द गर्नुपर्छ । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा आफ्ना अधिकार दाबी गर्नसक्ने हिम्मत हाम्रा नेतृत्वले राख्न सक्नुपर्छ यसमा आम जनताले साथ दिनुपर्छ । वनजंगल, वातावरण, पर्यावरणको संरक्षण साथसाथै अन्याय विरुद्धको आवाज पनि उठाउँदै जानुपर्छ । पृथ्वीमा जीवन र जगतको अस्तित्व जोगाउने दिगो उपाय भनेको नै प्राकृतिक संरक्षण हो यसको अर्को विकल्प क्षणिक होला तर दिगो हुनसक्दैन भन्ने कुरा विश्वको आममानव जगतले बुझ्न जरुरी छ । विगत जस्तै यसवर्ष पनि “हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने नारा अन्तर्गत मरुभूमिकरण र खडेरी प्रतिरोध र भूमि पुनःस्थापनामा केन्द्रित भई विश्व वातावरण दिवस मनाइँदैछ ।