यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाले १० बर्षे शैक्षिक योजना सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले १० बर्षको शिक्षा क्षेत्र योजना, बारबर्दिया गौरव स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरीको विमोचन गरेको हो ।
१० बर्षे शिक्षा क्षेत्रको योजनामा आगामी १० बर्षमा बारबर्दियाको शैक्षिक क्षेत्रमा के कस्ता कार्यक्रम गर्ने , कस्तो नीति बनाउने, के कति बजेट विनियोजन गर्ने र कुन कुन शैक्षिक सुधारका कार्यक्रम गर्ने भन्ने बारेमा समेटिएको छ । त्यसैगरी योजनामा शैक्षिक बर्ष २०८७ सम्म शिक्षाका सम्पुर्ण सुचकहरुलाई शतप्रतिशत सम्म पुर्याउने लक्ष्य राखिएको छ । स्थानीय सरकारले शिक्षा क्षेत्रको १० बर्षे योजना बनाएको नेपाल कै पहिलो भएको दावी बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रममा कक्षा १, २, ३ र ६ को बारबर्दिया गौरव नामक स्थानीय पाठ्य पुस्तक पनि विमोचन गरीएको छ । बारबर्दिया नगरपालिकाको वस्तुस्थिती, कला सँस्कृति रहन सहन लगाएतका विषय वस्तू समेटेर केही समय अगाडी पाठ्यक्रम सार्वजनिक गरेको नगरपालिकाले सोही पाठ्यक्रममा आधारीत रहेर पाठ्यपुस्तक निर्माण गरेको हो । यता शिक्षकहरुलाई शिक्षण गर्न सहज र व्यवस्थीत गराउनका लागि शिक्षक डायरीको निर्माण गरी विमोचन गरीएको छ ।
विमोचन कार्यक्रमको भर्चुअल माध्यमबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शैक्षिक क्षेत्रमा बारबर्दिया नगरपालिकाले गरेको योगदान सह्रनिय रहेको बताउनु भयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा बारबर्दिया नगरपालिकाले नयाँ नीति ल्याएर प्रदेश कै मान बढाएको बताउनु भयो ।
नगरप्रमुख थारुले बारबर्दियाको १० बर्षे योजनाले नेपाल भरी कै शिक्षा क्षेत्रमा कोशेढुङ्गाको काम गर्ने बताउनु भयो । उहाँले शैक्षिक विकास नै विकासको पहिलो खुड्किलो भएको बताउँदै समाज निर्माणमा यसले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।नगरप्रमुख थारुले बारबर्दिया मात्रै देशको शिक्षा क्षेत्रमा २३ प्रतिशत भन्दा बढि शिक्षा क्षेत्रमा बजेट छुट्याउने पहिलो नगरपालिका भएको बताउनु भयो ।