नारायण गाउँले । सुन्दै रोचक लाग्ने ! हिजो शनिवार लण्डनमा पूर्णबहादुरको सारङ्गी हेरियो ! ह्या, नेपाली मुभी त हो नि, त्यहीँ पुगेर टिकट काटे पनि हुन्छ भन्ने नजानिँदो उपेक्षाभाव र जे पनि ‘लास्ट-आवर’ नभई नगर्ने दीर्घरोगले गर्दा दिउसोको शो छुट्यो !
बेलुका पनि जान खोजे- जतिलाई टिकट पाउन मुस्किल भयो । हलिउडदेखि बलिउडसम्म विश्वका उत्कृष्ट चलचित्रहरूको समेत पहिलो प्रदर्शन हुने बेलायतमा यति धेरै हल र एउटै हलको तीन-चार वटा स्क्रिनमा नेपाली सिनेमा चलेको यो पहिलोपल्ट हुनुपर्छ ! एउटै हलको एक भन्दा बढी पर्दामा चलचित्र चलेकाले सिङ्गो हल नेपालमय थियो । हल वरपरका नेपाली रेस्टुरेन्ट पनि भरिभराउ थिए !
विज्ञ र सूक्ष्मदर्शक समीक्षकहरूले चलचित्रमा हामीले भन्दा पक्कै धेरै कुरा देखे होलान् । कति उज्याला र अँध्यारा पाटोबारे लेखे पनि होलान् । तर सात समुद्रपारि त्यस्तो अद्भुत ‘एम्बीएन्स’मा सुरुदेखि नसकिन्जेलसम्म पर्दाबाट आँखा नहटाई विशुद्ध दर्शक बनेर कुनै सिनेमा हेर्नु र त्यसबारे केही लेखौँ लेखौँ हुनु पनि सफलताको एउटा झिल्को त होला नै ।
हेरेसम्मकै उत्कृष्ट सिनेमा थिएन त्यो । ठूलो बजेट र अत्याधुनिक प्रविधिको चकाचक पनि थिएन त्यसमा । बिल्कुल फरक र मौलिक कथावस्तु पनि होइन त्यो । कुनै नवीन प्रयोग, सन्देश या अतुलनीय मिहिनेत पनि त्यहाँ थिएन । एउटा अतिविपन्न र जातीय उत्पीडनमा रहेको अशिक्षित बाबुले आफ्नो सन्तानलाई पढाउन र लायक बनाउन गरेको मार्मिक सङ्घर्षमा हजारौं साहित्य कोरिएका होलान् ।
सबै कुराले औसत सिनेमा नै थियो पूर्णबहादुरको सारङ्गी !
तर, जीवन पनि त औसत नै हुन्छ ! औसत जीवन पनि उत्तिकै सुन्दर हुन्छ । औसत जीवन पनि देखिएजस्तै रेखीय या क्लिसे हुन्छ भन्ने हुँदैन । त्यसका पनि आफ्नै उतारचढाव र विशेषता हुन्छन् । हजार परिकार हुन्छन्, तर औसत दालभात तरकारी पनि कम मिठो र पोसिलो हुँदैन । यो सारङ्गी औसत भएरै सुन्दर थियो । चिनेचिने जस्तो कथा, भेटेभेटे जस्ता पात्रहरू, देखेदेखे जस्तो परिवेश, खोटरहित अभिनय, थोरै हास्य, अलिकति भावुकता, कथाको अनुमान गर्न सकिने विकास, मधुर सङ्गीत अनि आममान्छेको प्रेम, पीड़ा र खुशी ! औसत सिनेमा यस्तै त हुन्छन् !
साह्रै निम्नस्तरका दुई अर्थी डाइलग र दृश्य आजभोलि नेपाली सिनेमाको स्थायी गुण जस्तै छ । नचाहिने र कुनै सन्दर्भ नभएका ठाउँमा समेत त्यस्तो छिचरो संवाद भेटिन्छ । एज-रेटिङ् एउटा कन्टेन्ट अर्कै !
छोराछोरीलाई आड़मा राखेर यो सारङ्गी हेर्दै गर्दा पनि मनमा डर थियो तर त्यस्तो भएन । मन फुरुङ्ग भयो !
ग्रामीण परिवेश र दैनन्दिन क्रियाकलापमा आधारित चलचित्रमा धेरै जसो दृश्य ‘जेनेरिक’ जस्ता र पट्यारलाग्दा हुन्छन् । खासगरी नयाँ पुस्ताका दर्शकका लागि । तर हिजो कुनै दृश्य अर्घेलो लाग्ने या झ्याउ लाग्ने खालको थिएन ।
सिनेमाको उद्देश्य मनोरञ्जन नै हुन्छ । पढ्न र सिक्न धेरै मान्छे हलमा जाँदैनन् । सिनेमा मनोरञ्जक छ । सुरुदेखि अन्त्यसम्म बाँध्न सक्नु एउटा सिनेमाको सफलता नै हो ! सबैभन्दा ठूलो र सार्थक क्रान्ति शिक्षा नै हो भन्ने स्थापित मतलाई सिनेमाले समर्थन गरेको छ ।
सिनेमाको अब्बल पक्ष शायद अभिनय नै हो । विजय बरालको क्षमतालाई निर्देशकले ठूलो न्याय गरेका छन् । बरालले पूर्णेको चरित्रलाई साँच्चै जीवन्त बनाइदिएका छन् । सँगसँगै अन्यको अभिनय पनि खोटरहित छ ।
केही सूक्ष्मदर्शक विश्लेषकहरूले ‘आमाको भूमिका’ लाई माइनस गरिएकोमा असन्तोष राख्नुभएको पढेको थिएँ । बाबुको सङ्घर्षलाई मात्रै एकतर्फी चित्रण गरिएको भन्ने रहेछ । एउटा सिनेमा आफैमा संविधान त होइन । पाठ्यपुस्तक पनि होइन । सिनेमाले एउटा सामाजिक पक्ष उठाउने र त्यसमा कथा भन्ने हो । सबै पक्ष समेट्ने हो भने त बाँकी अरू सिनेमा किन बनाउने ? त्यसमाथि यो सिनेमामा छोराले आमाकै जोड़बल र सपनाको बाटो पछ्याएको छ । आमाको भूमिकामाथि घृणा या रिस उठ्दैन । तराजू बोकेर हल जाने हो भने त धेरै कुराको तौल मिल्दैन ।
पूर्णबहादुरको सारङ्गी सिङ्गो नेपाली सिनेमा जगत् को व्यावसायिक सफलतामा कोसेढुङ्गो बनोस्, थप शुभकामना !