

सहरको गल्लीमा धुवाँ मात्र छैन,
आशाहरू पनि आजकाल जल्दैछन् ।
तेलको थोपा–थोपा महँगो हुँदै जाँदा
मानिसका सपना सस्तो हुँदैछन्।
भान्साको चुलोले सोध्छ,
‘मेरो आगो किन यति भारी भयो
उत्तरमा मौनता छ,
रित्तिएको ग्यासको सिलिण्डरजस्तै।
बाहिर सहर चल्छ,
भित्र मन रोकिन्छ ।
एक लिटर तेलको मूल्यमा
कति आँसु मिसिएको छ, कसले गन्छ ?
हामी त सडकका यात्री,
पाइलामा धुलो, आँखामा प्रश्न लिएर,
कसले बढायो यो आगो ?
र किन हाम्रो जिन्दगी जल्दै गयो र ?
प्रधानमन्त्रीको समुहले चलाउने फेसबुकमा,
विकासको उज्यालो झल्काइन्छ ।
तर हाम्रो कोठामा
अन्धकारको मूल्य पनि बढेको छ।
रात गहिरिन्छ,
तर निद्रा आउँदैन,
किनकि भोलिको बिहान
फेरि महँगो भएर आउँछ।
तर पनि
यो पीडाभित्रै एउटा विश्वास बाँकी छ
कि कुनै दिन
मान्छेको पसिनाले बजार जित्नेछ
र आगो फेरि
रोटी पकाउने मात्र हुनेछ
जिन्दगी जलाउने होइन।


