
राजेन्द्रप्रसाद धिताल । एक दिन हाम्रो ओटालोमा धेरै मान्छे जम्मा भएका थिए ।कोही उमेर ढक्लेका अग्रजहरू थिए ।कोही युवाहरू थिए ।म लगायत केही केटाकेटीहरू चासो दिएर कुरा सुन्दै थियौ ।मुग्लानतिर जाने कुरा चलिरहेको थियो। भोलिबाट मुग्लानतिरको यात्रा सुरु हुने हुँदा तयारीको छलफल हुदै थियो। हाम्रो घरबाट बज्यु, म र कान्छो बुबा जाने भयौं ।अरु गाउँलेहरू पनि हामीसँगै जाने रहेछन् ।मलाई अचम्म लागिरहेको थियो।
आखिर के छ्र र हाटमा ? के हो यो हाटमा ? हाट कस्तो होला ? मेरो मनमा जिज्ञासाको हुरी चल्न थाल्यो ।केही समयपछि सबै मान्छेहरू आआफ्ना घरतिर गए ।भोलि हिड्ने कुरा सुनिश्चित भयो। मेरो मनमा भने छटपटी थियो ,जिज्ञासा थियो ,अन्योल थियो ।कसलाई सोधेर आफ्नो जिज्ञासाको तिर्खा मेट्ने ? आमा अनभिज्ञ हुनुहुन्थ्यो । बुबा घरमा हुनुहुन्न्थ्यो। बालसाथीहरु सबै मजस्तै थिए । बज्युलाई बारम्बार सोधेर हैरान पार्थे, मलाई असाध्यै माया गर्ने भएर पनि बज्यू यो विषयमा जवाफ विहीन थिइन् किनभने उनले पनि हाट देखेकी थिइनन् ।पहिलेपहिले ओछ्यानमा मलाई भेडा चराउन दैलेख ,दुल्लु र सुर्खेतको डाँडासम्म पुगेको अनुभव सुनाएकी थिइन् ।अहिले हामी जान लागेको धेरै तलको ठाउँ थियो ।त्यो ठाउँ बज्यूले पनि देखेकी थिइनन् ।अन्ततः मैले जेठा बासग आफ्नो जिज्ञासा राखे ।

मेरा जेठाबा निकै असल र मायालु थिए । तिनको बोलीमा मिठास थियो ।जेठाबा मलाई धेरै माया गर्थे । कहिलेकाँही म्वाई खाने बेला दाह्री गालामा घोटि दिने हुनाले म अलि तर्केर हिड्थे। जेठा बाले जीवनका धेरै बसन्त भोट मधेस एकान्त गर्दै बिताएका थिए। कुरा सुन्दा मलाई जेठाबा त मुग्लानका बारेमा सबथोक जन्ने रहेछ जस्तो लाग्यो। धेरै कथाहरू जेठा बाका स्मृतिमा सङ्ग्रहित छन् झैँ लाग्न थाल्यो ।।त्यस दिन जेठा बाले मसँग केही मुग्लानका कथा सुनाएका थिए ।मुग्लान टाढाको ठाउँ हो, त्यो परदेश हो भने जेठा बाले। मुग्लानका मान्छेले बोलेको बिझिदैन, लगाउने लुगा अर्कै हुन्छन् ।डाँडाडाँडा हुँदैनन् सबैतिर मैदान मात्र हुन्छ ।
जेठा बाले मैदान मात्र हुन्छ भन्दा मलाई घाम डुब्दा कसरी डुब्छन् होला भन्ने लाग्थ्यो ।मुग्लानका हातहरूमा झिलिमिली हुन्छ भने जेठा बाले ।मैले कसरी झिलिमिली हुन्छ ठम्याउन सकिन ।मधेसमा बर्दिया भन्ने ठाउँ छ। कैलाली छ त्यहाँ बेलुवापूर गाउँ त्यहाँ थारूहरूको बस्ती छ ।जेठा बाले मलाई बताएका थिए। बेलुवापुरमा जेठा बाका एकजना मित छन् अरे ।हाट गएपछि जेठाबा त्यहीँ बस्छन् अरे। मुग्लानमा चिसो हुदैन ,हिउँ पर्दैन र कोही पनि फाटेका लुगा लगाउँदैनन्।
मुग्लानमा भातैभात मात्र खान पाइन्छ ,मुग्लानको भात त सेतो हुन्छ आदि आदि धेरै कुराहरू जेठा बाले मलाई सुनाए ।जेठा बाले सुनाएका कथाहरू मलाई एकादेशका कथाजस्तै लागे ।जेठाबाले जति बुझाएर भने पनि मेरो बालमष्तिकमा मधेसको चित्र बस्न सकेन।साझ पर्यो।छिमेकी कान्छो हजुरबुबा बस्न आएका थिए ।उनी गाउँका मुखिया थिए ।गाउँलेहरु उनलाई काण्ठा मुखिया भनेर चिन्थे।मधेसमा अपनाउनु पर्ने सावधानी बारे उनी अर्ती दिन थाले ।त्यो साझ हाम्रो पूरा परिवार गम्भीर थियो ।ठूलो परिवार जम्मा भएको थियो ।तिनजना फुपूहरु आएका थिए ।जेठाबा ,जेठीआमा र उनका छोराछोरीहरू ,आमा ,साहिलोबुबा ,कान्छोबुबा र अरु छिमेकी कान्छाबाबाहरु आएका थिए ।भोलि मुग्लान हिड्ने तयारी छ।पुरुषहरु गफिदै छन् ।महिलाहरु सामल तयार गर्दैछन् ।बाटोभरि नास्ताका रूपमा खाने चिउरा र फापरको बाक्लो रोटी डेस्सु तयार गरिएको छ।
चामल र पिठोको भारी तयार हुदैछ ।बाटामा ओढ्ने ओछ्याउने बिस्तारा तयार गरिदैछ,एकातिर तयारीको सिलसिला जारी छ,अर्कोतिर घरमा गहिरो वेदना गुम्सिएको छ।म मुग्लान जाने कुराले मेरी आमाको हृदयमा वेदना छ,आमा मलाई अगालोमा हाल्छिन र घुक्कघुक्क रुन्छिन।बज्यु मधेस झर्ने कुराले फूपूहरु दुखी छन् ।धेरै टाढा जाने हुन् ,कहाँ हो कहाँ थाहा छैन ,धेरै घाट तर्नु पर्ने ,धेरै पहाड छिचोल्नु पर्ने ,बाच्ने हुन कि मरिजाने हुन् थाहा छैन ।कहिले फर्कने हुन ?फर्कन सक्ने हुन कि हैनन केही थाहा छैन ।मेरो मन विचित्र रुपले विभाजित छ,एकातिर हाट जान पाउने ,झिलिमिली देख्न पाउने खुसी ।अर्कोतिर आमा लगायत धेरै प्रिय कुराहरू छोडेर जानुपर्दाको वेदना ।
रातभर मनमा कुरा खेलिरहे।छ्टपटी लागिरह्यो।म सधै बज्युसग सुत्थे।त्यो दिन आमासँग सुते।म सुत्न सकेको थिएन ,राति बीचबीचमा आमा मलाई म्वाई खान्थिन र रुन्थिन।आमाको त्यो गहिरो पीडा म त्यतिबेला महसुस गर्न सक्दैनथे।म बज्यूसग जाने हुनाले त्यतिधेरै व्यथित चाहि थिएन ।त्यो रात घरका कोही पनि राम्रोसँग सुतेनन।
बिहान भयो ।पूर्वमा झलमल्ल घाम लाग्यो।म घरको छत अर्थात थाडामा गए।पारिबाट राजकन्न्या फुपूले खेल्न आइजा भनेर बोलाइन,परबाट बुद्धि दाइले खेल्न बोलायो ,म कतै गइन।मैले पूरै गाउँ हेरे ।खोलारुख हेरे।नानीखोला हेरे ।तल हिमा नदी हेरे।कहिले बज्यूसग त कहिले फुपूहरुसग गाइ चराउन गएको कोटडाडो हेरे,साइकुरको चौर हेरे ।एकपटक पारि मामाको गाउँ हेरे।यी सबैलाई छोडेर जानुपर्छ भन्ने विचारले मन एकतमासले दुखेर आयो।अनायासै मेरा आखाबाट आसु झर्न थाले ।
हिड्ने तयारी अन्तिम चरणमा पुगेको थियो ।हतार हतार खाना खायौं ।बिदाइमा टिकाटालो गर्यौ र घरबाट निस्कियौ।अरु घरबाट पनि हाट जानेहरु निस्के ।मुग्लान जानेहरु र बिदाइ गर्नेहरू हिमानदीको किनारमा जम्मा भए ।हिड्ने बेला हुन थाल्यो ।विछोड हुने सुनिश्चित भएपछि अब आमा ,फूपू लगायत गाउँका सहृदयी महिलाहरु डाको छोडेर रुन थाले ।हामी हिडिरह्यौ,हिमाको स्वरसगै रुने नारीको वेदना सुसाइरहेको थियो ।म पनि रुदै बज्यूको पिठ्युँमा थिए ।हामी टाढा पुगेका थियो तर पनि मेरा कानमा त्यो रोदन गुन्जिरहेको थियो।


