प्रकाश पौडेल, गुलरिया । एक्कासि हातखुट्टा, छाती, पेट, ढाडमा कडा खालको दुखाई भएपछि तत्काल उपचारका लागि बारबर्दिया नगरपालिका–७, रम्मापुरमा ४० वर्षीय मोहनलाल चौधरी अस्पताल जानुभयो ।चौधरीलाई कति बेला अस्पताल लैजानु पर्छ परिवारलाई थाहा छैन ।
सामान्य रूपमा जीवनयापन गर्दै आउनु भएको चौधरीलाई सिकलसेल एनिमिया रोग देखिएपछि उहाँको दैनिकी फेरिएको छ । दैनिक काममा कमाउन जाने चौधरी अहिले प्राय घरमा नै बस्नुहुन्छ । स्वास्थ्यमा समस्या आएपछि परिवारले आर्थिक समस्या सामना गर्नुपरेको छ । चौधरी भन्नुहुन्छ – ‘सरकारले कमैया नाममा दिएको पाँच कठ्ठा जग्गा छ । त्यसैमा सानो घर बनाएर बचेको जग्गामा खेती गर्दै आएको छु । पाँच जनाको परिवार छ । स्वास्थ्यमा समस्या भएपछि धेरै ठाउँमा उपचारको लागि गएँ । अन्तमा सिकलसेल रोग लागेको थाहा भयो । सिकलसेल रगतबाट सर्ने भएकोले अहिले एक छोरामा सिकलसेल बाहक र अर्को छोरा थालेसिमिया बाहक रहेको छ ।’
प्रत्येक महिना स्वास्थ्य परीक्षण गर्न भेरी अस्पताल, नेपालगञ्जमा जाने गरेको चौधरीको भनाइ छ । अस्पतालमा बिरामीको सङ्ख्या बढी भएर पनि सजिलै पालो पाउन गाह्रो हुने गरेको उहाँले उल्लेख गर्नुभयो । घर नजिक अस्पताल बन्दै छ भन्दा खुसी लागे पनि उपचार सेवा सुरु नभएर नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । सिकलसेल एनिमिया रोगको उपचार
स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने उहाँको माग छ ।
त्यसैगरी बारबर्दिया नगरपालिका–८, औरीको १३ वर्षीया पन्सुन थारुलाई सिकलसेल एनिमिया रोग लागको छ । चार वर्षको उमेरदेखि सिकलसेलको नियमित उपचार गराउन थालेको पनि नौ वर्ष भएको छ ।उहाँले भन्नुभयो – ‘अस्पताल गएर चेकजाँज गर्दा शरीरमा रगतको अभाव हुन्छ । रगत चढाउँदा कहिलेकाहीँ शरीर चिलाउने जस्ता समस्या देखा पर्छ । रगत चढाउन देखिएको समस्या निको हुन तीनदेखि नौ दिनसम्म अस्पतालमा बस्नुपर्छ । अस्पतालमा बस्दा पैसा खर्च हुन्छ । बुबा आमाले मेरो उपचार गर्न ऋण लिनु भएको छ । बारबर्दिया सिकलसेल अस्पताल बन्छ भनेको सुनेको थिएँ । कम्तिमा नेपालगञ्ज जाँदा लाग्ने खर्च कम हुन्छ । बुबा आमालाई आर्थिक बोझ कम हुन्छ ।’
सिकलसेल रोग लागेपछि जीवनभर उपचार गर्नुपर्छ । सरकारले उपलब्ध गराएको एक लाख रुपियाँले जीवनभर उपचार गर्न नपुग्ने थारुको भनाइ छ । सिकलसेल रोगीको पीडा सरकारले बुझ्न नखोजेको सिकलसेल रोगका बिरामीहरूको बुझाइ रहेको छ ।
बर्दियाका ६ सयभन्दा बढीमा सिकलसेल एनिमिया रोगको बिरामी रहेको सिकलसेल एनिमिया सोसाइटी नेपालका अध्यक्ष प्रभुराम चौधरीले जानकारी दिनुभयो । उहाँले बर्दियामा सिकलसेलको बिरामी कति छन् भन्ने एकिन नभए पनि संस्थासँग जोडिनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको बताउनु भयो ।सिकलसेल एनिमिया रोगको अस्पतालमा सञ्चालन नहुँदा बिरामीलाई सास्ती भएको छ ।
बर्दिया अस्पतालका मेडिकल अधिकृत मनोज कुमार तिमिल्सिनाले सिकलसेल एनिमिया रोग वंशानुगत रूपमा सर्ने रगत सम्बन्धी सरुवा रोग भएको बताउनु भयो । उहाँले सिकलसेल रोग लागेपछि रातो गोलाकार रक्तकोषिकाहरू परिवर्तन भइ हँसियाजस्तै आकारमा रगत परिवर्तन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सिकलसेल रोग लागेका बिरामीको शरीरले रातो रक्तकोष निर्माण गर्न नसक्ने हुँदा बिरामीलाई रगत चढाउनु पर्ने हुन्छ । बिरामीले समय समयमा रगत जाँच गरेर चिकित्सकको सल्लाह बमोजिम रगत चढाउने तथा औषधि खानुपर्ने हुन्छ ।’ सिकलसे रोगका बाहकमा स्वास्थ्य समस्या नदेखिए पनि पछि विवाह गर्दा छोराछोरीमा सिकलसेल देखा पर्ने सम्भावना हुन्छ । बिरामीले सिकलसेल र थालेसिमियामा रोग छ वा छैन पहिचान गरेर कुण्डली मिलान गरे मात्र विवाह गरेमा रोगलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनु भयो ।
बारबर्दिया नगरपालिकाका निवर्तमान नगर प्रमुख दुर्गाबहादुर थारुले सिकलसेल रोग थारु समुदायको प्रमुख स्वास्थ्य समस्या भएको विज्ञहरूबाट थाहा पाएपछि विगतमा सिकलसेल अस्पताल बनाउने काम अगाडि बढाइएको बताउनु भयो । उहाँले सङ्घीय स्वास्थ्य ऐनमा २५ शैयाको अस्पताल स्थानीय तहले निर्माण र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हुँदा अस्पतालले बनाउन ढिला नगर्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘सिकलसेल रोगको उपचार केन्द्र (अस्पताल) बनाउनका लागि भवन निर्माण गरिएको भए पनि अहिले स्थानीय तहले थप बजेट नछुट्याउँदा अस्पताल सञ्चालन हुन सकेको छैन । स्थानीय तहले सङ्घ र प्रदेश सरकारसँग निरन्तर समन्वय गरेर वा स्थानीय तह आफैले पनि बजेट व्यवस्थापन गरेर अस्पताल सञ्चालन गर्नुपर्छ ।’
बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुले बजेट अभावले गर्दा सिकलसेल अस्पताल सञ्चालनमा आउन नसकेको बताउनु भयो । उहाँले स्थानीय तहले लुम्बिनी र सुदुरपश्चिम प्रदेश अस्पतालको केन्द्र रूपमा सिकलसेल अस्पताल सञ्चालन गर्न चाहे पनि बजेट अभावले सञ्चालन आउन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘सरकार स्थायी नहुँदा एउटा सरकारले ल्याएको योजना अर्को सरकारले हटाइदिने भएर पनि अस्पताल सञ्चालन हुन नसकेको हो । स्थानीय तहले अस्पताल सञ्चालनका लागि ४ करोड रुपियाँ बजेट माग गरेपनि माग अनुसार बजेट नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको हो ।’ स्थानीय तहसँग भएको बजेटले नपुग्ने र प्रदेश सरकारले अस्पताल सञ्चालन लागि बजेट नदिँदा अस्पताल सञ्चालनमा आउन नसकेको समेत उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहले सिकलसेल एनिमिया र थालेसिमियाको बारेमा सचेतना जगाउने उद्देश्यले पाठ्यक्रममा नै सिकलसेल र थालेसिमिया रोगको बारेमा कक्षा ९ र १० मा पढाइ भइरहेको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टिका गोसाईले जानकारी दिनुभयो ।
नेपालको संविधानले मौलिक हक अन्तरगत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यसैगरी जनस्वास्थ्य ऐन २०७५ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त हुने अधिकार हुनेछ भनिएको छ । सोही ऐनको दफा ३ मा कुनै नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । तर स्थानीय तहले ४ करोड ३३ लाख ५० हजार ३८ रुपियाँमा टेन्डर आह्वान गरी सिकलसेल अस्पतालको लागि भवन निर्माण गरेपनि करिब भवन निर्माण भएको तीन वर्ष हुन लाग्दा समेत अस्पताल सञ्चालनमा आउन नसक्दा सिकलसेल एनिमिया रोगको बिरामीलाई सास्ती भएको हो ।