
दिनेश ठाकुर, गुलरिया । सशस्त्र द्वन्द्व सकिएको दुई दशक बितिसक्दा पनि द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन । राज्य पक्ष र तत्कालीन विद्रोही पक्ष दुवैका क्रियाकलापबाट प्रभावित नागरिकहरू अझै पीडामा छन् ।
बर्दियामा पछिल्लो समय केही परिवारहरूले आफ्ना बेपत्ता आफन्तहरू अब कहिल्यै नफर्कने निश्चित गर्दै परम्पराअनुसार काजकिरिया तथा अन्तिम संस्कार गर्न थालेका छन्।

अहिलेको यथार्थलाई नियाल्दा बर्दिया जिल्लाको मानव अधिकारको ऐतिहासिक पीडा झल्किन्छ। सशस्त्र द्वन्द्वका क्रममा यहाँ २५० जना नागरिकहरू बेपत्ता भएका थिए, जसमध्ये अहिले करिब ४५ जना परिवारले आफ्ना बेपत्ता सदस्यहरूको अन्तिम संस्कार गरिसकेका छन्। यो अवस्था द्वन्द्व पछिको सङ्क्रमणकालीन न्याय प्रक्रिया कति अपुरो छ भन्ने कुराको स्पष्ट प्रमाण हो ।
२०५८ साल चैत्र २६ गते, ठाकुरबाबा नगरपालिका वडा नम्बर १ निवासी रामदास थारूलाई कार्यरत स्थानबाटै तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको थियो। त्यतिबेलादेखि अहिलेसम्मै उनको अवस्था बारे कुनै जानकारी छैन। परिवारले थुप्रै वर्ष आशामा बसे, विभिन्न निकायमा धाइरहे, आयोगहरूमा निवेदन दिए, तर कतैबाट पनि रामदासको बारेमा कुनै खबर आएन। अन्ततः परिवारले उनलाई अब फर्कने छैनन् भन्ने मान्दै परम्पराअनुसार उनको बुधबार दाहसंस्कार गरे।
रामदासकी छोरी अस्मिता कुस्माले भन्नुहुन्छ, ‘ हामीले बाबाको अवस्था थाहा पाउने आशा धेरै वर्ष पालेका थियौँ, तर अहिले त्यो आशा पनि मरेको छ। उहाँ फर्किनुहुन्न भन्ने बुझेर हामीले काजकिरिया गर्यौँ ।
उहाँ भन्नुहुन्छ, “बुबा नभएको पीडा मैले र आमाले प्रत्यक्ष भोग्यौँ। आमाले मजदुरी गरेर हामीलाई पढाउनुभयो। त्यो सङ्घर्ष हेर्नेलाई मात्र थाहा हुन्छ। गाउँघरमा पनि धेरै कुरा उठ्ने गरेको थियो, नातागोता र समाजले अब त अन्त्य गरु भन्ने सुझाव दिँदै आएका थिए। अन्ततः हामीले यो निर्णय लिएका हौँ।”
पछिल्लो एक महिनाको अवधिमा मात्रै चार जना परिवारले आफ्ना बेपत्ता आफन्तहरूको अन्तिम संस्कार गरेका छन्। यो आँकडाले पनि जनाउँछ कि पीडितहरू अब राज्यप्रति कुनै अपेक्षा नराख्ने स्थितिमा पुगिसकेका छन् ।

द्वन्द्व पीडित समिति बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरी भनुहुन्छ, “हामीले दर्जनौँ परिवारसँग कुराकानी गरेका छौँ। अधिकांशले अब आशा मरेको बताएका छन्। राज्यले बेपत्ता व्यक्तिहरूको अवस्थाबारे केही बताउन सकेको छैन । न त उनीहरू जीवित छन् भन्ने प्रमाण छ, न मृत भएको पुष्टि। यस्तो अनिश्चितताले पीडितहरूलाई थप पीडामा राखेको छ । ” चौधरीका अनुसार, “बर्दियामा करिब ४५ जना बेपत्ता नागरिकका परिवारले अब आफ्नै परम्पराअनुसार अन्तिम संस्कार गरिसकेका छन् ।
अस्मिता कुस्माको भनाइमा गहिरो वेदना मात्र होइन, चेतावनी पनि छ । उहाँ भन्नुहुन्छ, “द्वन्द्वको बलिदानबाटै आजको परिवर्तन सम्भव भएको हो। हामीजस्ता परिवारले गुमाएको छ, न राज्यले। त्यसैले हाम्रो पीडा बुझ्नुपर्छ। राज्यले बेपत्ता तथा सहिद परिवारप्रति सम्मानजनक व्यवहार गर्नुपर्छ।” उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सम्मानमा समेत राज्यको तर्फबाट बेपत्ता परिवारलाई प्राथमिकता दिनुपर्ने माग राखिन्।
बर्दिया जिल्ला द्वन्द्वकालमा सबैभन्दा बढी प्रभावित भएको जिल्ला हो । द्वन्द्वकालमा सयौं परिवारहरूले आफ्ना प्रियजनहरू गुमाएका छन्। यिनको न त मनको मलहम लागेको छ, न त न्यायको भर पाएका छन ।


