
गुलरिया । एकीकृत कृषि तथा पशपंक्षी विकास कार्यालय बर्दियाले कृषकहरूलाई ट्रेक्टरबाट चल्ने च्यापकटर मेसिन सहयोग गरेको छ । कार्यालयको भैंसी पालन प्रबर्द्धन कार्यक्रम अन्तरगत च्यापकटर मेसिन गुलरिया नगरपालिका वडा नं २ मा रहेको एकीकृत बहुउद्देश्यीय कृषि फर्मलाई सहयोग गरिएको हो ।
कार्यालयको एक लाख १० हजार अनुदान र उपभोक्ताको एक लाख ३७ हजार पाँच सय लगानी गरी दुई लाख ४७ हजार पाँच सय रकम बराबरको च्यापकटर हस्तान्तरण गरिएको हो ।ट्याक्टरबाट सञ्चालन हुने च्यापकटरले पराल, घाँस काट्ने गर्दछ । ट्याक्टरमा जोडेर विभिन्न स्थानमा लैजान सकिने च्यापकटरबाट कम्तिमा २० घर लाभान्वित हुने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाले जनाएको छ ।
च्यापकटरको उद्घाटन गुलरिया नगरपालिका २ नं वडाका वडाध्यक्ष टंकपसाद अधिकारीले गर्नु भएको छ । उहाँले च्यापकटरबाट पशुपालन गर्ने कृषकलाई फाइदा हुने बताउँदै आफ्नो फर्म सँगै वडाका विभिन्न फर्महरूमा लगेर च्यापकटरको सदुपयोग गर्न सकिने बताउनु भयो ।


यसैबीच च्यापककटरको उपयोगिता र यसको फाइदाको बारेमा जानकारी गराउनका लागि स्थानीय स्तरमा सार्वजनिक सुनुवाइ समेत गरिएको छ । सार्वजनिक सुनुवाइमा पशुपालक कृषकहरूलाई च्यापकटरको उपयोग गर्नका लागि आव्हान गरिएको एकीकृत बहुउद्देश्यीय कृषि फर्मका प्रोपराईटर विनिता भुषालले बताउनु भयो ।



