bardiyahospital

पालिका पिच्छे कोल्ड स्टोर निर्माणको प्रतिस्पर्धा, भएकालाई पनि चल्न सकस 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाका स्थानीय तहमा कोल्ड स्टोर निर्माण गर्ने प्रतिस्पर्धा चलेको छ। आवश्यकता पहिचान नगरेर अधिकांश पालिकाहरूले धमाधम कोल्ड स्टोर निर्माण गरिरहेका छन्। यसरी  निर्माणको प्रतिस्पर्धा चलिरहँदा भएका कोल्ड स्टोर बन्द हुने अवस्थामा पुगेका छन् । 

कोल्ड स्टोर निर्माण गर्नु पहिले कति उत्पादन हुन्छ। त्यसका लागि कुन कति क्षमताको कोल्ड आवश्यकता पर्छ। त्यसबारेका सम्भाव्यता अध्ययन आवश्यक रहेको छ। तर, पालिकाहरूले सम्भाव्यता अध्ययन विना नै  कोल्ड स्टोर निर्माण गरिरहेका छन् । सरकारले पनि पालिकाको मागअनुसार कोल्ड स्टोर लागि बजेट व्यवस्थापन गरिरहेको छ।

cld

गेरुवा गाउँपालिकाले एक करोड ३६ लाख ८१ हजार दुई सय रुपैयाँमा, ठाकुरबाबा नगरपालिकाले १२ करोड ४६ लाख ५७ हजार ५३९ रुपैयाँमा,  बारबर्दिया नगरपालिकाले चार करोड ५८ लाख ५४ हजार २८ रुपैयाँ कोल्ड स्टोर निर्माण गरिरहेका छन् । ठाकुरबाबा तथा बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाले आलु, प्याज र तरकारी राख्ने कोल्ड स्टार निर्माण गर्न लागेको जनाएको छ । 

राजापुरमा बन्न लागेको कोल्ड स्टोरमा मासुजन्य उत्पादन राख्ने गरी बहुउद्देश्यीय कोल्ड स्टोर निर्माण गर्न लागिएको पालिका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनु भयो। पालिकाले चार वटा कोल्ड स्टोर निर्माण गरिरहँदा भएका दुईवटा कोल्ड स्टोर पूर्ण रूपमा चल्न सकेका छैनन् ।

बढैयाताल गाउँपालिका– ८, शीतलाबजारमा रहेको तिलक नारायणी कोल्ड स्टारको क्षमता  ५५ हजार बोरा आलु प्याज राख्न सक्ने क्षमता हो । तर, कोल्ड स्टोरको क्षमताअनुसार कृषिजन्य वस्तु नआउँदा अहिले १५ हजार बोरा आलु राखिएको कोल्ड स्टोरका सञ्चालक महेन्द्र श्रेष्ठले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कोल्ड स्टोर सञ्चालन गरेको पनि ६ वर्ष भयो । अहिलेसम्म कहिले पनि क्षमताअनुसार आलु राख्न पाएको छैन। अहिले पनि ४० हजार बोरा आलु राख्न सकिन्छ । तर, आलु आएको छैन । पालिकामा उत्पादन भएको आलुले मात्र कोल्ड स्टोरमा भरिँदैन । बाँके र कैलालीबाट समेत आलु कोल्ड स्टोरमा राख्न आउँदासमेत कोल्ड स्टोर पूर्ण रूपमा चल्न सकेको छैन ।’ श्रेष्ठले कोल्ड स्टोर निर्माण गर्दा  रिदम संस्थाबाट २५ प्रतिशत अनुदान दिएको जानकारी दिनुभयो । 

मधुवन नगरपालिका– ८, सानोश्रीमा रहेको सानोश्री साना किसान सहकारी संस्थाले पनि लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा कोल्ड स्टोर निर्माण गरेको थियो । संस्थाका प्रबन्धक दयाराम तिवारीले कोल्ड स्टोर  क्षमता चार हजार बोरा राख्न सक्ने भए पनि अहिलेसम्म तीन हजार बोरा आलु किसानले राख्न ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कोल्ड स्टोर सञ्चालन गर्दा दक्ष प्राविधिक जनशक्ति नपाइने समस्या छ । भएको कोल्ड स्टोर पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन ।’

कोल्ड स्टोरमा राखेर आलु र प्याज उम्रिएको खबर बाहिरिएसँगै बाँसगढी नगरपालिकामा रहेको भट्टराई कोल्ड स्टोरमा २९ असोज २०८२ मा रहस्यमय तरिकाले आगलागी भएको थियो । भट्टराई दुग्ध प्राइभेट लिमिटेडले आर्थिक वर्ष ०७६र७७ मा लुम्बिनी प्रदेश सरकारबाट ७५ प्रतिशत अनुदान ल्याएर कोल्ड स्टोर निर्माण गरेको थियो ।

सरकारले कृषि उत्पादनलाई सुरक्षित राख्नका लागि निर्माण बनाउने नीति लियो । यो नीति एकदम सकारात्मक हो। तर, नीति कार्यान्वयन चरणमा लैजाँदा त्यसले पार्ने प्रवाहबारे मूल्यांकन हुन जरुरी छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष  ०८२र८३ मा ४८ हजार ३७९ मेट्रिकटन आलु र तीन हजार ८०८ मेट्रिकटन प्याज उत्पादन भएको छ ।

  कोल्ड स्टोर निर्माण सँगसँगै त्यसको व्यवस्थापन, सञ्चालन महत्त्वपूर्ण रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारीले फिर्तुमान चौधरीले बताउनु भयो।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.