bardiyahospital

तरकारी खेतीबाट फेरिएको बालापुर गाउँ

Geruwa GIF

यज्ञप्रसाद सापकोटा,बर्दिया ।
गुलरिया नगरपालिका वडा नं ५ बालापुरकी ४७ बर्षिया शान्ती थारू १० वर्ष अगाडि हरेक दिन ज्याला मजदुरी गर्नका लागि गुलरिया बजार सम्म पुग्नुहुन्थ्यो । काम पाउँदा जेन तेन घरखर्च चल्थ्यो तर अहिले उहाँले अरुलाई कृषि मजदुरको रुपमा काम लगाउनु हुन्छ । उहाँले हरेक बर्ष ७ कठ्ठा जग्गामा व्यवसायीक तरकारी खेती गरेर करिब तीन लाख बचत गर्नु हुन्छ । अहिले उहाँलाई न काम खोज्नको चिन्ता छ न त पैसा कै अभाव छ ।

२०७४ सालमा श्रीमान् बितेपछि एक्लो हुनुभएकी उहाँको आम्दानीको मुख्य स्रोत तरकारी खेती नै हो । व्यवसायिक तरकारी खेती गरेर विक्रि सुरु गरेपछि उहाँको जीवन फेरिएको छ । हप्तामा दुई दिन हाट बजारमा तरकारी बेच्न जाने शान्तीले प्रति दिन १० हजार रुपियाँ सम्मको तरकारी बेच्नु हुन्छ । शान्ती जस्तै उनको छिमेकी मनिषा थारू पनि पहिला ज्यालामजदुरी गर्न जाने गर्नुहुन्थ्यो तर अहिले तरकारी खेती गरेर मनग्ये आम्दानी गरिरहनु भएको छ ।

cld
एकल महिलाले टमाटरको स्याहार गर्दै ।

सोबिन्द्र थारू गुलरिया नगरपालिका वडा नं ५ का वडा सदस्य हुनुहुन्छ । उहाँ खाली समयमा खेतबारीमा नै भेटिनु हुन्छ । सोबिन्द्रले पनि तरकारी खेती गर्नुभएको छ । ‘अहिले बेच्न बजार लिएर जानै पर्दैन घर मै गाडी आएर लैजान्छ ।’ उहाँ भन्नु हुन्छ –‘यहाँ जनप्रतिनिधि मात्र होइन शिक्षक, कर्मचारी, नेता सबैले तरकारी खेती गर्नु हुन्छ ।’ टमाटर खेतीको लागि चर्चित बन्दै गएको बालापुर गाउँमा अहिले दैनिक तीन ओटा सम्म गाडी टमाटर खरीद गर्नका लागि आउने गरेको उहाँले बताउनु भयो । बालापुर गाउँमा रहेका दुई सय ६० घरपरिवार मध्ये ९० प्रतिशत घरपरिवारले तरकारी खेती गर्दै आएको वडा सदस्य थारूले बताउनु भयो । कृषि कार्यालयबाट तालिम लिएर केही किसानहरूले सुरु गरेको तरकारी खेतीले अहिले गाउँ नै ओगटेको छ । १० वर्ष अगाडि चैत बैशाखमा बाँझै देखिने बालापुरको खेत अहिले पुरै हरियो देखिन्छ ।

गाउँभरी नै तरकारी खेती हुने भएपछि बालापुर बासीलाई तरकारी बेच्न समस्या नै छैन । थोकमा तरकारी बेच्न चाहनेको लागि नेपालगञ्ज र सुर्खेत देखि गाडी आउँछ । ‘फुटकरमा बेच्न मनलागे हाट बजार जान्छौ नत्र गाडीमा पठाउँछौँ’ तरकारी किसान मनिषाले बताउनु भयो –‘फुटकर बेच्दा अलि बढि पैसा आउने भएकोले फुर्सद हुनेहरू हाट बजारमा फुटकर बेच्न पुग्नुहुन्छ ।’

बालापुर गाउँ ।

अझ थप बजार व्यवस्थापन गर्न सकेमा अझै तरकारी उत्पादन गर्न सकिने अर्का वडा सदस्य कालिदेवी थारूले बताउनु भयो । गत बर्ष तरकारी विक्रि नभएर किसानहरू मारमा परेको बताउँदै यस बर्ष हाल सम्म तरकारी विक्रिको समस्या नभएको बताउनु भयो ।

एकिकृत पशुपंक्षी तथा कृषि विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले गुलरियाको हाटबजारमा खपत हुने तरकारीको ठुलो हिस्सा बालापुर गाउँको भएको बताउनु भयो । उहाँले बालापुरमा व्यवसायीक रुपमा मात्रै ३० विगहा भन्दा बढी क्षेत्रफलमा निरन्तर तरकारी खेती हुने गरेको बताउनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.