

दलबहादुर सुनार, बर्दिया । नेपालको लोकतान्त्रिक शासन प्रणाली उत्कृष्ट भए तापनि यसको कार्यान्वयन पक्ष अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले बताउनु भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा शुक्रबार बारबर्दिया नगरपालिकाको सभाहलमा सम्पन्न ‘प्रदेश सभासँग स्थानीय सभाको कानुन निर्माणसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा सभामुख घर्तिमगरले शासन प्रणालीको सफल कार्यान्वयनका लागि शासकीय सोच, कार्यशैली र दृष्टिकोणमा सुधार आवश्यक रहेको बताउनु भएको हो ।“गणतान्त्रिक लोकतान्त्रिक शासन प्रणाली स्वयंमा उत्कृष्ट छ, तर कार्यान्वयन गर्ने व्यक्तिको सोच, धारणा र शैली प्रभावकारी नभए शासन प्रणाली कमजोर बन्न जान्छ,” उहाँले भन्नु भयो “शासन सुधार्नु पर्ने होइन, शासक प्रणाली सुधार्न जरुरी छ । ”
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सभामुख घर्तिमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच सहकार्यमा आधारित कानुन निर्माण र कार्यान्वयन प्रक्रियालाई सुदृढ बनाउने लक्ष्य रहेको बताउनु भयो ।

“प्रदेशसभासँगै स्थानीय तहमा कसरी कानुन निर्माण भइरहेछ भन्ने विषयमा जानकारी आदानप्रदान गर्दै सहकार्यका आधारमा प्रभावकारी कानुनी संरचना निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” उहाँले थप्नु भयो । सभामुख घर्तिमगरले बारबर्दिया नगरपालिका कार्यक्रमका लागि छनोट गरिनुको कारण प्रष्टयाउँदै भन्नु भयो , “बर्दिया जिल्लाका आठ स्थानीय तहमध्ये बारबर्दियामा ७२ हजार जनसङ्ख्या मध्ये ५२ हजारभन्दा बढी थारू समुदायका नागरिक रहेका छन्।
सामाजिक प्रतिनिधित्वका दृष्टिले यो क्षेत्र उपयुक्त भएकोले यहाँ कार्यक्रम गरिएको हो ।” प्रदेश सभा सचिवालयका सचिव दुर्गा कुमार पुनले लुम्बिनी प्रदेशमा निर्माण भएका कानुनहरूको तथ्याङ्क प्रस्तुत गरे भने बारबर्दिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइँले स्थानीय तहमा बनेका कानुन र अभ्यासबारे जानकारी दिनु भयो ।
उहाँहरूको अनुसार स्थानीय तह र प्रदेश सरकारबीच समन्वय र सहकार्यका माध्यमबाट कानुन निर्माण तथा कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक छ। कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार चौधरी, धर्मबहादुर चौधरी, मालती सोडारी, भुवनेश्वर चौधरी, बारबर्दिया नगर प्रमुख छबिलाल थारु, उपप्रमुख रत्नाकुमारी पाण्डे, पत्रकार तथा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।