bardiyahospital

माटोमा मोती फलाई रहेका ईश्वरीप्रसाद थारु

Geruwa GIF

दलबहादुर सुनार /बर्दिया (बढैयाताल) । हरेक दिन बिहान ११ बजेको चर्कोघाम । बर्दियाको बढैयाताल गाउँपालिका–७, फुलपुरस्थित हरियालीबारीमा ६७ वर्षीय ईश्वरीप्रसाद थारु र उनकी ६६ वर्षीया पत्नी तरबुजाको हेरचाहमा व्यस्त हुने गर्छन् । उमेर ढल्किँदै गएका यी दम्पती अझै पनि खेतबारी मै पसिना बगाइरहेका छन् ।

नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाट करिब एक किलोमिटर उत्तर, नहर पार गरेर पाँच सय मिटरपश्चिम फुलपुरमा थारुको चार बिगाहा क्षेत्रफलमा फैलिएको बारी भेटिन्छ । फलफूल र तरकारीले भरिएको उक्त बारीको बीचमा प्लास्टिकले छाएको सानो टहरो छ । त्यही टहरामा पाहुनालाई स्वागत गर्दै उहाँले मुस्कुराउँदै भन्नुहुन्छ, ‘ल, तरबुजखाऔं अनि कुरा गरौं ।’

cld

२०४६ साल देखि व्यवसायिक तरकारी खेतीमा सक्रिय थारु त्यसबेला आफ्नो ३१ वर्षको उमेर भएको सम्झनु हुन्छ । “त्यतिबेला गाउँमा व्यवसायिक खेती सुरु गर्ने म पहिलो व्यक्ति हुँ । सुरुवातमा परम्परागत खेती गरे पनि पछि बेमौसमी तरकारी तर्फ मोडिए ।” थारुले भन्नुभयो । तरकारी खेतीबाट अहिले वार्षिक आठदेखि दस लाख रुपैयाँसम्म आम्दानी हुन्छ । “यसले छोराछोरीको पढाइ, स्वास्थ्य उपचार, चाडपर्व र अन्य खर्च बसै सहज भएको छ ।”

उहाँको मेहनत र सफलताबाट प्रेरित भएर गाउँका अन्य कृषकहरू पनि व्यवसायिक खेतीतर्फ आकर्षित भएकाछन् । करिब सात वर्षअघि उहाँले राष्ट्रपति पुरस्कार समेत पाउनु भएको थियो । अहिले उहाँको बारी अध्ययन अवलोकन गर्न अन्य जिल्लाका किसानहरू पनि आउने गर्दछन् ।

अहिले उहाँको बारीमा काँक्रा, लौका, फर्सी, करेला जस्ता तरकारी लटरम्मै छन् । काँक्राबाट मात्रै तीनलाख रुपैयाँ आम्दानी भएको थारुको भनाई छ । अन्य तरकारीबाट झन्डै दुई लाख रुपैयाँ आम्दानी भएको तर यस वर्ष तरबुज उत्पादनमा वर्षाका कारण केही कमी भएको उहाँले बताउनु भयो ।

खेतीसँगै थारुले रोजगार सृजनामा पनि गर्नुभएको छ । बीउ रोप्ने देखी गोडमेल र उत्पादन लिँदासम्मको लागि सिजनमा १५ देखि २० जनालाई दैनिक ज्यालामा काम दिनुभएको छ भने दुई जना महिनावारी तलबखाने गरी कामदार राख्नु भएको छ ।
जिल्लामा उत्पादक कृषकको छुट्टै पहिचान स्थापित गर्नुभएका थारुले आफ्नै माटोमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिने र “बजारको माग अनुसार उत्पादन गर्न सके लाखौँ रुपैयाँ स्वदेशमै कमाई हुने बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘उत्पादनमा लाग्ने हो भने कमाई प्रशस्त छ, जमिन बाँझो राखेर  विदेसिनु पर्दैन ।’

युवापुस्तालाई सन्देश दिँदै उहाँले समयको सदुपयोग गर्नुपर्छ । आफ्नै श्रमको साग–रोटी नै बेस हुन्छ । खेतबारीमै लगनशीलभएर काम गरे सुन फलाउन सकिन्छ । सम्वादको अन्त्यमा उहाँले भन्नुभयो, ‘साँच्चिकै किसान हो भने बिरुवाको कुरा सुनेर त हेर, माटोभित्र मोती भेटिन्छ खनेर त हेर ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.