
दलबहादुर सुनार /बर्दिया (बढैयाताल) । हरेक दिन बिहान ११ बजेको चर्कोघाम । बर्दियाको बढैयाताल गाउँपालिका–७, फुलपुरस्थित हरियालीबारीमा ६७ वर्षीय ईश्वरीप्रसाद थारु र उनकी ६६ वर्षीया पत्नी तरबुजाको हेरचाहमा व्यस्त हुने गर्छन् । उमेर ढल्किँदै गएका यी दम्पती अझै पनि खेतबारी मै पसिना बगाइरहेका छन् ।
नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाट करिब एक किलोमिटर उत्तर, नहर पार गरेर पाँच सय मिटरपश्चिम फुलपुरमा थारुको चार बिगाहा क्षेत्रफलमा फैलिएको बारी भेटिन्छ । फलफूल र तरकारीले भरिएको उक्त बारीको बीचमा प्लास्टिकले छाएको सानो टहरो छ । त्यही टहरामा पाहुनालाई स्वागत गर्दै उहाँले मुस्कुराउँदै भन्नुहुन्छ, ‘ल, तरबुजखाऔं अनि कुरा गरौं ।’

२०४६ साल देखि व्यवसायिक तरकारी खेतीमा सक्रिय थारु त्यसबेला आफ्नो ३१ वर्षको उमेर भएको सम्झनु हुन्छ । “त्यतिबेला गाउँमा व्यवसायिक खेती सुरु गर्ने म पहिलो व्यक्ति हुँ । सुरुवातमा परम्परागत खेती गरे पनि पछि बेमौसमी तरकारी तर्फ मोडिए ।” थारुले भन्नुभयो । तरकारी खेतीबाट अहिले वार्षिक आठदेखि दस लाख रुपैयाँसम्म आम्दानी हुन्छ । “यसले छोराछोरीको पढाइ, स्वास्थ्य उपचार, चाडपर्व र अन्य खर्च बसै सहज भएको छ ।”
उहाँको मेहनत र सफलताबाट प्रेरित भएर गाउँका अन्य कृषकहरू पनि व्यवसायिक खेतीतर्फ आकर्षित भएकाछन् । करिब सात वर्षअघि उहाँले राष्ट्रपति पुरस्कार समेत पाउनु भएको थियो । अहिले उहाँको बारी अध्ययन अवलोकन गर्न अन्य जिल्लाका किसानहरू पनि आउने गर्दछन् ।
अहिले उहाँको बारीमा काँक्रा, लौका, फर्सी, करेला जस्ता तरकारी लटरम्मै छन् । काँक्राबाट मात्रै तीनलाख रुपैयाँ आम्दानी भएको थारुको भनाई छ । अन्य तरकारीबाट झन्डै दुई लाख रुपैयाँ आम्दानी भएको तर यस वर्ष तरबुज उत्पादनमा वर्षाका कारण केही कमी भएको उहाँले बताउनु भयो ।
खेतीसँगै थारुले रोजगार सृजनामा पनि गर्नुभएको छ । बीउ रोप्ने देखी गोडमेल र उत्पादन लिँदासम्मको लागि सिजनमा १५ देखि २० जनालाई दैनिक ज्यालामा काम दिनुभएको छ भने दुई जना महिनावारी तलबखाने गरी कामदार राख्नु भएको छ ।
जिल्लामा उत्पादक कृषकको छुट्टै पहिचान स्थापित गर्नुभएका थारुले आफ्नै माटोमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिने र “बजारको माग अनुसार उत्पादन गर्न सके लाखौँ रुपैयाँ स्वदेशमै कमाई हुने बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘उत्पादनमा लाग्ने हो भने कमाई प्रशस्त छ, जमिन बाँझो राखेर विदेसिनु पर्दैन ।’
युवापुस्तालाई सन्देश दिँदै उहाँले समयको सदुपयोग गर्नुपर्छ । आफ्नै श्रमको साग–रोटी नै बेस हुन्छ । खेतबारीमै लगनशीलभएर काम गरे सुन फलाउन सकिन्छ । सम्वादको अन्त्यमा उहाँले भन्नुभयो, ‘साँच्चिकै किसान हो भने बिरुवाको कुरा सुनेर त हेर, माटोभित्र मोती भेटिन्छ खनेर त हेर ।’


