
जगतदल जनाला विक, सुर्खेत । जीवनका अनेक कथा र सङ्घर्षहरू हाम्रो समाजको अनिवार्य हिस्सा हुन्। ती कथा कहिले प्रेम, त कहिले वेदना, त कहिले सङ्घर्षका यादहरू दिन्छन् । कमल नगाल र ममता बीचको प्रेम र पीडा, जसले प्रेम र युद्धको बीच एक अनमोल स्मृति छोडेर गएका छन् ।
२०६१ सालको जेठ १९ गते दाङको भालुवाङबाट एउटा प्रेमीले आफ्नी प्रेमिकालाई अन्तिम पत्र लेखेका थिए । ती शब्दहरू मात्र होइन, त्यो प्रेमको अन्तिम वाणी थियो । २३ वर्षीय कमल नगाल जो सशस्त्र प्रहरी बल त्रिपुरा गण दाङमा कार्यरत थिए । माओवादीले दाङको धानखोलामा थापेको विद्युतीय धरापमा परी ०६१ असार ५ गते कमलको मृत्यु भएको थियो। घटना हुनु भन्दा अघि नै पठाइएको चिठी घटना भइसकेपछि पाउँदा पीडामाथि थप पीडाबोध भयो ममतालाई ।

तर, त्यो प्रेमको अन्तिम पत्र नै उनको जीवन जिउने आधार बन्यो । कमलले आफ्नी पत्नीलाई पत्र लेख्नु भएको थियो, ‘ म यहाँ आरामै छु, तिमी र छोरा पनि आरामै छौँ भन्ने आशामा छु । देशको अवस्था र बाध्यता नै मेरो बाध्यताको कारण हो। म तिमी र छोरालाई धेरै माया गर्छु र आशा गर्छु कि एक दिन हामी फेरि मिल्नेछौ । ’ ती शब्दहरू प्रेम र पीडाका मिश्रण थिए ।
कमलको मृत्युपछि, ममताको जीवनमा नयाँ सङ्घर्ष सुरु भयो । उहाँ एक्लै भएर पनि हिम्मत र साहसले सामाजिक क्षेत्रमा सक्रिय हुनु भयो । उहाँ महिलाको अधिकार, द्वन्द्वपीडित र पीडित परिवारहरूको आवाज उठाउन थाल्नुभयो । आज उहाँ मानव अधिकारका लागि महिला एकल महिला सुर्खेतको अध्यक्ष, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल सुर्खेतकी संयोजक हुनुहुन्छ ।
उहाँले आफ्नो जीवनका अनेक सङ्घर्ष र वेदनालाई समाजसेवाको माध्यम बनाउनु भयो । उहाँले भन्नुभयो, ‘ विपत्तिले जित्न सक्दैन, प्रेम र साहसले जित्दो रहेछ ।’
उहाँ भन्नुहुन्छ, ‘ सत्य निरुपण तथा मेलमिलाप आयोगबाट न न्याय पाएँ न त सरकारले वाचा गरेजस्तो राहत र पुनस्थापनाका कार्यक्रमहरू भए । राज्यले हामीलाई कागजमा मात्र चिनेको छ । मैले राज्यबाट जवाफ पनि पाएको छैन । ’
अहिले उहाँको नेतृत्वमा कर्णालीको पहिलो सुर्खेत पिस ग्यालरी तथा स्मारिका निर्माण गरिएको छ। जहाँ द्वन्द्वका समयमा भएका घटनाहरु र त्यससँग सम्बन्धित तस्वीर राखिएको छ । यालरीमा १ सय ७ ओटा फोटो, समाचार, अनुभव र दस्तावेजहरु समेत रहेका छन् । उहाँ भन्नुहुन्छ, ‘ हामीले हाम्रो पीडाको इतिहासलाई ताजा बनाएका छौं। यसले नयाँ पुस्तालाई सिकाउँछ — प्रेम र संघर्षको कथा । ’
कमलले पठाएको अन्तिम चिठीले आज पनि ममतालाई पीडाको त्यो क्षण सम्झना आउँछ । त्यो चिठी प्रेमको प्रतीक मात्र होइन, युद्ध र पीडा पनि हो । उहाँले भन्नुभयो , ‘त्यो चिठीले मेरो हृदयलाई छोएको छ । त्यो प्रेमको स्वर आज पनि मेरो कानमा गुञ्जन्छ ।’
युद्धले माया लुटेको छ , तर प्रेम र साहसले जीवनलाई जोगाएको छ । कमल र ममता जस्ता अनेकौं पीडितहरूको जीवनकालको पीडाले हामीलाई सिकाउन चाहन्छ — प्रेम र मानवता कहिल्यै मर्दैन ।


