
कृष्णसार अनलाइन । बर्दियामा सिकलसेल रोगका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । बाबुआमाबाट छोराछोरीमा सर्ने सिकलसेल रोगका बिरामी सङ्ख्या बढ्दै गइरहेको हो ।
अन्य समुदायमा भन्दा बढी थारु समुदायमा देखा परेका सिकलसेल रोग समयमा रोकथाम गर्न नसकेमा यसले भयावह अवस्था ल्याउन सक्छ । बर्दिया अस्पताल गुलरियामा स्वास्थ्य परीक्षण गर्दा आर्थिक वर्ष २०८१/०८२ मा १ सय ३ जनामा, आर्थिक वर्ष २०८०/०८१ मा ८६ जनामाञ्, आर्थिक वर्ष २०७९/०८० मा ७६ जनामा र आर्थिक वर्ष २०७८/०८९ मा ६० जनामा सिकलसेल रोगी फेला परेको बर्दिया अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो ।

त्यसैगरी स्वास्थ्य कार्यालय बर्दियाका ल्याब टेक्निसियन निरीक्षक जीवन रजौरेले आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ८ जना बालबालिकाको रगत परीक्षण गर्दा एक जना सिकलसेल रोगी र ४१ जना सिकलसेल रोगका बाहक देखिएको बताउनु भयो । आर्थिक वर्ष २०७९/०८० ३ हजार १ सय ६ जना बालबालिकाको रगत परीक्षण गर्दा ३ सय १२ जनामा सिकलसेल फेला परेको थियो । जसमध्ये ११ जना रोगी र ३ सय १ जना बाहक रहेका थिए भने आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ९ सय ९२ जनाको रगत परीक्षण गर्दा १ सय ९९ जनामा सिकलसेल फेला परेको थियो । जसमध्ये २५ जना रोगी र १ सय ७४ जना बाहक रहेको उहाँले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकार सिकलसेल तथा थालसेमिया स्किनि तथा प्रेषण कार्यक्रम मार्फत विद्यालयमा बालबालिकाको सिकलसेल तथा थालसेमिया परीक्षण गर्दै आएको थियो । तर गत आर्थिक वर्षबाट प्रदेश सरकारले बजेट कटौती गरेपछि विद्यालयमा गएर सिकलसेल तथा थालसेमिया रोगको परीक्षण गर्ने कार्यक्रम रोकिएको छ ।
बर्दिया अस्पताल गुलरियाका कन्सल्ट्यान्ट फिजिसियन डाक्टर मनोजकुमार तिमिल्सैनाले सिकलसेल एनिमिया रोग वंशानुगत रूपमा सर्ने रगत सम्बन्धी सरुवा रोग भएको बताउनु भयो । उहाँले सिकलसेल रोग लागेपछि रातो गोलाकार रक्तकोषिकाहरू परिवर्तन भई हँसियाजस्तो आकारमा रगत परिवर्तन गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सिकलसेल रोग लागेका बिरामीको शरीरले रातो रक्तकोष निर्माण गर्न नसक्ने हुँदा बिरामीलाई रगत चढाउनु पर्ने हुन्छ । बिरामीले समय समयमा रगत परीक्षण गरेर चिकित्सकको सल्लाह बमोजिम रगत बढाउने तथा औषधि खानुपर्ने हुन्छ ।’ सिकलसेल रोगका बाहकमा स्वास्थ्य समस्या नदेखिए पनि पछि विवाह गर्दा छोराछोरीमा सिकलसेल देखा पर्ने सम्भावना हुन्छ । बिरामीले सिकलसेल र थालेसिमियामा रोग छ वा छैन पहिचान गरेर मात्र विवाह गरेमा रोगलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनु भयो ।
नेपाल सरकारले २०७१ साउन २२ गते स्थापना गरेको विपन्न नागरिक औषधी उपचार कोषमा सिकलसेल रोगलाई समावेश गरेको थियो । सोही रकमबाट बिरामीहरुले उपचार गर्दै आएका छन् । सिकलसेल रोग लागेपछि बाँचुञ्जेल उपचार गर्नु पर्ने हुन्छ । त्यसका लागि सरकारले दिएको १ लाख रुपियाँ पर्याप्त नहुने सिकलसेल रोगी दीपक चौधरीले बताउनु हुन्छ ।


