ठाकुरबाबा नगरपालिका –५ शाहीपुरका रामभजनको हातखुट्टा चल्दैन । आफ्नै शरीर धान्न सक्ने क्षमता पनि छैन । उनी जन्मदा स्वस्थ थिए । उनी पाँच महिनाको उमेरमा जरो आएर शारीरिक रूपमा अपाङ्गता भए । जरोको उपचारका लागि नेपालगञ्ज, कोहलपुर समेत लगियो । तर, ठिक भएन । ज्वरोले उनको शरीरलाई कठोर चोट पु¥यायो र अहिले उनको शरीरमा केवल हाड र छाला मात्र बाँकी छन् ।

जरोले गर्दा छोरो अपाङ्गता भएको आमालाई जब थाहा भयो, उनी निकै मर्माहत भइन् । ४५ वर्षीय प्रेमी थारू बताउँछिन्, “छोरालाई जरो आएको रहेछ, प्रायः दूध खान मन गर्दैन्थ्यो। उपचारका लागि अस्पतालहरूमा लगियो, तर केही समस्या भने जस्ताको त्यस्तै ।”

पैतृक सम्पत्तिको नाममा घरबास मात्र रहेको छ । पति भगवतीप्रसाद थारूको मृत्यु पछि, सम्पूर्ण जिम्मेवारी प्रेमीमाथि आएको छ । उनी आफ्नो शरीरमा चल्ने शक्ति नभएको, तर मन र भावना बलियो भएको व्यक्तित्व हुन् । उनले आफ्नो छोरा रामभजनको जीवन सुखी बनाउनको लागि दिनरात संघर्ष गरिरहेकी छन् ।

उनको दैनिक जीवनको सङ्घर्ष निकै कष्टकर छ । बिहान घरको काम, छोराको हेरचाह र काम गर्न जाँदा आफ्नै पीडा र जिम्मेवारीबिच जुध्नुपर्छ । उनी भन्छिन्, “म काम गर्न जाँदा पनि मन घरमै हुन्छ, किनभने मेरो छोरो मेरो जीवनको आशा हो ।”

रामभजनलाई जन्मदर्ताको आधारमा सरकारले अपाङ्ग भत्ता दिँदै आएको भए पनि, त्यो रकम पर्याप्त छैन। मासिक ४ हजार रुपैयाँ भत्ता पाए पनि, त्यसले खानपान र उपचारको खर्च पूरा गर्न सक्दैन।

उनको नागरिकता बनाउने उमेर पुगेपछि वडा कार्यालयले अपाङ्गता भत्ता दिन समस्या भएपछि नागरिकता बनाउन भन्यो । नागरिकता बनाउन सरकारी कागजातको व्यवस्थापन गरी जिल्ला प्रशासन कार्यालयमा गइन । रामभजनको नागरिकताका लागि कागजात हेरेपछि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायत लगाएको टोली घरमै गएर नागरिकता प्रदान बनाइदिएका थिए ।

प्रेमीको जीवन एउटा संघर्ष हो, जसमा आशाका केही किरणहरू छन्। उनको दैनिक भनेकै समय अनुसार इट्टा बोक्ने, धान रोप्ने, गहुँ काट्ने र सडकमा मजदुरी गर्ने हो ।

उनी भन्छिन्– “म काम गर्न जाँदा पनि मन घरमै हुन्छ,”

रामभजनमा जीवनको आशा छ । सरकारले दिइएको अपाङ्गता भत्ता र नागरिकता प्राप्ति उनको जीवनमा एउटा आशाको किरण हो ।

जिल्लामा रामभजन जस्तै पूर्ण अपाङ्गको कार्ड पाउने व्यक्ति १ हजार ४ सय ९५ जना छन् । जसमध्ये ९ सय १४ जनाको स्वास्थ्य बिमा छ भने ५ सय ८१ जना अझै पनि स्वास्थ्य बिमाको पहुँचबाट बाहिर रहेका छन् । रामभजन पनि स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर एक व्यक्ति हुन् ।

रामभजन जस्ता अपाङ्ग व्यक्तिहरू अझै पनि आवश्यक बिमा सुविधाबाट वञ्चित छन् । स्वास्थ्य बिमा, नागरिकता र सामाजिक सेवाको पहुँच उनीहरूका लागि अझै पनि चुनौतीपूर्ण छ।

नेपालको कानुनी व्यवस्था र सरकारी कार्यक्रमहरूमा धेरै विषयलाई समेटिएको भए पनि, व्यवहारिक रूपले अझै धेरै व्यक्तिहरू यसको लाभबाट वञ्चित छन् ।

रामभजन जस्ता व्यक्तिहरुको जीवनलाई सहज बनाउन, उनीहरूको अधिकार र सम्मान सुनिश्चित गर्नु आजको आवश्यकता हो ।