
प्रकाश पौडेल, गुलरिया । गरे के सम्भव छैन् र ? काम गर्नलाई चाहत, योजना, इच्छा शक्ति , साहस र धैर्य हुनुपर्छ । काम सुरु गरेपछि असम्भव भन्ने केही छैन् । प्रायः पुरुषहरूले मात्र गर्ने प्रकृति पथप्रदर्शकको काम पछिल्लो समय महिलाहरूले पनि गर्न थालेका छन् ।
आफूलाई कस्तो बनाउने भन्ने स्वयम् आफूमा निर्भर हुन्छ । काम गर्दै जाँदा असम्भव लाग्ने काम पनि सम्भव लाग्न थाल्छ । जसरी भीरपाखामा सुनगाभा फुल्छ । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज छ जना सुनगाभा फुलेको छन् । ती सुनगाभा सुशीला महतरा, अनु चौधरी मञ्जु महतरा, सविता चौधरी, रञ्जु महतरा, सीतारानी चौधरी हुन । जसको हिम्मत अन्य मानिसको भन्दा भिन्दै छ । जसले जीवनलाई जोखिममा राखेर हरेक दिन पर्यटक घुमाउने साहस गरेका छन् । निकुञ्जभित्र घुम्न साहसिक र रोमाञ्चक यात्रा हो । जो कोहीले यो साहस गर्न सक्दैन । तर यी सुनगाभाहरूको हिम्मत र साहस अदभूत छ । आफूभित्रको साहस गर्दा निकुञ्ज आउने पर्यटकलाई घुमाउन सफल भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले नेचर गाइडको काम जोखिमपूर्ण भएकोले जो कोहीले यस्तो काम गर्न नसक्ने तर निकुञ्जमा रहेका महिला नेचर गाइडले राम्रै गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ महिला नेचर गाइडलाई निकुञ्जले वन्यजन्तुबाट कसरी सुरक्षित रहने, निकुञ्जको कानुन कस्तो छ । वनमा जाँदा कसरी सुरक्षित हुने भन्ने बारेमा निकुञ्जले सिकाएको छ । यसले नेचर गाइडको क्षमता विकासमा मदत पुगेको छ । उहाँहरूले गरेको काम पनि राम्रो छ ।’
केही समय पहिला महिलालाई घरमा काम मात्र सीमित राखिएको थियो । पछिल्लो समय नयाँ युवापुस्ताले पुरानो मूल्य मान्यता तोडेका छन् । भत्काएका छन् । आफूभित्र आत्मबल बढाएका छन् । र अगाडि बढेका छन् । पहिलाझैँ युवती, किशोरी र महिलाहरू पनि घरको पर्खालभित्र मात्र सीमित छैनन् । घरको पर्खाल नाघेर बाहिर आएका छन् । सार्वजनिक स्थलमा पनि महिला सहभागिता बढ्दै गइरहेको छ । आत्मनिर्भर र समाज परिवर्तनको क्षेत्रमा महिलाको योगदान महत्वपूर्ण छ । तर प्रकृति पदप्रदर्शक जस्तो साहसिक काम गर्ने महिलाको सङ्ख्या निकै कम छ ।
घरको पर्खाल नाघेर साहसिक र रोमाञ्चक यात्रामा निस्किएका नेचर गाइड सुशीला महतरा, अनु चौधरी मञ्जु महतरा, सविता चौधरी, रञ्जु महतरा, सीतारानी चौधरी दैनिकी भने निकुञ्ज आउने पर्यटक वन, वन्यजन्तु हो । बाघ संरक्षण गरेर निकुञ्ज चर्चामा आएसँगै निकुञ्ज घुम्न आउने पर्यटक बढेका छन् । निकुञ्ज घुम्नका लागि आर्थिक वर्ष २०८१/०८२ मा २८ हजार ६७ जना, आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार एक सय ३१ जना र आर्थिक वर्ष २०७९/०८० मा २४ हजार तिन सय ९८ जना पर्यटक आएको निकुञ्जको तथ्याङ्क रहेको छ ।
यसरी निकुञ्ज घुम्न आउने पर्यटक बढेसँगै पर्यापर्यटनका ढोका खुलेको छ । बर्दियाको पर्यटन उद्योग फस्टाउँदै गएको छ । पर्यटन उद्योग ढोका खुलेसँगै मध्यवर्ती क्षेत्र ठाकुरद्वारामा बस्ने युवायुवतीलाई घरमा बसेर काम गर्ने अवसर पाएका छन् । सोही अवसरको भरपुर उपभोग गर्दै नेचर गाइडको रुपमा बाहिर आएका हुन सुशीला महतरा, अनु चौधरी मञ्जु महतरा, सविता चौधरी, रञ्जु महतरा, सीतारानी चौधरी जसले हजारौं पर्यटकलाई निकुञ्ज घुमाएका छन् ।
कतिपय युवायुवती कामको खोजीमा विदेश पलायन भएका छन् । कतिपय विश्वविद्यालयबाट प्राप्त गरेको डिग्रीको प्रमाणपत्र बोकेर रोजगारीको खोजीमा यताउति हिँडिरहेको छन् । कतिपय शक्ति केन्द्र मानिने नेतासँग जागिरको लागि याचना गरिरहेको छन् । तर बर्दियाका यी नेचर गाइडहरू भने आफूलाई फरक ढंगले चिनाउन सफल भएको छन् । स्वरोजगार बनेर आफ्नो काम गरिरहेको छन् । देशविदेशबाट आउने पर्यटकलाई बर्दिया चिनाइ रहेको छन् । निकुञ्ज घुमाइ रहेको छन् । आफ्नो गाउँघरमा सम्भावना देखेर प्रकृति पदप्रदर्शक रुपमा काम गरिरहेको छन् । आफूले गरेको कामबाट सन्तुष्ट नै देखिन्छन् ।
महिला नेचर गाइडलाई सुरुमा राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जले गाइडको तालिम दिएको संरक्षण कोषका प्रमुख अजीत तुम्बाफाम्फेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ तालिम पाएपछि महिला प्रकृति पदप्रदर्शकले राम्रै काम गरिरहेको छन् । नेचर गाइडको रुपमा देशविदेशमा परिचित हुन थालेको छन् । भने आर्थिक रुपमा पनि आत्मनिर्भर बन्दै गइरहेको छन् । पछिल्लो समयमा प्रकृति संरक्षण कोष र निकुञ्ज लगायत अन्य वन्यजन्तुको क्षेत्रमा क्षेत्रमा काम गर्ने संघसस्थाले पनि तालिका लागि सहयोग रहर्दै आएको छ ।’
नेचर गाइडको तालिका लिने महिलाहरू धेरै भएपनि अहिले निकुञ्जमा काम गरिरहेका थोरै छन् । नेचर गाइड भएर भएर आफूले काम गर्न थालेको पनि एक दशक भएको सुशीला महतराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ म, मञ्जु र सीतारानी दिदीले कम गर्न थालेको एक दशक हुन थाल्यो । भने अनु, रञ्जु र सविताले काम गर्न थालेको पनि चार वर्ष हुन थाल्यो ।’
विशेष गरी निकुञ्ज आउने पर्यटकको रोजाइ भने बाघ हेर्ने हुन्छ । निकुञ्जभित्र एक सय २५ पाटेबाघ छ । त्यस बाहेक एक सय ३० भन्दा बढी हात्ती , ३८ वटा एकसिँगे गैँडा , करिब एक सय बाह्रसिङे, पाँच सय १३ प्रजातिका चरा र करिब एक सय २० प्रजातिका माछा ५६ प्रजातिका स्तनधारी वन्यजन्तु, घडियाल, मगर गोही, सोँस र डल्फिन रहेको छ । यसरी निकुञ्जभित्रको जैविक विविधता र वन्यजन्तुले पर्यटकलाई आकर्षण गरेको छ । भने निकुञ्जले गर्दा नै साहसी नेचर गाइड उत्पादन भएको छन् ।
सानैदेखि निकुञ्जसँग रमाउँदै, आएका छ जना महिला प्रकृति पथप्रदर्शकलाई प्रकृतिको सौन्दर्यले तान्यो । एकतिर वन र वन्यजन्तुसँग रमाउने पाइने अर्कोतिर आर्थिक आयआर्जन हुने भएकोले पनि गाइड बनेको मञ्जु महतराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पर्यटक आउने समयमा पर्यटक घुमाउने काम गर्छौ । भने अन्य समयमा समुदायमा गएर सचेतना मूलक काम गर्ने देखि लिएर वन्यजन्तुको फोटो खिच्ने र भिडियो बनाउने गरेकी छु ।आफूले खिचेको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्ने गरेकी छु ।’
पर्यटक लिएर जाँदा बाघ, हात्ती, चितुवा गैडासँग जम्काभेट भएका कयौँ रोचक घटनाहरु छन् । भने पर्यटकको रोजाइ अनुसारको वन्यजन्तु देखाउन पाउँदा पर्यटक खुसी हुने गरेको महिला नेचर गाइडहरू सुनाउँछन् । कतिपय पर्यटकले पहिलो पटक आफूलाई घुमाएको नेचर गाइड रोज्ने गरेको छन् । आफूले गरेको कामबाट खुसी नै देखिन्छन् महिला प्रकति पदप्रदर्शक ।


