यादव आचार्य, बर्दिया । बर्दियामा करछल्ने ब्यवसायीहरुलाई जरिवाना गरिएको छ । उद्योग ब्यवसाय संचालन गरेबापत दर्ता नगर्ने, विल विजक जारी नगरी कर छल्ने लगायत मुल्यसूचि नराख्ने ब्यवसायीलाई जरिवाना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । सधैं दशै तिहार लगायतका चाडपर्वमा मात्र गरिने बजार अनुगमनलाई चुनौती दिँदै प्रत्येक महिना बजार अनुगमन गर्ने निति लिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा घरेलु कार्यालय, राजस्व, बाणिज्य, खाद्य, कृषि लगायत सरोकारवाला निकायहरुले जिल्लामा संचालित ब्यापार ब्यवसायको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए ।
हामीले अनुगमनलाई तिव्रता दिएका छौ । बर्दियाको गुलरिया, मधुवन, राजापुर ठाकुरबाबा, बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिकामा संचालित पसल, पेट्रोलपम्प, एग्रोभेट लगायत होटल ब्यवसायहरु गरी दुई महिनाको अवधिमा १ सय भन्दा बढी ब्यवसायहरुमा पुग्यौं । उनले भने हामी उपभोक्ताहरुको उजुरी, गुनासोको आधारमा कारोवारहरुमा पुगेका हौं ।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामाग्री विक्री वितरण गर्ने, कर छली लगायत विल विजक नराख्ने ब्यवसायीलाई जरिवानागर्दै बरामदी अखाद्य सामाग्री नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत मोहन घर्तीमगरले बताए । हामीले १ लाख मुल्य भन्दा बढीको अखाद्य सामाग्री बरामद गरी नष्ट गर्यौं । ब्यवसाय दर्ता नगर्ने, विल विजक, मुल्यसूचि नराख्ने ब्यवसायीहरुलाई हजारौं रुपैया जरिवाना गरी ब्यवसायीहरुलाई सचेत पारेका छौं ।
जिल्लामा गरिएको अनुगमनबाट उपभोक्ताहरु खुशी भएका छन् । बेला बेलामा अनुगमन भैरहनुपर्ने मधुवन नगरपालिका वडा नम्वर ६ निवासी उपभोक्ता हरीप्रसाद सापकोटाले बताए । उपभोक्ताले गुणस्तरिय सामान पाउनु पर्छ तर ब्यवसायीले आम्दानीको प्रलोभनमा उपभोक्ता माथी खेलवाड गर्छन् । हामीहरु आफै सजग हुुनुपर्छ । उनले भने यस्ता अनुगमनलाई सधैं निरन्तरता दिनु आवस्यक छ । बर्दिया जिल्ला भारतीय खुला सीमासँग जोडिएकाले सीमाक्षेत्रमा किनमेल गर्छन् । त्यसैले उपभोक्ताको स्वास्थ्यसँग जोडिएका खाद्य पदार्थहरुको गुणस्तरिय विक्री वितरण गर्नु पर्ने सापकोटाको भनाई छ ।
ब्यवसायीलाई सचेतना तालिम
स्थानिय प्रशासनले अनुगमनलाई तिव्रता दिई ब्यवसायीलाई जरिवाना लगायत खाद्य सामाग्रीहरु नष्ट गर्न थालेपछि उद्योग बाणिज्य संघ बर्दियाले ब्यवसायीहरुलाई सचेतना तालिम दिएको छ । गुलरिया, मधुवन लगायतका पालिकाहरुका उद्योगी तथा ब्यवसायीलाई कर सम्वन्धी सचेतना तालिम दिईएको हो ।
उद्योग बाणिज्य संघ गुलरिया बर्दिया तथा करदाता सेवा कार्यालय बर्दियाको संयुक्त आयोजनामा ब्यवसायीलाई कर सम्वन्धी सचेतना दिएका छौं उद्योग बाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । हामीले ब्यापारीहरुलाई करको दायरामा लैजान अनुरोधगर्दै ब्यवसायीले पालना गर्नुपर्ने कानूनी प्रावधानका विषयमा सचेत पार्यौं यसले ब्यवसायीलाई धेरै फाईदा पुग्ने हाम्रो अनुमान छ । करदाता सेवा कार्यालय गुलरियाका प्रमुखले ब्यवसायीहरुलार्य सहजीकरण गरेका हुन् ।
ब्यवसायीलाई म्याद गुज्रिएका उपभोग्य सामाग्रीहरु विक्री वितरण नगरी अलग्गै राख्नुपर्ने, खरिद विक्री खाताहरु अपडेट गर्नुपर्ने, विल भरपाई दुरुस्त राख्नुपर्ने लगायतका विषयहरुमा सजग पारिएको छ । पाण्डेले भने पसलहरुमा सामानको मुल्य सूचि उपभोक्ताले देखिने गरी राख्न निर्देशन दिएका छौं । उद्योग बाणिज्य संघले ब्यवसायीको हितमा राखेको करदाता शिक्षा कार्यक्रम अतिनै उपयोगी रहेको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए ।
ब्यवसायीलाई दिएको शिक्षाले ब्यवसायीहरु जरिवानाबाट जोगिन मद्दतपुग्ने शर्माको वुझाई छ । ठाकुरबाबा नगरपालिकाले पालिका भित्र निरन्तर अनुगमनलाई तिव्रता दिएको छ । कोभिडमा बन्द भएका पसलहरुमा म्याद गुज्रिएको सामाग्रीहरु थुप्रिएको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णकुष्मा थारुले बताईन् । होल सेल ब्यापारीले साना ब्यापारीका म्याद गुज्रिएका सामानहरु फिर्ता गरिदिनु पर्ने उनको भनाई छ । ब्यवसायीले कर बुझाउने प्रणाली एकद्वार गराउनु पर्छ उनले भनिन् ।