
सुशिल ज्ञवाली । हिजो जस्तै लाग्छ २०६२/६३ को संयुक्त जनआन्दोलनमा गरेको पनि, आन्दोलनमा हामी १९ दिन सडकमै थियौ । राजतन्त्रको विरुद्धमा सुरुवाती चरणमा राजनीतिक दलहरू अलग अलग थिए । त्यसरी उपलब्धि नहुने देखिएपछि सात राजनीतिक दल र तत्कालीन विद्रोहि ( माओवादी ) संयुक्त रुपमा अगाडि बढ्ने सहमति भयो ।
त्यो बेला सम्पूर्ण राष्ट्र गणतन्त्रको अभियानमा एकजुट थियो । हाम्रो साथमा थिएनन् केवल राजा र राज संस्थाप्रति प्रतिबद्ध दल र त्यसमा आस्था राख्ने ब्यक्तिहरू। त्यो समयमा आन्दोलन गर्दा हामीसँग नेतृत्व थियो । नेतृत्वले कमान्ड सम्हाल्थ्यो, कता जाने ? कुन बाटो जाने ? के गर्ने ? , के नगर्ने ? सबै निर्देशन हुन्थ्यो र त्यहीँ अनुरूप अगाडि बढिन्थ्यो । त्यो संयुक्त जनआन्दोलन थियो। काठमाण्डौमा लगायत प्रत्येक जिल्ला जिल्लामा उही समयमा आन्दोलन हुन्थ्यो, निश्चित स्थान मा पुगेपछि समापन हुन्थ्यो।

आन्दोलनमा नाराबाजी हुन्थे । असन्तुष्टि व्यक्त हुन्थे । तर कहिल्यै कुनै दिन आन्दोलनकारीले राजावादीलाई कुटे, पुलिसकुटे , घर जलाए या सार्वजनिक सम्पत्ति तोडफोड गरे । यस्तो कतै देखिएन कतै सुनिएन । हो आन्दोलनमा अथाह जनसागर हुने भएकोले कहीं कतै राजाका सालिकहरू तोडफोड गरिए तर त्यतिमै सीमित रहे।
काठमाडौंको बाटोमा भएका रेलिङ भत्काउँथे । केही समुह उग्रता प्रदर्शन गर्दथे । यसमा दुईमत रहेन। विद्रोहि पक्ष बाट सहभागि हुने साथीहरू भर्खर हतियार बोकेर विश्राम गरेका थिए ।तातो रगत भएका, धेरै स्थान मा सेना प्रहरीसँग प्रत्यक्ष लडेका भएको कारण उनीहरू बढि जोसिला देखिन्थे । शान्तिपूर्ण आन्दोलनबाट राज्य सत्तालाई गलाउन सकिदैन भन्ने मान्यता प्रष्ट झल्किन्थ्यो। तर पनि आन्दोलनको समयमा सम्पूर्ण राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरि स्वयंसेवक दस्ता निर्माण गरि सकेसम्म आन्दोलनलाई संयमित बनाउने प्रयास गरिन्थ्यो ।
आन्दोलन लामो समयसम्म चलेको हुनाले होला तत्कालीन जिल्ला नेतृत्वतहरूसँग जिल्ला प्रशासन र प्रहरी प्रशासन समन्वय मै रहन्थ्यो । म आफू अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष भएको नाताले बिहान खाना खाएर नेकपा एमालेको पार्टी कार्यालय पुग्ने गर्दथे। तत्कालीन समयमा अनेरास्ववियुको जिल्ला अध्यक्ष पदम ढकाल हुनुहुन्थ्यो । नेकपा एमालेको पार्टीको हरि ज्ञवाली साथै नेपाली काँग्रेसका पार्टी सभापति सञ्जय गौतम हुनुहुन्थ्यो। हरेक दिन आन्दोलन एमाले पार्टी कार्यालयबाट सुरु भएर बजार परिक्रमा गरि हाट बजार लाग्ने स्थान नजिकै कमल यादव ज्यू को आप बगियामा पुगी कोणसभामा परिणत हुने गर्दथ्यो ।
आन्दोलनको नेतृत्व सम्पूर्ण पार्टीका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा लिने चलन थियो । भने प्रत्येक पार्टीका भातृ तथा जनवर्गीय सङ्गठनहरू, निजामती कर्मचारी संघ/ संगठनहरू, शिक्षक महासंघ , संघ/ संगठनहरू, उद्योगी व्यापारी , जिल्ला स्थित संघ/ संस्थाहरू, कमैया, किसान, गृहणि लगायत सम्पूर्ण आम मानिस नेतृत्वको पछि रहेर नारा जुलुस गर्दै अगाडि बढ्थे। जनआन्दोलनअहिलेको जस्तो निश्चित उमेर समुहको आन्दोलन थिएन ।
त्यो थियो ब्यबस्था परिवर्तनको लागि गरिएको संयुक्त जनआन्दोलन्। त्यहाँ पनि प्रदर्सनकारीहरुमा जोश थियो । ब्यबस्था परिवर्तनको उत्साह थियो । संविधान सभाको निर्वाचन गर्ने, निर्वाचनले जनमुखि संविधान निर्माण गर्ने आशा अनि भरोसा थियो । तर संघियता र धर्मनिरपेक्षताको बिषय चाहि पछि थपिएको भन्ने सुनियो, यानिकि त्यो समयमा पनि आन्दोलनका केही म्याण्डेडहरु हाइज्याक गरियो। कस्ले ? के ? कसरि ? त्यो बिषय अझै गर्भमै छ ।


