
अधिवक्ता सोम खड्का । त्यस दिन निकै ठूलो झरी परेको थियो । त्यो समय वि.सं. २०५१ साल साउनको अन्तिम तिरको हो । कामको सिलसिलामा म घरबाट धनगढी हिँडेको थिएँ । त्यतिबेला म नेपालगन्जमा रहेर कानूनको अभ्यास गरि रहेको थिएँ । एकदिन कालिकोटका एकजना क्लाइन्ट धनगढीमा आफुलाई परेको मुद्दाको फिराद र म्याद लिएर आए । त्यो मुद्दा मैले हेरिदिनु पर्ने भयो । मैले उनीबाट आवश्यक सबै विवरण लिएँ । भोलि पल्ट मैले प्रतिउत्तर पत्र तयार पारेँ । उनीसँग भेट भएको तेस्रो दिनमा हामी नेपालगन्जबाट धनगढी तर्फ हिँडेका थियौ । त्यतिबेला नेपालगन्जबाट धनगढी जाने पहिलो बस बिहान ५ बजे नै छुट्ने गर्दथ्यो । त्यस दिन उनले मलाई डेरामा जान दिएनन् । हामी पुष्पलाल चौकको एउटा होटेलमा बस्यौँ । बिहान आफ्नो समयमा बस छुट्यो । नेपालगन्ज देखि धनगढीको लागी हाम्रो यात्रा सुरु भयो । हामी त्यो बसका यात्री भयौँ । हाम्रो गन्तव्य थियो धनगढी । त्यतिबेला कर्णालीको पुल बनी सकेको थियो । नेपालगञ्जबाट कर्णालीसम्मको बाटो राम्रै थियो ।
जब हामी कर्णाली पुल पारीको कैलालीको भागमा पुग्यौ । तब त्यहाँ कतै कच्ची सडक बनेको थियो । भने कतै सडकको लिक मात्र बनेको थियो । अहिले जस्तो सडक सहज नभएको हुँदा हामी तीन बजे धनगढी जिल्ला अदालतमा पुग्यौँ । जेहोस् हामी अदालतको समयमा पुग्न सफल भयौ । हतार हतार हामीले प्रतिउत्तर पत्र दर्ता गरेका थियौ । त्यसदिन मेरो क्लाइन्टले प्रतिउत्तर दर्ता गर्नु पर्ने र तारेख लिनुपर्ने थियो । धनगढी हामी ढिला पुगेको भएपनि समयमा हाम्रो काम सकियो । तारेख मिलान गर्दा दुई दिन पछिको तारेख मिल्यो मेरो क्लाइन्टलाई । तेस्रो दिन पनि तारेख लिनुपर्ने भएको हुँदा उनलाई नेपालगञ्ज फर्किनु भन्दा अर्को एक दिन धनगढीमा बस्ने भए, जसले गर्दा कालिकोटदेखि आएका उनलाई दोश्रो तारेख लिन सहज होस भन्ने मेरो चाहना थियो ।

मैले उनलाई धनगढीमा छोडेर म नेपालगन्ज तर्फ फर्किएँ । हामिले चौमालामा सो दिन बिहानको खाजा खाँदा देखि परेको पानी अझै रोकिएको थिएन् । अदालतको काम सकेर नेपालगञ्ज फर्किन म गाडीमा चढे । बेलुका म चढेको बस मुढामा आइपुग्दा झमक्क साँझ पर्यो । तर विहान देखि परेको अविरल झरी रोकिने कुनै नामोनिशान थिएन । लगातार परेको पानीले बाटोमा पर्ने खोलानाला भरिएका थिय । कर्णाली पुलदेखि पश्चिम रहेको कुनै पनि खोला नालामा पुल पुलेसा र कल्भर्टहरु त्यतबेला बनेकै थिएनन । त्यहीँ भएर त्यस बाटोमा यात्रा गर्दा यातायातका साधन खोला तरेरै हिँड्नु पद्थ्यो ।
मुढा गाउँ नजिक यस्तै पुल विनाको एउटा खोला थियो । जहाँ हामी भन्दा अगाडी धनगढीबाट आएको एउटा बस त्यहीँ खोलामा फसेको रहेछ । खोला नालामा पानी बढे पछि पहिला गाडी हिँडेको लिक पत्ता लगाएर हिड्नु पद्थ्यो, तर हामी अगाडीको गाडीले लिक पता गर्न नसकेर फसेछ । सायद त्यो खोला खहरे खोला थियो क्या मलाई अहिले पूर्ण सम्झना भएन । तर खोलामा पानीको बहाव बढेपछि पानीको बेगले त्यो बसलाई दुई बल्ड्याङ्ग गुल्टाई दिएको थियो। त्यहीँ भएर हामी आएको गाडीको चालकले जान नसकिने कुरा बताए । अनि म आएको बस अब त्यो खोला किनारमै रोकिने भयो । खोलामा बाढीको बेला ठूलो पानीको वेग वहावमा गाडी हाल्नु हुन्न भन्ने बुझेर गाडी चालकले गाडीलाई त्यहीँ रोके । गाडी त्यहीँ रोकेर पानी कम भएपछि चलाउनुको विकल्प पनि थिएन । म लगायत हामी आएको गाडीका सबै जना नदीमा पानी बहाव कतिबेला घट्छ भनेर हेरिरहेका थियौ । तर खोलामा पानी घट्ने कुनै संकेत देखिएन् । बिहानदेखि परेको पानीले खोला नाला भरिएको थियो । नदी पुल नभएको हुँदा यात्रा गर्नु पनि जोखिम पूर्ण नै थियौ ।
गाडी रोकिएको स्थानमा बस्नका लागि कुनै व्यवस्था थिएन । नजिक कुनै गाउँ पनि थिएन । तर गाडी रोकिएको ठाउँ नजिक एउटा गोठ थियो । खोलाको करिव तीस मिटरको दुरीमा रहेको गोठमा एकजना नाम चाहीँ मैले बिर्सिएँ तर थर चाहीँ याद छ । उहाँ चौधरी हुनुहुन्थ्यो । उहाँको ठूलो गोठ नै थियो । खामा खुट्टा गाडेर बनाएको र खरले छाएर बनाइएको गोठ भने ठूलो नै थियो । त्यस गोठमा चौधरीको सम्पूण परिवार बस्ने रहेछन् । गाई भैसीँ बाहेक त्यहाँ तीन चारवटा काला सुँगुर थिय । बसका सबै मानिसले त्यस गोठमा साहारा लिने कुरा गर्यौ । बसका यात्रीहरुले गरेको कुरालाई चौधरीले सहर्ष स्विकार गरे । हामी सबैजना गोठमा बस्ने भएका थियौ । चौधरीले अलपत्र परेका हामी सबैजनाको लागि खाना तयार पारे ।
सबैलाई पुग्ने गरी चौधरी परिवारले खाना बनाइ दिए । गोठमा सबैजनाको लागि पुग्ने भाडा थिएन । तर पनि चौधरीको परिवारले भाँडा वर्तन र थालहरुको ब्यवस्था गरे । हामी अलपत्र परेका यात्रीहरुका लागि दाल, भात र आलुको तरकारीको खाना तयार पारे । हामीले पालो पालो खाना खायौँ । त्यसदिन खाएको खानाको स्वाद अझै पनि मेरो जिब्रोमा ताजा छ । मैले त्यस दिन खाएको खाना पाँच तारे होलटमा खाएको खाना भन्दा पनि मिठो थियो । साँचै त्यस दिन मेरो लागि अविस्मरणिय थियो ।
खाना खाइवरी राती हामी सुत्ने तरखरमा लाग्यौ । त्यहाँ रहेका खटियामा केहि मानिस सुते । भने बाँकी सबैजना भुईमा सुत्नु पर्ने भयो । म भने एउटा खटौलीमा सुत्ने भए । मेरा लागि चौधरी परिवारले एउटा तन्ना र बिस्तारा ब्यवस्था गरी दिएको थिए । तर लामखुट्टेबाट जोगिन झुलको ब्यवस्था भने थिएन । मैले लामखुट्टेको टोकाइबाट जोगिन दाउरा जोडेर धुँवा बनाए । आगोको नजिक खटौलीमा सुतेँ । गोठमा सुतेका मध्ये केही व्यक्ति निद्रामा घुर्न लागे । जसले गर्दा मेरो निदाउन कठिन भइरहेको थियो । त्यसमाथी गोठमा रहेको सुंगुर पनि घ्याँ घ्याँ घुँ घुँ गर्न थाल्यो ।
रातको करिब ११ बजेतिर बिहानदेखि परेको पानी पर्न बन्द भयो । सुखदुख रात वित्यो । अर्को दिन रक्तिम बिहानीमा हामी उठ्यौँ । राती पानी रोकिएको भएपनि बिहान खोलामा पानी अझै थियो । सबैजनाले चौधरीको परिवारलाई खाना र बासका लागि धन्यवाद भन्यौ । हामी बसमा चढ्यौँ । नदीमा गाडी चलाउन मुस्किल भएपनि डाइभरले कला कुशलले हामीले खोला तर्यौ । हाम्रो गाडी नेपालगञ्जका लागि बताससँग लय मिलाउदै हिड्यो । तर नदीमा खसेको बसका यात्रीहरुले भने के गरे होलान भन्ने लाग्यो । तर खसेका बसको यात्रीहरुको बारेमा जानकारी भएन् ।
त्यसबेला पनि, “Life is more comfortable in terai than hilly areas.” भनेर भन्न त भनिन्थ्यो । सायद त्यो बेला पहाड तिर पर्याप्त मात्रामा यातायात र ढुवानीका साधन नभएर यस्तो कुरा भनिएको हुनुपर्छ भन्ने लाग्छ । त्यसबेला नेपालको एकमात्र सडक भनेको पूर्व पश्चिम राजमार्ग थियो । जसको अवस्था त यस्तो थियो भने अन्य सडकहरुको कुरा गरि साध्य छैन् । अन्य सडकको अवस्था के कस्तो थियो सहजै अनुमान गर्न सकिन्छ । भोग्नेहरु स्वयंले महसुस गरेको ययार्थ हो यो । त्यतिबेलाको तुलनामा यतिबेलाको समय सम्म आई पुग्दा सम्ममा बाटो घाटोहरुको राम्रै विकाश भएकै हो ।
बाटो घाटो दिगो विकासका पुर्वाधारहरू हुन । यो कुरामा दुईमत हुन सक्दैन तर के चिल्ला बाटा घाटा बन्नु मात्र सुख र समृध्दिका मापन र परिचायक हुन त ? भन्ने मूल प्रश्न तर्फ ध्यानाकर्षण नै मेरो यो संस्मरणात्मक लेखको मकसद हो । विकसित बाटाको छेउछाउमा सबै तिर शहर र बजार नै बन्न सक्छ भन्ने लाग्दैन् । तर पनि बाटो छेउछाउका बासिन्दाका बस्तिमा बस्ने मानिसहरुको जीवन स्तर कति सुधार भयो । जसरी बाटोको बिकासको भयो । त्यसैगरी भुईमान्छेको जीवनमा कति परिवर्तन आयो । खरले छाएका, झिङ्गटी बनाएको घरहरुको अवस्था आज पनि उस्तै छन् की फेएि होलान भन्ने बहस हुन सकेको छैन् । तीन दशक बिति सक्दा मानिसको जीवनमा कतिको सुधार आयो ।
हाम्रो भौतिक बिकासले मानिसलाई जोड्न सक्यो की सकेन् । मानिसहरुलाई रोजगार र स्वरोजगार बनाउन सक्यो की सकेन् । यो बहस हुन जरुरी रहेको छ । भने नेपालमा बढ्दै गएको बेरोजगारी र अर्धवेरोजगारीको अवस्था डर लाग्दो छ । यसलाई समाधान गर्न जरुरी रहेको छ । कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण र सीप तथा ज्ञानको विकास गर्नु आवश्यक छ । गरिबलाई सुनको भाउ बढोस् वा घटोस् कुनै प्रवाह छैन् । तर गरिबका लागि नुनको भाउ बढ्न भएन् । श्रृङ्गारका बस्तुको मूल्य बढोस वा घटोस् गरिबलाई प्रवाह छैन् । तर गरिबका लागि दैनिक जीवन यापनका लागि आवश्यक पर्ने बस्तुको मूल्य बढ्नु भएन । आगामी दिनमा राजनीतिक दल र जनताका प्रतिनिधिको काँधमा यिनै विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्ने अभिभारा रहेको छ । रोजगारीको खोजीमा गाउँबाट शहर र शहरबाट विदेश गएका दक्ष जनशक्तिलाई गाउँ तर्फ भित्राउनु पर्नेछ ।
नेपालमा भएका सम्भावना र अवसरलाई प्रयोग गर्नु पर्नेछ । ३१ वर्ष अगाडि मैले यात्रा गर्दा जस्तो अहिले छैन । परिवर्तन हुनुपर्ने धेरै कुरा परिवर्तन भएको छ यो सकारात्मक पक्ष हो । तर परिवर्तन हुन नहुने आत्मियता, सदभाव र सहयोगी भावना परिवर्तन भएको छ यो दुःखद कुरा हो । आज म यो संस्मरणात्मक लेख लेखिरहँदा मैले झरी परेको साउनको त्यहि दिन सम्झिँरहेको छु । मैले त्यस रात चौधरी परिवारले गरेको आतित्थ्यता सम्झिँरहेको छु । ठूलो मन भएको चौधरी परिवारको गोठमा बिताएको त्यो एक रात सम्झिरहेको छु । हे विकास दाताहरु हो, आत्मियता, सदभाव, सहयोगी भावना जागृत गर्ने खालका खाका बनाइ देउ । त्यहीँ अनुसारको शिक्षा दिक्षा प्रदान गर्ने नीति ल्याउ । आजको यो रातमा मैले त्यो एक रातलाई सम्झिरहेको छु ।


