काठमाडौं । मंगलबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएको छ । सहमतिअनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ६, नेकपा (एस) र जसपालाई ४–४ मन्त्रालय भागमा परेको छ । सबै दलले १–१ राज्यमन्त्री पाउनेछन् ।
सहमतिअनुसार अनुसार कांग्रेसको भागमा प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।
त्यस्तै, माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय परेको छ ।
त्यस्तै, जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण परेको छ भने नेकपा (एस)ले कानुन, सहरी विकास, श्रम तथा रोजगार र संस्कृति तथा पर्यटन मन्त्रालय पाउने पक्का भएको छ ।
कांग्रेसबाट प्रधानमन्त्रीसहित गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्रीमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । कानुनमन्त्री कार्कीले रक्षा मन्त्रालयमा आकांक्षा देखाएका पनि प्रधानमन्त्रीले उनलाई स्वास्थ्यमन्त्री बनाउने तयारी गरेका छन् ।
त्यस्तै, माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त भएका छन् ।
मन्त्री छनोटको गृहकार्यमा जुटेका दलहरुले बुधबारसम्म मन्त्रीको नाम टुंगो लगाउने र बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।