
_राजेन्द्रप्रसाद धिताल
कर्णाली !

युग युगान्तर देखि
तिम्रो यात्रा अविराम छ
तिमी दिनमा हिड्छ्यौ
रातमा हिड्छ्यौ
तिमी साँझमा हिड्छ्यौ
प्रभातमा हिड्छ्यौ
तिम्रो यो यात्रामा मेरो जीवनधारा
बगेको छ कर्णाली !
आज म जो छु
त्यो तिम्रै सिर्जना हु
मेरो रगतभरी तिमी बगेकी छर्यौ
ममात्र हैन
तिम्रो किनारभरि
जुन सभ्यता छ
त्यो तिम्रै कला हो
मेरा पिता पुर्खाले
तिम्रो अनन्त यात्रासँगै
आफ्नो जीवनमा
रक्तसञ्चार गरे
मेरो हरेक पुस्ता
तिमीसँग
रिनी छ कर्णाली !
कृतज्ञ छ
तिमीले युगयुगान्तर देखी
हामीलाई गर्दै आएको
उपकारको बदला
समस्त मानव जातिका तर्फबाट
तिमीलाई म के दिऊ कर्णाली !
तिमीलाई दिने कुरा
के छ र मसँग
म एक अकिन्चन
तिमीलाई हृदयभरि
उर्लिएर आएको
माया दिन सक्छु
स्वीकार गर माया
माया बाहेक
मसँग तिम्रो गुनको बदलामा
दिने कुरा केही छैन
तिम्रो सामु म
निरीह र विवश छु
कर्णाली !
हे शैलपुत्री!
तिम्रा छालभरी
वस्तीहरू छन्
फाटहरू छन्
तिम्रो निर्मल जल
जीवको स्रोत हो
समस्त प्राणीहरूका लागि
कर्णाली !
तिमी जीवनदायिनी शक्ति हौ
तिमी स्रष्टा हौ आमा ।
तिम्रा छालभरी
मात्र फाट छैनन्
मसान घाटहरू पनि छ्न
ती घाटाहरू
लासहरू जल्छन्
उल्लासहरु जल्छन्
र साथै
अहङ्कार र आडम्बरका
अट्टहासहरु पनि जल्छन्
कहिलेकाँही तिमी
उग्र हुन्छ्यौ
बस्ती तहस नहस पाछ्यौ
कर्णाली !
हामीलाई जीवनको
नश्वरता र क्षणभङ्गुरताका
मर्मबोध गराउने
प्रलय प्रवाहकी आदिस्वरुप हौ
तिमी ज्ञानकी
गङ्गा हौ माता।


