
प्रकाश पौडेल, गुलरिया । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ७० प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको बर्दियाको राजापुर र गेरुवा गाउँपालिका जोड्ने करिब २८ किलोमिटर सडक मध्ये हालसम्म सडक ३ किलोमिटर सडक कालोपत्रे भएको पाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री लम्सालले १४ असोज ०८३ मा आफ्नो फेसबुक पेज मार्फत सडकको भौतिक प्रगति ७० प्रतिशत पुगेको दाबी गर्नुभयो । तर, मन्त्रीले सार्वजनिक गरेको विवरण र सडक निर्माणको वास्तविकता वास्तविकता बुझ्न जाँदा फरक पाइयो । मन्त्री लम्सालले ७० प्रतिशत भौतिक प्रगति भएको दाबी गर्नु भएको सडक हालसम्म ३ किलोमिटर मात्र कालोपत्रे भएको छ ।


पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ( कान्छाराम ) र नेपाली काँग्रेस डडेलधुराका नेता भीम साउदको कान्छाराम, राजेन्द्र जेभी निर्माण कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो । निर्माण कम्पनीले ४ चैत २०७७ मा ५३ करोड १२ लाख ६१ हजार रुपैयाँमा सडक निर्माणको ठेक्का पाएको थियो । सम्झौता अनुसार २०८० असोजसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम पूरा हुन सकेन । त्यसपछि सरकारले तीन पटक म्याद थप गरेको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार निर्माण कम्पनीले २०८४ असार १५ गतेसम्म सडक निर्माण सम्पन्न गर्नुपर्नेछ ।
उक्त सडक निर्माणको भौतिक प्रगति ७० प्रतिशत भएको दाबी गर्दै मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु भएको छ ।। मन्त्री लम्सालले १४ असोज २०८३ मा १८ असोज २०८० भित्र सप्पन्न हुनुपर्ने आयोजना २०८३ सालसम्म आइपुग्दा पनि ४३ प्रतिशत प्रगतिमा सीमित रहेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।‘रुग्ण बनेको परियोजनामा सरकारले निरन्तर अनुगमन तथा आवश्यक सहजीकरण गर्दै निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएपछि निर्माण कार्यले उल्लेख्य गति लिएको हो, ’ मन्त्री लम्सालले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘ निर्माण व्यवसायीलाई अन्तिम अवसर प्रदान गरेपछि हाल परियोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ। हुलाकी सडकअन्तर्गतको यस परियोजनालाई चालु आर्थिक वर्षको अन्त्यभित्र सम्पन्न गर्ने तालिका छ ।’
बर्दियाको राजापुर र गेरुवा गाउँपालिका जोड्ने सडकको वास्तविकता भने फरक छ । हुलाकी राजमार्ग निर्देशनालय , योजना कार्यालयका इन्जिनियर एवम् सूचना अधिकारी टोपेन्द्र खड्काले हालसम्म सडक निर्माणको कामको भौतिक प्रगति ५० प्रतिशत भन्दा कम भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हालसम्म उक्त सडक ३ किलोमिटर सडक कालोपत्रे भएको छ ।’
गेरुवा गाउँपालिका, ६ का वडा अध्यक्ष कृष्णगोपाल चौधरीले राजापुर नगरपालिका, १० मंगलपुर स्कुलदेखि र गेरुवा गाउँपालिका, ६ को मनाउसम्म बाटोमा सडक निर्माणको काम भएको बताए । उनले भने, ‘ त्यसबाहेकको अन्य स्थानमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।
सडक निर्माणको काममा हालसम्म करिब ३ किलोमिटर मात्रै कालोपत्रे भएको र समग्र भौतिक प्रगति करिब ५० प्रतिशत रहेको विवरणले मन्त्रीले सार्वजनिक गरेको तथ्याङ्क झुट भएको प्रमाणित भएको छ । निर्माणको वास्तविक अवस्था र मन्त्रीले दाबी गरेको प्रगतिबीच देखिएको अन्तरले सरकारको प्रचार र वास्तविकता बीच धेरै अन्तर छ ।विगतमा अलपत्र परेका कामहरू वर्तमान सरकारले छोटो समयमा उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै सामाजिक सञ्जालको दाबी फरक परेसँगै सरकारका मन्त्री झुठो बोल्न व्यस्त भएको देखिन्छ । सरकार काममा भन्दा बढी सामाजिक सञ्जालमा भेटिन थालेको छ ।


