
शम्भुप्रसाद थारू । तिहार तथा छठ पर्व नजिकिएसँगै मिठाईको खपत बढ्ने समयमा बर्दियाका तीन मिठाई पसलमा मापदण्डविपरीत तेल प्रयोग भइरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले गरेको अनुगमनका क्रममा खानका लागि अयोग्य अवस्थामा रहेको छ लिटर तेल नष्ट गरिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षण गर्ने उद्देश्यले कार्यालयले शनिबार बर्दियाको गुलरिया र बढैयाताल क्षेत्रमा सञ्चालित मिठाई पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा आठवटा पसलमध्ये तीनवटामा प्रयोग भइरहेको तेलमा टोटल पोलार मटेरियल (टीपीएम) को मात्रा निर्धारित मापदण्डभन्दा बढी पाइएको खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले जानकारी दिनुभयो ।

सरकारले खाद्य पदार्थ पकाउन प्रयोग गरिने तेलमा टीपीएमको मात्रा २५ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । मापदण्डभन्दा बढी टीपीएम भएको तेल प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले नष्ट गर्न लगाइएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा गुलरियाका सात र बढैयातालको एक गरी आठवटा मिठाई पसलको निरीक्षण गरिएको थियो । गुलरियाका गुप्ता चिया तथा नास्ता पसल, श्री निजानन्दी चिया नास्ता तथा मिठाई पसल, श्री कृष्ण प्रणामी चिया नास्ता पसल, एभरेस्ट चिया नास्ता तथा मिठाई पसल, पर्वत मिठाई पसल, सफिक हलवाई चिया नास्ता पसल र मदन चिया नास्ता पसल तथा बढैयाताल गाउँपालिका– स्थित मैनापोखरको साथीभाइ चिया नास्ता पसलको निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा केही पसलमा मिठाईमा अत्यधिक रङ प्रयोग गरिएको, खानेकुरा लेखिएको कागजले छोपेर राखिएको तथा सरसफाइमा कमी देखिएको कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले बताउनुभयो । उहाँले व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्दै देखिएका कमीकमजोरी सुधार गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
तिहार तथा छठ पर्व नजिकिएसँगै मिठाईको खपत बढ्ने भएकाले खाद्य स्वच्छता र गुणस्तर कायम गराउन अनुगमनलाई तीव्रता दिइएको धितालले बताउनुभयो । उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाई पसलमा आवश्यक विवरण स्पष्ट रूपमा उल्लेख गर्न व्यवसायीलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीलाई उपभोक्ताले सहजै देख्ने गरी सोकेस वा काउन्टरमा मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री, उपभोग्य मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न सूचना जारी गरेको थियो ।
विभागको निर्देशन कार्यान्वयन गराउन कार्यालयले मिठाई पसलको अनुगमनलाई तीव्रता दिएको हो । व्यवसायीले उक्त व्यवस्था कार्तिक १६ गते सोमबारसम्म कार्यान्वयन गरिसक्नुपर्ने र निर्देशन पालना नगरेको पाइएमा नियमानुसार कारबाही गरिने धितालले बताउनुभयो ।
कार्यालयका अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तेल वा घिउ, उपभोग्य मिति र मूल्यसम्बन्धी विवरण ग्राहकले सहजै देख्न सक्ने गरी पसलको सोकेस वा काउन्टरमा राख्नुपर्नेछ । होटल, मिठाई पसल तथा मिठाई भण्डार सञ्चालन गर्ने व्यवसायीलाई विभागले गत कार्तिक ११ गतेदेखि उक्त व्यवस्था कार्यान्वयन गर्न सूचित गरेको थियो ।
तिहार तथा छठ पर्वका समयमा अन्य समयको तुलनामा मिठाईको खपत बढी हुने गर्दछ । गुणस्तरहीन मिठाई तथा खाद्य पदार्थको उपभोगले उपभोक्ताको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले मिठाईमा प्रयोग भएका सामग्री, उपभोग्य मिति र मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी गराउने उद्देश्यले विभागले यस्तो व्यवस्था लागू गरेको हो । यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईको गुणस्तर, प्रयोग गरिएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।


