
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डे १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा गर्ने हुनुभएकाे छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।


प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक हुने दाबी गरिरहेका वेला पूर्वपरराष्ट्रमन्त्री एवं अन्तर्राष्ट्रिय मामिला जानकारले भ्रमणले दुई देशबीच पारस्परिक विश्वास अभिवृद्धि गर्ने गरी नेपालले तयारी गर्नुपर्ने सुझाव दिएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. नारायण खड्काले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण परम्पराको निरन्तरता भएको दुई देशबीचका सीमादेखि व्यापार, ऊर्जा, लगानी, पूर्वाधार र सहयोगसमेतका विषय उठाउनुपर्ने सुझाव दिनुभयाे । ‘अहिले प्रधानमन्त्रीजी कुनै विशिष्ट समस्या समाधान गर्न जानुभएको होइन,’ खड्काले भन्नुभयाे, ‘पहिले नै सम्झौता गरेका दर्जनौँ विषयको कार्यान्वयनमा जोड दिनुपर्छ । इपिजी प्रतिवेदन बुझ्ने विषयदेखि सीमा समस्याको विषय प्रस्तुत गर्नुपर्छ । प्रधानमन्त्रीले बाहिर भाषण गर्नेभन्दा पनि संवादको वातावरण बनाउनुपर्छ ।’
पूर्वपरराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले नेपाल र भारतबीच राजनीतिक सम्बन्ध सम्पर्क स्थापित गर्ने र राजनीतिक विश्वासको वातावरण बनाउनुपर्ने आजको आवश्यकता रहेको टिप्पणी गर्नुभयाे। ‘उतारचढावपछि दुई देशको सम्बन्धमा जुन तहको राजनीतिक सम्पर्क र विश्वास स्थापित हुनुपर्ने हो, त्यसमा कमी रहेको महसुस भइरहेको छ,’ ज्ञवालीले भने, ‘हाम्रा विषय नराखेर, भन्नुपर्ने विषयलाई कार्पेटमुनि राखेर विश्वासको वातावरण बन्दैन । अहिले सरकारको पर्याप्त तयारी देखिँदैन । प्रधानमन्त्रीले हौसिएर हतारिएर केही गर्नुभयो भने गल्ती हुन सक्छ । पर्याप्त तयारी नभएका विषयमा अघि नबढ्दा उपयुक्त हुन्छ ।’


