
प्रकाश पौडेल
राजापुर ।
बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकीकृत सम्पती कर लगायतका कर वृद्धि गरेको विरोधमा विभिन्न राजनीतिक दलले नगरपालिकामा तालाबन्दी गरेका छन् । राजनीतिक दलहरूको विरोधको समर्थनमा स्थानीयवासी र राजापुरका व्यापारीहरूले बजार समेत बन्द गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एस, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी नेकपाले तालाबन्दी सँगै बजार बन्द गरेका हुन् ।
नागरिकको बेवास्ता गर्दै मनोमानी ढंगले नगरपालिकाले चर्को कर असुलेको दलहरूको आरोप छ । भदौ १५ गते वडा कार्यालयहरू घेराउ १८ गते नगरपालिका घेराउ लगायतका शान्तिपूर्ण विरोधका कार्यक्रम गरेपनि नगरपालिकाले सुनवाई नगरेपछि थप आन्दोलन घोषणा स्वरुप नगरपालिकामा तालाबन्दि गरिएको नेकपा एमाले बर्दियाका उपसचिव पहाडी थारुले बताए ।
गत वर्षको तुलनामा यस बर्ष ६ सय प्रतिशत भन्दा बढि करमा वृद्धि भएको स्थानीयले बताएका छन् । राजापुर नगरपालिका ४ का मधुवाला थारूले गत वर्ष छ सय २५ कर तिरेको थिए तर यस बर्षमा उनले १० हजार ४६ रुपैयाँ कर तिरेका छन् ।
राजनीति दल र स्थानीयको तिव्र विरोध भएपछि राजापुर नगरपालिका र विरोध कर्ता बिच वार्ता भएको थियो । तर राजापुर नगरपालिका कर घटाउन तयार नभएपछि वार्ता टुंगिएको छैन । वार्ता विफल भएपछि नगरपालिकाको तालाबन्दी अनिश्चितकालका लागि लम्बिएको उपसचिव थारूले कृष्णसार अनलाइनलाई बताए ।
यता राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दावी गरेका छन् ।


