भारतका लागुऔषध कारोबारी बर्दियामा पक्राउ

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियामा भारतका एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका वडा नं ५ बाट १८ ग्राम सात सय ६० मिलिग्राम ब्राउनसुगर सहित भारतको बहराईच जिल्ला मिहिपुरुवा सुजौली थाना फकिरपुर बस्ने २२ बर्षिय रोहित कुमार गुप्तालाईप्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढोढरी र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गुप्ता लागुऔषध कारोबारी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताउनु भएको छ । उनलाई लागुऔषध कारोबार सम्बन्धी मुद्दा चलाईएको छ । गुप्तालाई बर्दिया जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।


त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका २ सितापुर बस्ने २२ बर्षिय प्रदिप सुनार र सोही गाउँपालिका वडा नं ७ बस्ने २१ बर्षिय बिशाल सिंह ठकुरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । उनीहरु बढैयाताल गाउँपालिका वडा नं ७ कर्णालीपुर स्थित फुटाहा कण्ठपुर सडकमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा चेक जाँच गर्दा ९ सय ६० मिलि ग्राम लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मैनापोखरको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । सुनार र ठकुरीलाई आगुऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको छ ।


