
यज्ञप्रसाद सापकोटा
बर्दिया ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पुर्व सभामुख कृष्णबहादुर महराले परिमार्जन विना एमसीसी कुनैपनि हालतमा पास नहुने बताएका छन् । बर्दियाको बारबर्दिया नगरपालिकाले २७ औ जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पुर्व सभामुख महराले सो कुरा बताउनु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पुर्व सभामुख महराले यथावत् अवस्थामा विना संसोधन एमसीसी पास नहुने बताउँदै त्यसको लागि जुन सुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउनु भयो । एमसीसी आर्थिक सहयोग मात्र नभएको बताउँदै उहाँले भन्नु भयो –‘ आर्थिक सहायता मात्रै हो भने संसदबाट अनुमोदन गर्नु पर्ने के हो । यस भित्र केही कुरा लुकेको छ ।’ एमसीसीको कारणले गठबन्धनमा कुनै तिक्तता आएमा पनि त्यो सहन तयार भएको बताउनु भयो ।


न्यायलयले हाम्रा मन्त्रीहरुले गरेका सरकारले गरेका कामहरु रोक्दै गएको हुनाले प्रधानन्यायधिशलाई महाअभियोग लगाउनु पर्ने बाध्यता आएको बताउनु भयो । उहाँले पाँच दलको सहमतीमा प्रधानन्यायधिशलाई महाअभियोग लगाईएको बताउनु भयो ।
२ नं प्रदेशमा स्थानीय तहको पदाधिकारी अवधी नपुगेको बताउँदै पुर्वसभामुख त्यस सम्बन्धी सर्वोच्च अदालतमा रिट परेर दरपिट नभएको बताउनु भयो । उहाँले अदालतमा के फैसला हुन्छ त्यसले स्थानीय चुनावको निर्धारण गर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘जहिले स्थानीय तहको चुनाव भएपनि त्यसको लागि हामी तयार हुनुपर्छ।’

जनयुद्ध दिवसको दिनमा बेपत्ता योद्धा, बिर शहिद र घाईते योद्धाहरुलाई सम्झेकोमा बारबर्दिया नगरपालिकाको प्रशंसा गर्दै पुर्व सभामुख महराले जुनसुकै अवस्थामा पनि जनतालाई विर्सन नहुने बताउनु भयो ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कविरले हरेक बर्ष जनयुद्ध दिवस मनाउँदै आएको बताउनु भयो । गत बर्ष काठमाडौँमा पार्टिको अध्यक्ष प्रचण्डको प्रमुख अतिथ्यमा जिवनगाथा विमोचन गरेर मनाईएको बताउनु भयो ।
कार्यक्रममा बारबर्दिया नगरपालिका भरीका बेपत्ता योद्धा, बिर शहिदका परिवारलाई र घाईते योद्धाहरुलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान गरीएको थियो ।


