राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिले महिलाको अधिकारलाई स्वीकार सकेनन् –लुम्बिनी प्रदेश सांसद सोडारी

कृष्णसार अनलाइन । लुम्बिनी प्रदेश सांसद मालती सोडारीले राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिले महिला अधिकारलाई स्वीकार गर्न नसकेको बताउनु भयो । सांसद सोडारीले शान्ति पुनस्थापना गृह शाखा कार्यालयको आयोजना भएको पत्रकार अनुशिक्षण कार्यक्रममा सो कुरा बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले पत्रकारलाई लैङ्गिक संवेदनशीलता विषयमा जिम्मेवार भएर कमल चलाउन सकेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ कतिपय ठाउँमा युट्युब लगायत सामाजिक सञ्चालन चलाउने व्यक्तिले लैङ्गिक हिंसा पीडित व्यक्तिको पहिचान हुने गरी दृष्य सामाग्री प्रकाशन र प्रसारण गरेको पाइन्छ । यसले पीडितलाई थप पीडा दिएको पाइन्छ । तर बर्दियाका पत्रकारहरू यस विषयमा सचेत भएको पाएकी छु । महिला बालबालिका पक्षमा समाचार लेख्दा विशेष ध्यान दिन समेत आग्रह गर्दछु ।’

प्रदेश कार्यालयका माहतहमा रहेका कार्यालय प्रमुखहरूले समेत महिलालाई दोस्रो दर्जामा हेर्ने सांसद सोडारीले बताउनु भयो । महिलाको अधिकार सम्मान अधिकार दिलाउन पत्रकार र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ , त्यसकारण महिलालाई सम्मान अधिकार दिलाउने गरी पत्रकारको कलम चल्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो।,‘ महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि विशेष पहल गरिरहेको छु ।’
नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारिताका नाममा पछिल्लो समयमा अराजकता बढेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मोबाइल झिकेर लाइभ गर्दैमा वा समाचार बन्यो भन्नु गलत हो । समाचारको न्यूनतम सिद्धान्त समेत नजानेकाहरूले गर्दा सञ्चार माध्यम प्रति हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको छ ।’ लैङ्गिक दृष्टिकोणबाट समाचार लेख्दा पत्रकारले तथ्यजाँचलाई विशेष महत्व दिनुपर्ने उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकार आचारसंहिता र समाचार लेखनमा लैङ्गिक संवेदनशील हुन आग्रह गर्नुभयो ।


