
प्रकाश पौडेल, गुलरिया । बर्दियाको बारबार्दिया र ठाकुरबाबाका विभन्न गाउँ जोड्ने गरी २२ किलोमिटर पक्की सडकको शिलान्यास भएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमेश्वर ढकाल तथा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले संयुक्त रूपमा सडकको शिलान्यास गर्नु भएको हो ।
उक्त सडक निर्माणपछि बारबर्दिया र ठाकुरबाबा गाउँहरू जोडिने वैकल्पिक बाटो तयार हुनेछ। यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लिएर हिँड्नुपर्ने बाध्यतासमेत अन्त्य हुनेछ । बारबर्दिया नगरपालिका–१० को धधबार गाउँमा मंगलबार आयोजित कार्यक्रम बिचसडक र पुलको शिलान्यास गरिएको हो । यो सडकले बारबर्दियाको कतरनिया, धधबार, गुलरा, शक्तिनगर, जमुनिया, खैलारघाट जोड्नेछ । मन्त्री ढकालले बारर्दिया–१० स्थित बैदामा रहेको भादा खोलामा ३० मिटर लामो पुलको पनि शिलान्यास समेत गर्नु भएको छ ।

सडकको शिलान्यासका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमेश्वर ढकालले सडक निर्माणका लागि बजेट पर्याप्त रहेकोले समय काम सम्पन्न गर्ने गरी काम अगाडि बढाउन सडक पूर्वाधार विकास कार्यालय बर्दियालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो , ‘मन्त्रालय बाटो राम्रो र गुणस्तरीय बनाउन प्रतिबद्ध छ। स्थानीय तह र स्थानीयवासीले पनि गुणस्तरीय सडक निर्माणमा खबरदारी गर्न जरुरी रहेको छ।’
कार्यक्रममा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले सडकले स्थानीयको जीवनस्तर माथि उठ्ने बताए। उनले सडक निर्माणपछि मानवीय गतिविधि बढ्ने भएकोले यहाँको उत्पादनले समेत बजार पाउने बताउनु भयो ।
शिलान्यास गरिएको सडक पाँच दशमलव ५ मिटरको हुने सडक पूर्वाधार विकास कार्यालय बर्दियाका प्रमुख गोविन्दबहादुर महतरा क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिलान्यास गरिएको सडक ओसिस इन्जिनियरिङ एन्ड बिल्डर्स प्राइभेट लिमिटेडले २० असार ०८४ मा गर्ने गरी ५३ करोड ७६ लाख २९ हजार २ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ३० मिटर लम्बाइको पुल २० असार ०८३ सम्ममा सम्पन्न गर्ने गरी सात करोड ४० लाख १५ हजार पाँच सय ९२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ’


