
प्रकाश पौडेल, गुलरिया । कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । प्रतिवादी ३६ वर्षीय जगतराम थारूलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।
थारूले बढैयाताल गाउँपालिका –९ जुक्तिनगरका २७ वर्षीय तिल्कु थारूलाई २ फागुन ०६७ मा कुटपिट गरि घाइते बनाएका थिए । घटनालगत्तै घाइतेलाई उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । घाइतेको उपचारको क्रममा ४ फागुनमा मृत्यु भएको थियो । मृतकको परिवारले १५ फागुन ०६७ मा जाहेरी दिएका थिए ।

थारूलाई प्रहरीले गेरुवा गाउँपालिका –५ पशुपतिनगरबाट सोमबार पक्राउ गरेको थियो । पक्राउ गरिएका प्रतिवादीलाई मङ्गलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनु भयो ।


