
प्रकाश पौडेल गुलरिया । द्वन्द पीडित, शहीद तथा बेपत्ता परिवारलाई सीप मूलक तालिम दिएको छ । गेरुवा गाउँपालिकाले द्धन्द पीडित, शहीद तथा बेपत्ता परिवारलाई थाकलको पात र मकैको खोस्टाबाट झोला र टोपी बनाउने तालिम दिएको हो ।
पालिकाभित्र रहेका द्वन्द पीडित परिवारलाई आत्मनिर्भर बनाउन पालिका २० दिने सीपमूलक तालिम दिएको थियो । तालिममा गाउँघरमा खेर गइरहेको कच्चा पदार्थ थाकलको पात र मकैको खोस्टाबाट झोला र टोपी बनाउन सिकाइएको थियो ।

स्थानीय स्तरमा खेर गइरहेको कच्चा पदार्थलाई प्रयोग गरेर पनि टोपी र झोला निर्माण गर्न सकेको द्वन्द पीडित परिवारकी सदस्य जानकी चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ पालिकाले सीप मूलक तालिम दिएर टोपी र झोला निर्माण गर्न सक्ने भएका छौ । तालिमले आत्मनिर्भर हुने बाटो खुलेको छ । ’
त्यसैगरी शहीद परिवार गेरुवा गाउँपालिका – ३ की रिमा चौधरी ले तालिम सिकेको सीपलाई प्रयोग गरेर झोला टोपी निर्माण गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ आफूसँग सीप नहुँदा घरायसी काममा व्यस्त हुनु परेको थियो, आर्थिक रुपमा पनि श्रीमानमा निर्भर हुनु परेको थियो । तर अहिले आफूसँग सीप हुँदा केही गर्न सक्छु भन्ने आँट आएको छ । आफूले जानेको सीप प्रयोग गरेर आत्मनिर्भर गरी काम गर्नेछु ।’
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी पालिकाभित्र रहेका द्वन्द पीडित परिवारलाई स्वरोजगार बनाउनका लागि तालिम दिएको बताउनु भयो । ‘ पालिकाले स्वरोजगार बन्नका लागि तालिम दिएको छ । पालिकाले सञ्चालन गरेको तालिममा सिकेको ज्ञान र सीप प्रयोगबाट उत्पादन भएका सामाग्रीलाई बजारीकरणका लागि प्रचारप्रसार गर्नका लागि सहयोग रहने छ । भने थाकलको पात र मकैको खोस्टाबाट बनेका झोला र टोपीलाई तालिम सिकाउने ओम राजश्री मल्टि एग्रो प्रा. लिले खरिद समेत गर्ने भएकोले उत्पादन भएको बस्तुको बजारीकरणका लागि सहज हुनेछ ’,उहाँले भन्नुभयो ।
पालिकाले सञ्चालन गरेको तालिम २२ जनाको द्वन्द पीडित, शहीद तथा बेपत्ता परिवारको सहभागिता रहेको थियो । पालिका जेठ ५ गतेदेखि सञ्चालन गरेको तालिम जेठ २४ गते सकिएको थियो ।


